सोमबार, असार २३, २०८२

बाँकेमा १ र ३ मा एमाले र २ मा राप्रपाको अग्रता

नेपालखोज २०७९ मंसिर ५ गते २२:०५

बाँके । बाँकेमा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये दुई वटामा नेकपा (एमाले) र एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेद्वारले अग्रता लिएका छन् । बाँके क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेद्वार सूर्य ढकालले सुरुवाती अग्रता लिएका निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत यमप्रसाद बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार तीन हजार पाँच सय मत गणना गर्दा ढकालले एक हजार चार सय ५७ मतका साथ अग्रता लिएका छन् । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गहतराजले सात सय ८५ मतका साथ पछ्याइरेका छन् । यहाँ जनता समाजवादी पार्टीका रामकुमार यादवले पाँच सय ९९, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले एक सय ८५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामचरण चौधरीले २६, नेपाल मजदुर किसान पार्टीका नवीनकुमार शाहीले २६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्दबाबु काफ्लेले २४ मत प्राप्त गरेका छन् ।

बाँके क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री रहनुभएका उम्मेद्वार डा. धवलशम्शेर राणाले तीन हजार चार सय ८३ मतका साथ अग्रता कायम गरेका छन् । यहाँ जनता समाजवादी पार्टी (जसपा) का उम्मेद्वार मोहम्मद इश्तियाक राई एक हजार ८९१, नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले छ सय ८८ मत प्राप्त गर्नुभएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिए । बाँके–३ मा नौ हजार सात सय ६९ मत गणना गर्दा नेकपा (एमाले)का उम्मेद्वार किस्मतकुमार कक्षपतिले तीन हजार नौ सय ५५ मतका साथ अगाडि छन् ।

नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौरले तीन हजार पाँच सय आठ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाको एक हजार ३०४ मत प्राप्त गर्नुभएको बाँके क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए । बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत गणना तीन स्थानमा भइरहेको छ । क्षेत्र नं. १ को राप्तीसोनारी गाउँपालिका सभाहल, क्षेत्र नं. २ को नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नं. ३ को खजुरास्थित कपास विकास समितिको कार्यालय परिसरमा मतगणना भइरहेको छ ।

प्रतिक्रिया