सोमबार, माघ २३, २०७९

नेपालमा मूर्ति चोरी र विदेशबाट फर्काउने प्रक्रिया

सुनील उलक २०७९ मंसिर २० गते ९:४१

केही वर्षदेखि विदेश पुगेका नेपाली ऐतिहासिक र पुरातात्विक मूर्तिहरु फर्कन थालेका छन् । विदेशका संग्रहालय घुम्न पुगेका नेपालका संस्कृतीप्रेमीहरुले ति मूर्तिहरु फिर्ता ल्याउने प्रयास थालेका थिए । बि.सं. २०४६ को शुरुवात तिर नेपाल प्रज्ञा प्रतिष्ठानले एउटा पुस्तक प्रकाशन गर्यो । लैनसिंह बाङ्गदेलको निकै लामो अन्वेषण तथा मेहनतले सो पुस्तक प्रकाशन सम्भव भएको थियो ।

बाङ्गदेलले सो पुस्तकमा नेपालबाट चोरिएका मूर्तिहरुको सूची नै तैयार बनाएका थिए । Stolen Images of Nepal नामक पुस्तक प्रकाशन पछि विश्वका ठूला ठूला संग्रहालय आत्तिए । बाङ्गदेलले उल्लेख गरेका कतिपय मूर्तिहरु ति संग्रहालयमा सुरक्षित थिए । तर त्यो पुस्तकको लागि अन्वेषण गर्न भने जापानमा रहेको टोयोटा फाउन्डेशनले आर्थिक सहयोग गरेको थियो । नेपालको मूर्ति चोरी भयो नेपालले चोरको खोजि त गर्न सकेन । साथै चोरिएका मूर्तिहरुको विवरण तैयार बनाउन पनि बिदेशी सहयोग खोज्नुपर्यो ।

युनेस्कोले चोरिएका र अवैध रुपले तस्कर भइ विदेश पुगेका पुरातात्विक महत्वका कुनै पनि वस्तु फिर्ता गराउने नीति तैयार बनाए पछि नेपालले यहि पुस्तकका आधारमा दावी गर्न पाउने भयो । जसले गर्दा बिदेशमा बिभिन्न रुपमा ब्यक्तिगत संग्रह गरिएका तथा सरकारी रुपमा संग्रहालयमा रहेका मूर्तिहरु स्वदेश फर्काउने आवाजहरु उठ्न थाले ।

चोरिएका मूर्तिहरु नेपालकै हो भन्ने प्रमाणका लागि डा. प्रतापदित्य पालको The Arts of Nepal, मेरी स्लसरको Nepal Mandala तथा Early Sculptures of Nepal, कृष्ण देवको Images of Nepal तथा 2500 years of Nepalese Art आदी पुस्तकहरु पर्याप्त थियो । बाङ्गदेलको पुस्तक छापिएकै सालमा जर्मन भाषामा अर्को एउटा पुस्तक छापियो । Die Götter verlassen das Land. Kunstraub in Nepal (देवताहरुले देश छोड्दैछन् ।

नेपालमा कलाको चोरी) यो पुस्तक Jürgen Schick ले लेखेका थिए । यसरी स्वदेश तथा विदेशमा समेत नेपाली कलाको चोरीका प्रश्न उठे पछि युनेस्कोले पनि फिर्ता ल्याउन सहयोग गर्ने तैयारी थालेको थियो । बाङ्गदेल वा स्किक दुबैले चोरिएका मूर्तिहरुको विवरण केवल काठमाडौ उपत्यका वरपरका मात्र दिएका थिए । मूर्ति लगायत पुरातात्विक वस्तुहरुको चोरीको बिगबिगी उपत्यका भन्दा बाहिर पनि त्यतिकै थियो । १०० वर्ष भन्दा पुरानो मूर्ति तथा अन्य वस्तुलाई पुरातात्विक वस्तु भनिने हुँदा अन्य शहर तथा दुरदराज गाउँमा पनि चोरी भएका थिए । तर त्यसको लेखाजोखा कतै गरिएन । पोखरामा बिन्द्यवासिनी मन्दिर परिसरमा रहेको राधाकृष्ण मन्दिरबाट पनि राधाकृष्णको मूर्ति चोरी भएको थियो । भिमसेन टोलमा रहेको भिमसेन मन्दिरमा पनि भिमसेनको मूर्ति चोरी भएको थियो ।

यस्तै अन्य कतिपय मूर्ति तथा पुरातात्विक महत्वका वस्तुहरु चोरिने क्रम बढिरहेको थियो । तर मोफसलमा चोरिएका पुरातात्विक वस्तु चोरीको रुपमा नै कतै उल्लेख भएन । राधाकृष्णको मूर्ति चोरी भएको तिथिमिती मलाई याद भएन । मूर्ति काटेर चोरिएको थियो । जसले गर्दा केही समयसम्म मूर्तिका खुट्टाको भाग मात्र त्यहाँ देखिन्थ्यो । तर भीमसेनको मूर्ति भने २०३१ सालको पुस २१ गतेको राती चोरी भएको थियो । अन्दाजी २०० वर्ष पुरानो मूर्ति त्यस बखत चोरी भयो तर चोरको कुनै पत्तो लागेन । खैर चोर्नेले चोरे तर हाम्रो पोखराका मूर्तिहरुको पनि कतै उल्लेख हुन पाएको भए बिदेशका कुनै संग्रहालय वा ब्यक्तिगत संग्रहमा भेटिए फिर्ता ल्याउन सकिन्थ्यो कि । भीमसेनको मूर्ति चोरिएको केही समय पछि नै नयाँ मूर्ति बनाउन कुरा चल्यो । तर वास्तविक मूर्तिको फोटो कतै थिएन ।

पछि ढोकाको माथि काठमा कुँडिएको आकृतिको आधारमा पोखराका चित्रकार दुर्गा बराललाई मूर्तिको चित्र कोर्न लगाइयो । पोखराका मुर्तिकार एवं ढलोटको काम गर्ने स्व. बेखराज शाक्यसंग मिलेर मैनको ढाँचा तैयार भए पछि स्व. बेखराज शाक्यको मेहनतले उस्तै मुर्ति तैयार भयो । अहिले देखिने मुर्ति अर्थात तस्विरमा भएको मूर्ति यहिँ नै हो । यसरी कलाकारिता त फर्कियो तर कला फर्किएन । अब हामी पनि तातिने हो कि !! साथै जानकारीको लागि पोखराको प्रादेशिक संग्रहालयमा एउटा अर्को भिमसेनको मूर्ति प्रदर्शनमा राखिएको छ । यो मूर्ति पनि यसै क्षेत्रमा कतै चोरी भएको मूर्ति हो । मूर्ति चोरलाई समाए पछि मूर्ति बरामद भयो । मूर्ति कानुनी प्रक्रियामा प्रहरी र सिडियो कार्यालय पुग्यो । त्यस पछि संग्रहालयलाई हस्तान्तरण गरियो । बायाँ तर्फ रहेको तस्विर संग्रहालयमा रहेको भिमसेनको मुर्ति हो । मेरो जिज्ञासा यो मूर्ति जहाँबाट चोरी भएको हो त्यहिँ स्थापना गरिनु पर्ने होइन र ?

प्रतिक्रिया