विश्वकपमा बियरका विषयमा चलिरहेको लामो बिबादको कथा

काठमाडौं । इक्वेडरका एक फ्यान आफ्नो टिमको खेल हेरेर फर्कदै थिए । उनको देसले फिफा विश्वकपमा आयोजक राष्ट्र कतारलाई २–० ले हराएको थियो । बीबीसीले उनलाई स्टेडियम भित्र बियर माथि लगाइएको प्रतिबन्धका बारेमा सोध्यो । जोस नामका ती फ्यानले छोटो जवाफ दिए-धेरै निराशाजनक, मैले एउटा बियर भेट्टाएँ जसमा शून्य प्रतिशत अल्कोहल थियो। जे होस् कम्तिमा मैले केहि त पाएँ।
अर्का फ्यान एमिलियो भन्छन्, “यो सतप्रतिसत गलत हो। मानिसहरूले स्टेडियम भित्र बियरका लागि नारा लगाएको सुनियो।” कतारमा संचालित विश्वकपमा बियरमा लगाइएको प्रतिबन्ध फिफा र मदिराबीच दशकौं देखि चलिरहेको युद्धको एउटा भाग मात्र हो । यसअघि पनि फिफाले बियर कम्पनीहरुको प्रायोजन लाई लिएर आरोप खेपेको थियो । त्यतिबेला फिफाले दर्शकहरुको सुरक्षाको सट्टा पैसालाई प्राथमिकता दिएको बताइएको थियो ।
फिफाको प्रतिबन्ध नीति: फिफाले हालैका वर्षहरूमा आयोजक राष्ट्रहरूलाई मदिरा निषेध गर्न तयार पार्ने काम गरिरहेको भए पनि यसअघि फिफाले रंगशालालाई सुक्खा अर्थात मदिराविहीन राख्न सिफारिस गर्दै आएको थियो । सन् २००४ सम्म फिफाको नियमअनुसार स्टेडियमभित्र मदिरा बेच्न पाइँदैनथ्यो भने स्टेडियममा रक्सी पिउने सबैलाई स्टेडियम बाहिरको बाटो देखाउने नियम थियो । यद्यपि यी नियमहरू खारेज गर्दै स्टेडियममा बियरलाई अनुमति दिने कुरामा फिफा र केही आयोजक देशहरू बीच बिबाद समेत भएको छ।
ब्राजिलमा बियर प्रतिबन्धित छ । सन् २०१४ मा ब्राजिलले विश्वकप फुटबल प्रतियोगिता आयोजित गरेको थियो । ब्राजिलमा फुटबल कुनै धर्मभन्दा कम मानिदैन । पाँच पटकको विश्वकप विजेता राष्ट्रमा प्रतियोगिता हुनु आफैमा ठूलो घटना थियो । यसमा एउटा मात्र समस्या थियो । ब्राजिलमा बियर निकै चर्चित छ तर अन्य धेरै देशहरू जस्तै ब्राजिलमा पनि फुटबल फ्यानहरूको उत्साह धेरै पटक हिंसामा परिणत भएको छ । यही कारणले गर्दा ब्राजिलमा सन् २००३ मै फुटबल खेलमा बियर माथि प्रतिबन्ध लगाइएको थियो ।
यो कदम रंगशाला भित्र हिंसा र गुण्डागर्दी रोक्नका लागि थियो। यता फिफाको प्रमुख प्रायोजक बियरको ठूलो ब्रान्ड बडबाइजर हो । त्यसैले फिफाले ब्राजिललाई बियरका सम्बन्धमा आफ्नो नियम परिवर्तन गर्न भन्यो । त्यतिबेला फिफाका महासचिव जेरोम भाल्कले भने, “मदिरा फिफा विश्वकपको महत्त्वपूर्ण हिस्सा हो, त्यसैले हामी यसलाई उपलब्ध गराउने छौं। माफ गर्नुहोस् यदि म अलि घमण्डी छु भने, तर यस विषयमा कुनै कुराकानी सम्भव छैन र बियर बेच्न नियम अन्तर्गत अनुमति दिनुपर्छ।”
ब्राजिलका स्वास्थ्य मन्त्रीले यसमा आपत्ति जनाए र देशका राष्ट्रपतिका सल्लाहकार मार्को गार्सियाले फिफा महासचिवलाई कट्टर, औपनिवेशिक र मूर्ख सम्म भने तर धेरैको आपत्तिपछि आयोजक ब्राजिलले आफ्नो नियम परिवर्तन गर्नुपर्यो र खेलका क्रममा बियर बेच्न र मादक पदार्थ सेवन गर्न दिइयो । प्रतियोगिताका क्रममा ब्राजिलमा फ्यानहरूबीच पटक-पटक झडप भएको थियो । कोलम्बिया र उरुग्वेबीचको खेलमा धेरैलाई स्टेडियमबाट बाहिर निकाल्नुपर्ने भयो । आलोचना बढ्दै जाँदा, फिफा महासचिव वाल्कले एक टिभि च्यानललाई भने, “म रक्सी पिउनेहरूको संख्या देखेर छक्क परें। धेरै जसो मानिस नशामा थिए।” फिफाले भविष्यमा आफ्नो नीति परिवर्तन गर्न सक्छ कि भनेर सोध्दा उनले भने, ” यदि हामीलाई मदिराको बिक्री नियन्त्रण गर्न आवश्यक छ जस्तो लाग्छ भने अवश्य गर्नेछौं। “
