विश्व शौचालय दिवस: विश्वभर ८९ करोड मानिस अझै पनि खुला ठाउँमा दिसा गर्न बाध्य छन्

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभाले नोमेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउँदै आएको छ । हरेक वर्ष यो दिवस संयुक्त राष्ट्र संघ र विश्वभरका सरकारहरू बीच साझेदारी र समन्वयमा मनाइन्छ।
विश्व शौचालय दिवस विश्वव्यापी सरसफाइ संकटलाई सम्बोधन गर्ने र सन् २०३० सम्ममा सबैका लागि पानी र सरसफाइको दिगो विकास लक्ष्य हासिल गर्न कदम चाल्ने बिषयमा केन्द्रीत छ । संयुक्त राष्ट्रसंघका अनुसार ३ दशमलव ६ अर्ब मानिस अझै पनि गुणस्तरिय शौचालयको अभावमा बाँचिरहेका छन् जसले उनिहरुको स्वास्थ्यलाई हानि पुर्याउँछ र वातावरणलाई प्रदूषित गर्छ ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) का अनुसार फोहोर पिउने पानी तथा सरसफाइको अभावका कारण हरेक दिन पाँच वर्षमुनिका १ हजार ३ सयभन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको छ । यता विश्वभर करिब ८९२ मिलियन मानिस अझै पनि खुला ठाउँमा सौचालय गर्छन्, जसका कारण उनिहरूले पानी तथा सरसफाइ सम्बन्धी रोगहरूको सामना गर्नुपरिरहेको छ।
विश्व शौचालय दिवसका अवसरमा संयुक्त राष्ट्र संघका महासचिव बान की-मुनले २०१५ मा सबैलाई सन्तोषजनक सरसफाइमा पहुँच प्रदान गर्ने प्रयासहरू नवीकरण गर्न आह्वान गरेका थिए भने २०२५ सम्ममा खुला शौचालयको अन्त्य गर्न आव्हान गरेका थिए ।
विश्व शौचालय दिवस- २०२२को नारा : विश्व शौचालय दिवस-२०२२ को नारा ‘सफाइ र भूजल’ हो र अभियानको शीर्षक ‘अदृश्यलाई दृश्यमान बनाउने’ रहेको छ, जुन विश्व पानी दिवस- २०२२ सँग मिल्दोजुल्दो छ।
विश्व शौचालय दिवसको इतिहास :
ज्याक सिम, सिंगापुरका एक परोपकारी हुन जसले १९ नोमेम्बर २००१ मा विश्व शौचालय संगठनको स्थापना गरेका थिए । त्यसपछि यो दिनलाई नै विश्व शौचालय दिवस घोषणा गरियो । शौचालय सरसफाइको पहिलो चरण मात्र हो । फोहोर पानी प्रशोधन, पानी व्यवस्थापन एवम् हात धुने जस्ता सरसफाइका प्रणालीका बारेमा जनचेतना फैलाउन र सरसफाइको अवस्था सुधार्न विश्व शौचालय दिवसको सिर्जना गरिएको थियो ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरुको लक्ष्य नम्बर-६ ले पर्याप्त सरसफाइका लागि आह्वान गर्दछ । सन् २०१० मा संयुक्त राष्ट्र संघले खानेपानी र सरसफाइको अधिकारलाई मानव अधिकार घोषणा गरेपछि सरसफाइ संकटमा ध्यानाकर्षण गराउने प्रयासलाई थप बलियो बनाइयो ।
२०१३ मा, सिंगापुर सरकार तथा विश्व शौचालय संगठनको संयुक्त प्रयासमा तयार गरिएको सिंगापुरको प्रस्तावको मुख्य ध्येय सबैका लागि सरसफाई थियो । उक्त प्रस्तावले विश्व सरसफाइ संकट अन्त्य गर्न सामूहिक पहल गर्न आह्वान गरेको छ । यिनै प्रयासको परिणामस्वरुप, विश्व शौचालय दिवसलाई संयुक्त राष्ट्र संघको आधिकारिक दिवस घोषणा गरियो र न्यूयोर्कमा संयुक्त राष्ट्र संघको ६७ औं महासभामा १२२ देशले उक्त प्रस्ताव पारित गरे ।
प्रतिक्रिया