शुक्रबार, वैशाख १४, २०८१

पोखराका तीन चर्चित ढुंगा

सुनिल उलक २०७९ मंसिर १० गते १२:२०

माथि भएकाे यि तीनवटा ढुंगा पोखराको नाम चलेको ढुंगाहरु हुन् । देवता बन्न नपाए पनि यि ढुंगाे प्रख्यात भएका हुन् । हुन त कसैले धुप बत्ती चढाए होलान् । फूल अक्षता चढाए होलान् । तर पनि यि ढुङ्गा पछाडी किंवदन्ती बनाउन भने छोडेनन् । बुढापाकाहरुको मुखबाट मैले सुनेको थिएँ यि तीनवटी दिदीबहिनी हुन् ।

मध्यरातमा दिदीबहिनी एक अर्कालाई भेट्न निस्कन्थे रे । बत्ती नभएको यूगको कथा थियो कसैले बनाई दियो । सत्यता खोज्न को निस्कनु मध्यरातमा । त्यसै केराको पात हल्लिदा वा बाँसको झ्याङमा सुसेलीएको आवाज आउँदा भूत, प्रेत, पिशाच आयो भनिन्थ्यो । अचेल भने फरक भएको छ । चिप्लेढुंगामा केटाकेटी चिप्लिन छोडे । बाटोले आधा गाडिसक्यो, अब त सानो लाग्छ चिप्लेढुंगा पनि । बाटो छेउ र केटाकेटी चढेर चिप्लेटी खेल्ने हुँदा देवता बन्नै पाएनन् । ढुंगाे देख्यो कि पूजिहाल्ने हाम्रो बानी नै लागेको छ । शायद त्यसैले होला कोपिलढुङ्गालाई भने नागदेवताको रुपमा पूजेको देखेको थिएँ । सामाजिक भवन नजिकै पर्खालले घेरिएको र समयानुकूल पुरिँदै जाँदा झट्ट जो कोहीले देख्दैनन् । यो कल्पना सिनेमा हलको पूर्व तर्फ भित्री बाटोमा पर्छ ।

ठूलो ढुंगा माथी रहेको अर्को ढुंगा हल्लिने हुँदा नामै हल्लने ढुंगा रह्यो । जमिन पुरिने क्रममा तल्लो ढुंगा छोपिएर माथीको हल्लने ढुंगा पनि पुरिन थाल्दा यसले हल्लन छोडेको वर्षौ भयो । तर पनि नामले छोडेको छैन, तसर्थ हल्लने ढुंगा नै रहेको छ । पोखराको प्रमुख बजार क्षेत्र पालिखे चोकदेखि १०० मीटर जति उत्तरमा रहे पनि बजारका प्रायले चिन्दैनन् । तर गाउँका बुढापाकाहरुले भने अझै हल्लने ढुङ्गा देखि कता घर भनेर सोध्छन् । पोखरा वरपरका नाम चलेका अन्य ढुङ्गामा भीम ढुङ्गा, कोत्रे ढुङ्गा, जाल्पा ढुङ्गा देवता भईसके । यि तीनवटा ढुङ्गा भने उस्तै आकार प्रकारका भएकाले यिनलाई दिदीबहिनी पनि मानिन्छ ।

प्रतिक्रिया