सोमबार, माघ २३, २०७९

हड्डी स्वस्थ्य कसरी राख्ने ?

डा. अरुणा उप्रेती २०७९ मंसिर १० गते १४:३०

उमेर बढ्दै जाँदा मानिसको हड्डी पुरानो हुँदै जान्छ, मक्किन सुरु गर्छ । खानपिन, जीवनशैलीमा ध्यान दिए मक्किने क्रम केही ढिलो हुन्छ, हड्डी भाँचिने र दुख्ने समस्यालाई पनि कम गर्न सकिन्छ । हड्डी मक्किँदा यसमा रहेको प्वाल ठूलोठूलो हुन थाल्छ । विशेष गरी महिलामा यस्तो समस्या बढी हुन्छ । प्रजनन उमेरका महिलालाई शरीरमा भएका विशेष हर्मोनले मुटु रोग, हाडको समस्या लगायतबाट बचाउँछन् ।

तर, महिलाको शरीरमा हर्मोन कम हुन थालेपछि वा ३५ वर्ष कटेपछि हाडहरूको घनत्व कम हुँदै जान्छ । बाहिरबाट हेर्दा खासै समस्या नदेखिए पनि हाड मक्किने क्रम बढ्दै जान्छ । यो समस्या भएपछि नाडी, पुट्ठा र मेरुदण्डका हाड भाँचिने सम्भावना बढी हुन्छ । साथै यसको कारण शरीर कुप्रो हुँदै जान्छ, उचाइ पनि घट्छ । कसैकसैलाई त दैनिक क्रियाकलाप गर्न पनि गाह्रै हुन्छ । हाडको घनत्व कम भएर मक्किँदै जाने समस्या लामो समयसम्म थाहा नहुन पनि सक्छ । त्यसैले यसलाई ‘मौन रोग’ भनिन्छ । कतिपयलाई हाड भाँचिएपछि एक्सरे गराउँदा मात्र यस्तो रोग लागेको थाहा हुन्छ । हाडहरू कोषिका र हाडमासीबाट बनेका हुन्छन् । यस प्रक्रियामा क्याल्सियम र भिटामिन डीको भूमिका निकै हुन्छ । रगतमा क्याल्सियम कम भयो भने, हाडमा पनि कम हुन्छ ।

शाकाहारीलाई एक दिनमा ८ सय मिलिग्राम र मांसाहारीलाई १ हजार २ सय मिलिग्राम क्याल्सियम चाहिन्छ । त्यसैले यसबाट बच्न क्याल्सियमयुक्त विभिन्न भोजन खानामा समावेश गर्न सकिन्छ । चुनमा क्याल्सियम हुने हुनाले पहिलापहिला चुनसँगै भृंगराजको पात मिसाएर खान्थे भन्ने मान्यता छ । दहीसँग थोरै चुन मिसाएर खाएमा क्याल्सियमको मात्रा बढ्छ । सूर्यमुखीको बियाँ, तिल अनि कोदोमा क्याल्सियम, पोटासियम, म्याग्नेसियमजस्ता खनिज पाइन्छ । त्यस्तै हड्डी मक्किने समस्याबाट बच्न खानुपर्ने अर्को तत्त्व हो— भिटामिन डी । यो सूर्यको किरणमा पाइन्छ । भोजनमा क्याल्सियम त छ तर भिटामिन डी नभए भने शरीरमा क्याल्सियम सोसिन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुँदै जान्छ ।

अर्थात्, हड्डी मक्किने समस्या बढ्दै जान्छ । सुदूरपश्चिमका कतिपय ठाउँमा महिलालाई महिनावारी, गर्भवती र सुत्केरी हुँदा अन्धविश्वासका कारण दूध र दही खाँदा देवता रिसाउँछन् भन्ने गरिन्छ । जबकि यस्तो बेला झनै पोषण र क्याल्सियमयुक्त भोजन चाहिन्छ । त्यसैले पनि त्यहाँका महिलामा ‘हाड मक्किने’ समस्या बढी हुन सक्छ, जसको अध्ययन भएकै छैन । गर्भावस्थामा आमाको शरीरबाट विभिन्न भोज्य पदार्थ भ्रूणले लिन्छ । भ्रूणलाई पर्याप्त मात्रामा खाना पुगेन भने हाडको क्याल्सियम पनि लिन्छ । यसले आमाको हाड कमजोर बनाउँछ । गाउँघरका महिलाको हाड धेरै बच्चा पाउनाले र काम बढी गर्नाले ३५–४० वर्ष नपुग्दै कमजोर भइसक्छ । रक्तअल्पताले पनि हाडलाई कमजोर बनाउँछ । त्यसैले किशोरावस्थादेखि रक्तअल्पताबाट बच्ने उपाय अपनाउनुपर्छ ।

हाड मक्किने रोगलाई भगाउन आधुनिक भोजनको नाममा चाउचाउ, चीजबलजस्ता तयारी खाद्यपदार्थ वा कोक, फ्यान्टाजस्ता पेयपदार्थ खानु हुन्न । गर्भवती र स्तनपान गराइरहेका महिलालाई दिइने भोजनमा लौहतत्त्व र क्याल्सियम हुनुपर्छ । यस्तो बेला चाकु, सक्खर, हरियो सागपात, तिल, आलसका साथै चना, लट्टे, चिनो, जुनेलो, जौजस्ता प्रोटिनयुक्त खाद्य पदार्थ दिनुपर्छ । गर्भवतीहरूले क्याल्सियम पाउनुको अर्थ हो— शिशुले पनि क्याल्सियम पाएर स्वस्थ रहनु ।

दूध, दही, लट्टेको दाना, गुन्द्रुक, सिस्नु, कर्कलो, धनियाँ, भटमास, बदाम र राजमा आदिबाट पर्याप्त क्याल्सियम पाउन सकिन्छ । हाडको घनत्व बढाउन हिँड्ने, दौडने, भर्‍याङ चढ्नेजस्ता शारीरिक क्रियाकलाप गरिरहनुपर्छ । विदेशतिर महिलाहरूलाई कुनै खास उमेरमा पुगेपछि हाडको घनत्व बढाउन अनेक उपाय सिकाइन्छन् । नेपालमा भने यस्तो सुविधा पाउने सम्भावना हाललाई छैन । यसैले हाड मक्किने समस्या, रोग लाग्ने कारणको जानकारी तथा रोकथामका उपाय धेरै महिला माझ पुर्‍याएर सुरक्षात्मक उपाय अपनाउनुपर्छ ।

प्रतिक्रिया