शुक्रबार, चैत १६, २०८०

सरकार गठनको कसरत

नेपालखोज २०७९ मंसिर ११ गते ११:२२

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ भने अब सबैको ध्यान नयाँ सरकारको गठन तर्फ केन्द्रित हुनथालेको छ । समानुपातिक तर्फको मत गणनासकेर सबै परिणाम आइसक्न अझै केही दिन लाग्ने भए पनि ६ वटा राजनीतिक दल मात्र राष्ट्रिय पार्टी पक्का जस्तै छ ।

सत्तारुढ बाम-लोकतान्त्रिक गठबन्धनले अपेक्षा अनुरुप परिणाम नल्याएपनि अहिलेसम्मको मत परिणामअनुसार गठबन्धन दलहरु सुविधाजनक बहुमतको स्थितिमा पुगिसकेका छन । गठबन्धनका सबै दल चुनाव अघि गरिएको बाचामा अडने हो भने यो गठबन्धन टुट्ने कुनै सम्भावना छैन यसले निरन्तरता पाउने कुरामा कुनै संखा गर्नु पर्दैन । स्मरणरहोस चुनाबिसभाहरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो गठबन्धन १० वर्ष टिक्ने दाबा गरेका थिए भने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन ७ वर्ष निरन्तर चल्ने कुरा बताएका थिए ।

चुनाबि परिणाम आउने क्रम चलिरहदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिच भाबि रणनिति र सरकारका बारेमा छलफल पनि सुरु भैसकेको छ । यता अहिले एमाले लगायत कतिपय शक्तिहरु जसरि पनि गठबन्धन तोडाउने खेलमा छन भने उनिहरुले त्यसका लागि कसरत पनि सुरु गरिसकेका छन । यसमा बाम एकता देखि लिएर नयाँ उदाएको स्वतन्त्र पार्टीलाई सम्म जोडने प्रयास हुँदैछ । यद्यपि बर्तमान संविधान तथा लोकतान्त्रिक गणतन्त्रको स्थाइत्वका लागि भनिएको सत्ता गठबन्धन तोडिन त्यति सहज छैन ।

अहिलेसम्म नेपाली कांग्रेसले ५७, एमालेले ४१, माओवादीले १८, नेकपा समाजवादीले १०, नेपाल स्वतन्त्र पार्टीले ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, स्वतन्त्रले ८ स्थानमा प्रत्यक्षतर्फको जित हात पारिसकेका छन् । दोलखा, बाजुरा र स्याङ्जा–२ मा मत गणना सुरु भएको छैन भने ईलाम – २ मा पनि मतगणना अबरुद्ध भएको छ ।

अहिलेको स्थिति अनुसार समानुपातिक मतका आधारमा ६ वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्न सक्ने छन् जसमा जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल स्वतन्त्र पार्टी, माओवादी केन्द्र, नेकपा (एमाले) तथा नेपाली कांग्रेस राष्ट्रिय पार्टी बन्ने छन् । एक अनुमान अनुसार समानुपातिकमा एमालेले सबैभन्दा धेरै सिट जित्न सक्छ । समानुपातिकमा एमालेले ३६ , कांग्रेसले ३४, माओवादीले १५ , स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ सिट जित्न सक्छन् ।

मत परिणाम पछि सबै कुरा पहिले भनिए अनुरुप चल्ने हो यो गठबन्धन टुटने पनि छैन भने कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न कसैले छेक्न पनि सक्दैन । हालको स्थिति हेर्दा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले ९१, माओवादीले ४५, समाजवादीले १० तथा लोसपाको ४ सिट ल्याउने छन भने तिनको सिट संख्या जोड्दा १ सय ५० सिट पुग्छ । संसदमा बहुमतको सरकार गठन गर्न १ सय ३८ चाहिन्छ ।

एमाले, जसपा, नेपाल स्वतन्त्र पार्टी र राप्रपाको जोड्दा जोड्दा १ सय २३ मात्र पुग्छ । सरकार गठनका लागि उनीहरुलाई थप १५ सांसद अपुग हुन्छ । स्वतन्त्र रुपमा निर्वाचित सबै सांसदले एमालेलाई समर्थन गर्ने सम्भावना छैन । त्यसैले पनि वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउनुको अर्को विकल्प पनि छैन ।

सरकार गठनभन्दा अघि गठबन्धनभित्र पद बाँडफाँडको टुंगो लगाउनु पर्नेछ भने यो गठबन्धनका लागि महत्वपूर्ण समेत हुनेछ । प्रधानमन्त्री पद कांग्रेसले आफुसँग राखेपछि राष्ट्रपति र सभामुख अन्य सत्ता साझेदार दललाई दिनुपर्ने हुनसक्छ । प्रधानमन्त्रीपछि अर्को महत्त्वपूर्ण पद राष्ट्रपति हो जुन गठबन्धनको अर्को ठूलो दल नेकपा माओवादीले लिन सक्छ ।

सत्ता गठबन्धनको तेस्रो ठूलो शक्ति नेकपा समाजवादीले सभामुख प्राप्त गर्न सक्छ जसमा भानुभक्त जोशी, प्रकाश ज्वाला तथा राजेन्द्र पाण्डेमध्ये एकजनाको भाग्य खुल्न सक्छ । त्यसपछि उपसभामुख कांग्रेससँग रहनेछ भने उपराष्ट्रपति लोसपालाई दिनु पर्ने हुनसक्छ ।

प्रतिक्रिया