सोमबार, माघ २३, २०७९

समानुपातिकमा साना दललाई ‘थ्रेसहोल्ड’ कै सकस

नेपालखोज २०७९ मंसिर ११ गते १९:५३

काठमाडाैं । आमनिर्वाचनमा धेरैको चासो पहिलो हुने निर्वाचित प्रणाली अर्थात प्रत्यक्ष निर्वाचनमा हुने गर्दछ । राजनीतिक दलहरूले प्रत्यक्षमा ‘हेभिवेट’ हरू उम्मेदवार उठाउने भएकोले पनि चासो बढेको हो । समानुपातिकमा देशैभरमा एउटै निर्वाचन क्षेत्र मानेर मत संकलन हुने भएकोले दल र उम्मेदवारहरूले सामानुपातिक निर्वाचन प्रणालीलाई कम प्राथमितामा राख्छन्। तर, राष्ट्रिय मान्यता प्राप्त दल बन्नको लागि समानुपातिकको भूमिका प्रत्यक्ष जस्तै हुन्छ ।

प्रत्यक्षमा चुनाव जिते पति समानुपातिकमा तोकिएको मत ल्याउन असमर्थ भएकै कारण राष्ट्रिय मान्यताप्राप्त दलको सूचीमा नपर्ने दलहरू यो पटक पनि हुने देखिएको छ । अहिले प्रत्यक्षतर्फ निर्वाचनको नजिताहरू धमाधम आइरहेको छ । सामानुपातिकतर्फको मत पनि गणना भइरहेको छ । तर, समानुपातिकमा अहिले नै कति जना निर्वाचित हुनेछन् भन्ने भन्न सकिदैन । सम्पूर्ण मत गणना भएपछि सदरमतको आधारमा समानुपातिकमा कुन दलको कति जना निर्वाचित हुन पाउँछन् भन्ने थाहा हुनेछ। समानुपातिकका प्रतिनिधिसभामा १ सय १० जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

प्रत्यक्षतर्फको क्षेत्रगत रुपमा मत गणना हुनासाथ निर्वाचन अधिकृतले निर्वाचितको घोषणा गर्दछन् भने समानुपातिकको आयोगले सबै मत गणनापछि दलहरूले प्राप्त मतको आधारमा कतिकति जना निर्वाचित हुनेछन् भने संख्या तय गरी सूचना प्रकाशन गरिने व्यवस्था रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । ‘कुल सदरमतको तीन प्रतिशत मत ल्याउने दलको सूची तयार गरिने सोही आधारमा दलहरूले पाएको मत र सोही मतको आधारमा दलहरूले निर्वाचित हुने उम्मेदवार संख्या तय हुन्छ’ सहायक प्रवक्ता अर्यालले भन्नुभयो, ‘सोही आधारमा सूचना प्रकाशित गरिने र तोकिएको अबधिमा दलहरूले यस अघि नै बुझाएको बन्दसूचीमा रहेकाहरूमध्येबाट जातजाति, लिंग लगायत मिलाएर पेश गर्नुपर्छ।’

समानुपातिकमा आफ्ना उम्मेदवार निर्वाचित गराउनको लागि दलहरूले कम्तीमा सदर मतको तीन प्रतिशत मत ल्याउनु पर्ने कानूनी व्यवस्था रहेको छ । प्रतिनिधिसभामा कम्तीमा कूल सदर मतको तीन प्रतिशत र प्रदेश सभामा सदरममतको कम्तीमा १.५ प्रतिशत मत ल्याउनेको मात्र समानुपातिकको निर्वाचन प्रणालीतर्फ निर्वाचित हुनको लागि योग्यता पुग्ने गर्दछ । अर्थात तीन र १.५ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार नगर्ने दलहरूले क्रमश: प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट संसदमा प्रतिनिधित्व गर्न पाउने छैनन्। थ्रेसहोल्ड पार नगरेमा दलहरूले पाएको मत खेर जानेछ। उनीहरूले पाउने प्रतिनिधिसभा सदस्य संख्या ठूला दलहरू वा थ्रेसहोल्ड पार गर्ने दलहरूमा जानेछ।

