शुक्रबार, वैशाख १४, २०८१

बाजुरा घटनामा आयोगको अनुसन्धान सुरू

नेपालखोज २०७९ मंसिर ९ गते २०:५२

काठमाडौैँ । राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ ।

आयोगका डा टीकाराम पोखरेलका अनुसार यही मङ्सिर ४ गते दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानका लागि सहयोग गर्न आग्रह गरे । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली उक्त स्थानतर्फ प्रस्थान गरेको छ ।

आयोगले अनुसन्धान गर्न गएकोे टोलीलाई आवश्यक सहयोग गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारण सबैसँग अनुरोध गरेको छ ।

मतदानको दिन त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप भएपछि प्रहरीले फायरिङ गरेको थियो । त्यसक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अएडीको मृत्यु भएको थियो । सोही घटनामा चेतन अएडीको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । उक्त घटनापछि मतदान रोखिएको थियो । अहिलेसम्म पनि पुनः मतदान भएको छैन ।

प्रतिक्रिया