रूसमा दबाब : सन् २०१८ मा रसियामा भएको विश्वकपमा फिफाको नीतिमा कुनै ठूलो परिवर्तन भएन। ब्राजिल जस्तै रुसमा पनि प्रमुख खेलकुद कार्यक्रममा मदिरा सेवन प्रतिबन्धित छ । २००५ मा रूसले स्टेडियम भित्र रक्सीको बिक्री , खपत र विज्ञापनमा प्रतिबन्ध लगायो। रूसमा २०१४ मा शीतकालीन ओलम्पिक हुँदा कुनै पनि मदिरा कम्पनी प्रायोजक थिएनन । २०१२ मै रूसले टिभी, अनलाइन तथा प्रिन्ट मिडियामा मदिराका विज्ञापनमा पूर्ण प्रतिबन्ध लगाइसकेको थियो । अर्को वर्ष , राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकपका खेलहरूमा रक्सी बेच्न अनुमति दिने कानून अनुमोदन गरे । यससँगै विज्ञापनसम्बन्धी नियममा पनि केही छुट दिइयो ।
खेलाडिहरुको विरोध : फ्रान्सेली स्टार फुटबलर पाउल पोग्बाले पनि युरो २०२० को फुटबलमा बियर कम्पनीको ब्रान्डिङप्रति आपत्ति जनाएका थिए । विश्वकपमा फिफा र आयोजक राष्ट्र मात्रै मदिराको विषयमा झगडा गर्दैनन्। युरो २०२२ मा पनि फिफा र खेलाडीबीच विवाद भएको छ । पत्रकार सम्मेलनमा हेइनकेन ब्राण्डको बियर टेबलमा राखिएकोमा खेलाडीहरूले आपत्ति जनाएका थिए । प्रसिद्ध फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाले आफ्नो पत्रकार सम्मेलनमा कम्पनीको बोतल हटाएर मात्र कुराकानी सुरु गरे। त्यही टिमका करिम बेन्जेमाले पनि बियरको बोतल बिना पत्रकारहरूसँग कुरा गरे। यद्यपि, दुबै अवसरमा, हेइनकेनले प्रेस सम्मेलनको क्रममा टेबुलमा राखेको बियर अल्कोहल शून्य थियो।
यद्यपि ती दुवै खेलाडीको आपत्ति आफुलाइ त्यो ब्राण्डसँग जोड्ने कुरामा थियो । त्यसपछि युरो सञ्चालन गर्ने संस्था युइएफएले खेलाडी तथा प्रशिक्षक सँग टेबुलमा बियरको बोतल राख्ने – नराख्ने बिषयमा पहिल्यै सोध्न थालेको थियो ।
कतार विश्वकपमा प्रतिबन्ध : फिफा विश्वकप – २०२२ मा आयोजक राष्ट्र धार्मिक कारणले बियरबाट टाढै रहन चाहन्छ । कतारमा रक्सीको बिक्री अत्यधिक सीमित र नियन्त्रित छ । यही कारणले गर्दा अन्तिम समयमा फिफाले स्टेडियम भित्र बियर बिक्रीमा प्रतिबन्ध लगाउने सहमति गरेको हो ।
अझै पनि वीआईपी टिकट भएका व्यक्तिहरूले खेल अघि , निश्चित समयमा र खेल पछि तोकिएको ठाउँमा बसेर रक्सी पिउन सक्छन् । अब फिफाको यो निर्णय पछि फिफाको सम्बन्ध प्रमुख व्यावसायिक साझेदार /प्रायोजक बडबाइजर सँग कसरी अगाडि बढने छ वा यसले उनिहरुको सम्बन्धमा कस्तो असर पार्नेछ हेर्नै पर्ने भएकोछ र त्यसका लागि केही समय कुर्नुपर्नेछ ।
बडबाइजर १९८० को दशक देखि फिफाको एउटा प्रमुख प्रायोजक रहदै आएको छ । बडबाइजरले हरेक विश्व कप मा ७५ मिलियन युएस डलरको योगदान पुर्याउँछ । बडबाइजर अमेरिकी ब्रान्ड हो र सन् २०२६ मा हुने विश्वकपका तीन आयोजक राष्ट्रमध्ये अमेरिका पनि एक हो । यस्तोमा कम्पनीले आफ्नो बियर अमेरिकामा बेच्न पाउने आशा भने पक्कै राखेको छ ।
प्रतिक्रिया