सहायक प्रवक्ता अर्यालले दुबै प्रणालीमा प्रतिनिधित्व भएमात्र राष्ट्रिय दलको मान्यता हुने व्यवस्था भएको बताउनुभयो। उनले राष्ट्रिय दलले आफ्नो निर्वाचन चिन्ह सधैं एउटै राख्न पाउनेछन् भने राष्ट्रिय मान्यताप्राप्त नभएको दलको चिन्ह परिवर्तन हुन पनि सक्ने बताए ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय मान्यता प्राप्त दलको विषयमा उल्लेख गरिएको छ। उक्त दफामा लेखिएको छ ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गर्नेछ।’

२०७३ मा थ्रेसहोल्डको कानून बन्नु अघि समानुपातिकबाट एकजनामात्र पनि सांसद भएका थिए। तर, यो कानूनपछि तीन प्रतिशत मत ल्याउनुपर्ने बाध्यकारी नियम भएपछि कुनै दलको एकजनामात्र समानुपातिकबाट संसदमा प्रतिनिधित्व गर्ने अवस्था रहेन । यसले ठूला दललाई फाइदा भयो भने साना दललाई घाटा। यो ऐन आउने बेलामा साना दलहरूले धेरै विरोध समेत गरेका थिए। गत २०७४ को निर्वाचनमा यही ऐनको कारण पाँच वटा दलका उम्मेदवारले मात्र समानुपातिक प्रणालीबाट संसदमा प्रतिनिधित्व गर्न पाएका थिए ।

यो पटकको निर्वाचनमा थ्रेसहोल्ड पार गर्ने दलहरू पाँच वटामात्र हुनसक्ने संभावना देखिएको छ। १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेकोमा निर्वाचन आयोगले मंसिर ४ मा भएको निर्वाचनमा करिब ६१ प्रतिशत मत अर्थात एक करोड ९ लाख ७३ हजारले मतदान गरेको जनाएको छ। राष्ट्रिय मान्यता प्राप्त दलको लागि यो मतको तीन प्रतिशतले हुन आउने तीन लाख २९ हजार एक सय ८० मत ल्याउनु पर्नेहुन्छ ।

खसेको मतमा करिव ७ देखि ९ लाख मत हुने बदर हुने अनुमान गरिए पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन तीन लाख हाराहारी मत ल्याउनु पर्छ। यो निर्वाचनमा प्रत्यक्षतर्फ जितेका नेकपा(एकिकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टी, नागरिक उम्मुक्ती पार्टी लगायतले समानुपातिकमा सिट पाउन सक्ने संभावना क्षिण हुँदै गएको छ। अहिले एमालेबाट विभाजन भएर बनेको नेकपा(एकिकृत समाजवादी)ले समानुपातिकको थ्रेसहोल्ड पार गर्न नसक्ने देखिएको छ। प्रत्यक्षमा गठबन्धनको कारण १० सिट जितेपनि समानुपातिककमा तीन प्रतिशत मत नल्याएको कारण नेकपा एस राष्ट्रिय मान्यताप्राप्त दलको सूचीमा नपर्ने संभावना बढेको छ।

समानुपातिक मतको लागि प्रत्यक्षमा उम्मेदवार

जिल्लामा बलियो संगठन नभएका दलहरूले पनि मनोनयन दर्ताका सहभागी भएर प्रत्यक्षको लागि जितको संभावना नभए पनि सामानुपातिकमा मत थप गर्ने प्रयासस्वरुप उम्मेदवारी र प्रचार प्रसार गरेको देखिन्छ । तर, कानूनले नै तीन प्रतिशतको थ्रेसहोल्ड राखिदिएपछि साना दलहरू समानुपातिकबाट संसदमा पुग्न असमर्थ भएको छ । यो पटक पनि १२ लाख हाराहारी मत साना दलहरूले ल्याउने र तीन प्रतिशत नकटेको कारण खेर जानसक्ने अनुमान गरिएको छ। साना दललाई पार गर्न सकस भएको थ्रेसहोल्डको सिधा फाइदा ठूला दललाई हुनेछ । साना दलले पाउन सक्ने सिट पनि ठूलामै गाभिने छ। साना दल भने समानुपातिकको दौडबाट स्वत: बाहिरिनेछन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया