बिहीबार, जेठ २, २०८२

पुष्पा मृत्यु प्रकरण: चिनियाँ युबतिसँगको सम्बन्धले लियो ज्यान

नेपालखोज २०७९ मंसिर २१ गते १४:५२

काठमाडौं । २७ वर्षीया पुष्पा न्यौपाने, घर नुवाकोट हाल काठमाडौं , बुद्धनगरकि बासिन्दा । सुसिक्षित परिबार अनि आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । परिबार ब्यापार – व्यवसायमा संम्लग्न अनि आफै पनि केल्मी नेपालकी अपरेशन म्यानेजर । पुष्पा न्यौपानेको करियर उकालो लागिरहेको अवस्था, जीवनले थप सफलताको बाटो कोरिरहेको परिवेशमा पुष्पाले किन आत्महत्याको बाटो रोज्नु पर्यो ? उनको परिबारका सदस्यहरुलाइ अहिले यहि प्रश्नले गाँजेको छ र उनिहरु सँग यसको पक्का जबाफ पनि छैन बरु उनिहरुको आशंका बलियो हुँदै गएको छ ।

प्रहरी समाचारमा इन्गेजमेन्ट टुटेका कारण आफ्नै जिउमा पेट्रोल खन्याएर आत्मदाह गरेको भनिएको यो घटनामा अहिले नै कुनै निष्कर्शमा पुग्नु हतार हुनेछ किनभने धेरै प्रश्नहरु अनुत्तरित नै छन अनि प्रहरी अनुसन्धान पनि पुरा भैसकेको छैन् , तथ्य – प्रमाणहरु जुटाउने क्रम जारि नै छ । पुष्पाले ग्यालेनमा भएको पेट्रोल आफ्नो जिउमा छर्किएको भनिए पनि प्रत्यक्षदर्शिहरुको बयान , पेट्रोल खरिद गरिएको ठाउँ , पेट्रोलको उक्त ग्यालेन बोकेर उनी कसरी घटनास्थल पुगिन भन्ने देखि लिएर घटनास्थल वरिपरिको सिसिटिभि फुटेजहरु छानबिन सम्मको काम बाँकि रहदै अनि कुनै सुसाइट नोट समेत फेला नपरेको अवस्थामा उनको मृत्यु लाई आत्महत्या भनिएको कुरा उनको परिबारलाइ पटक्कै चित्त बुझेको छैन् । भनिन्छ प्रहरीले पुष्पा र सुधनबीच सामाजिक सन्जालमा भएका कुराकानीको समेत अध्ययन गरिरहेको छ ।

घटना अनुसार आइतबार साँझ ७ बजेतिर धुम्बराहीस्थित पिपलबोट चोक नजिकैको एउटा घरको अगाडि जलिरहेको अवस्थामा फेलापरेकी पुष्पाको उपचारका क्रममा निधन भएको थियो । घटनास्थलमा पूर्णतः जलिसकेकी अवस्थामा प्रहरीद्वारा उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएकि पुष्पाको उपचारकै क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको थियो ।

पुष्पाको जलेको शरीर फेलापरेको स्थान सुधन संग्रौलाको घर अगाडि हो जोसँग अघिल्लो दिन अर्थात शनिबार मात्र उनको टिकाटालो (इन्गेजमेन्ट) टुटेको थियो , त्यो पनि पुष्पा वा उनको तर्फबाट टुटेको वा टुटाइएको होइन । शनिबार सुधनका बुबा-आमा बुद्धनगरस्थित पुष्पाको घरमा पुगेर इन्गेजमेन्टमा दिइएको सरसामानहरु फिर्ता गरेका थिए । त्यतिबेला पुष्पाको परिवारका सदस्यहरुले सम्बन्ध तोड्नुको कारण सोधेका थिए भने सुधनका बुबाआमाले ‘आफ्नै छोराको बुद्धि बिग्रिएको’ जवाफ दिएको बताइन्छ । सुधन यस बिषयमा ‘पुष्पालाई नै थाहा छ ।’ भनेर पन्छिए । उनले यतिमात्र भने – अब मिल्न सक्दैनौं , त्यसपछि जोडिन लागेको सम्बन्ध टुट्यो । पुष्पा र सुधनको इन्गेजमेन्ट टुटनुको खास कारणका बारेमा पुष्पाले आफ्नो परिबारका सदस्यहरुलाइ केही बताएकि थिइनन् ।

पुष्पाको परिवारले सुधनसहित उनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला तथा दाजु मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको छ र सोही जाहेरिका आधारमा महाराजगञ्ज प्रहरी वृत्तले सोमबार उनिहरु लाई नियन्त्रणमा लिएको थियो । यद्यपि अदालतले सुधनका बुबा-आमा र दाजुलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ भने सुधनलाई थुनामा राखेर अनुसन्धान गर्न भनिएको छ ।

कसरी र किन टुट्यो इन्गेजमेन्ट ?

पढेलेखेकि र आफ्नै खुट्टामा उभिएकि पुष्पाले कसरी आफैंलाई जलाउने निर्णय लिइन ? यो प्रश्न को जबाफका लागि अनेकौं प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ । आउने शनिबार पुष्पाको दिदीको इन्गेजमेन्ट हुँदै थियो । त्यसका लागि सिलाउन दिएको ब्लाउज लिन भन्दै उनी आइतबार दिउँसो ३ बजेतिर बुद्धनगरस्थित घरबाट निस्किएकी थिइन् । ब्लाउज लिएर पुष्पा कतिबेला आइन् अनि कतिबेला निस्किइन् परिवारका सदस्यहरुलाई हेक्का छैन ।

साँझ सबा ७ बजेतिर पुष्पा आगोले जलेर गम्भीर अवस्थामा रहेको गम्भीर खबर पाएपछि मात्र उनको परिबारका सदस्यहरु आश्चर्य र दुखमा डुबेका थिए । भनिन्छ पुष्पा जलेको खबर पुष्पाका बुबा पुरुषोत्तम न्यौपानेलाई सुधनका बुबाले नै दिएका थिए । पुरुषोत्तमलाई पुष्पा जस्तै देखिने केटी जलिरहेको भन्दै बोलाइएको थियो । त्यतिबेला न्यौपानेले जो भए पनि तत्काल अस्पताल लगिदिन आग्रह गर्दा सुधनका बुबाले प्रहरी आउँछ, छुनु हुँदैन भन्ने जवाफ दिएका थिए ।

प्रहरीका अनुसार पुष्पाले पाँच लिटरको ग्यालेनबाट पेट्रोल खन्याएको पाइएको छ जसमा अहिले आधा पेट्रोल मात्र बाँकी भएको र त्यो ग्यालेन बरामद समेत गरिएको प्रहरी वृत्त , महाराजगञ्जले जानकारि दिएको छ ।

कसरी सुरु भय‍‍ो प्रेम सम्बन्ध ?

पुष्पा र सुधन बिच २०७८ को माघमा भेटघाट- परिचय भएको बताइन्छ । चीनबाट बालबालिकाको खेलौना आयात गर्ने सुधन केल्मी नेपालको दरबारमार्गस्थित शोरुम पुग्दा पुष्पासँग उनको चिनजान भएको थियो । नियमित जसो शोरुममा जाने क्रममा उनिहरु बिच निकटता बढ्यो र उनिहरु एक-अर्कालाई मन पराउन थाले ।

दुवैजनाको घर आउजाउ हुन पनि थाल्यो । विजनेस गरिरहेको केटो, दुवै जनाले विवाह गर्छौं भनेपछि परिबारले आपत्ति जनाउने कुरा थिएन । त्यसैले दुबैको परिबारको सहमतिमा गएको भदौ १८ गते घरबाटै उनिहरुको टिकाटालो सम्पन्न गरियो । त्यसपछि सुधन र पुष्पा बिच एकअर्काको घर आउजाउ अझ बाक्लियो । यद्यपि इन्गेजमेन्ट भएको केही समय पछि नै उनीहरुबीच खटपट सुरु भएको अनुमान छ ।

पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन् तर सुधनले त्यसमा स्वीकृति दिएनन् । पुष्पाले साथीहरुसँग सुधनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेको पनि जानकारहरु बताउँछन् । सुधनले पुष्पालाई इग्नोर गर्न थाले पछि पुष्पाको मनमा पनि शंका उब्जिएको परिबारका सदस्यहरुले बताएका छन् ।

मनमुटाव घट्नुको साटो उल्टै बढदै जाँदा यहि तिहार पछि भने उनिहरु निकै टाढिन थालेका थिए । यता उनिहरुको बिबाहको मिति अझ अन्योलग्रस्त हुन थाल्यो । संग्रौला परिवारमा तीन छोरा भएपनि छोरी नभएकाले पुष्पाले सुधनको घरबाट प्रसस्त माया पाएकि थिइन् । बिबाह नभए पनि पुष्पाको केयर सुधनका बुबाआमासम्मले गर्थे ।

साच्चै भन्नुपर्दा पुष्पालाई उनीहरुले छोरी सरह माया दिएका थिए । विवाह हुनुअघि नै पुष्पा संग्रौला परिवारको बुहारी भैसकेकि थिइन् । भनिन्छ अैापचारिक रुपमा इंगेजमेन्ट तोडेर बुद्धनगरबाट फर्कँदा सुधनका बुबाआमा निकै रोएका थिए । त्यतिबेला उनिहरुले सुधनले मान्दै मानेन पनि भनेका थिए ।सुधन संग्रौला परिवारका जुम्ल्याहा छोरामध्ये एक हुन् । पुष्पा र सुधनको इंगेजमेन्ट टुटने कारकतत्व भने अहिले सम्म रहस्य मै छ भने यहि रहस्यमा पुष्पाको मृत्युको पनि रहस्य लुकेको छ ।

प्रहरी सुत्रका अनुसार आफूले भनेजस्तो नहुँदा र भनेको ठाउँमा समयमा नपुग्दा पुष्पाले आत्महत्या गर्नेसम्मको धम्की दिने गरेको कुरा सुधनले प्रहरीलाइ बताएका छन् । पुष्पाकै कमजोरीका कारण सम्बन्ध बिग्रिएको सुधनको जिकिर छ । पुष्पाले सम्बन्ध अगाडि नबढे आफूसँग मृत्युको विकल्प नभएको भन्दै आएको उनिहरुको दाबी छ ।

अहिले पुष्पाको दाहसंस्कार पछि उनका बुबा आफ्नि छोरीको किरिया बसेका छन् ।पुष्पा कान्छी आमा, भाई र बुबासहित बुद्धनगर बस्दै आएकी थिइन् । उनकी आमाको मृत्यु भएपछि बुबाले अर्की श्रीमती विवाह गरेपनि परिवारमा खासै खटपट नभएको जानकारहरु बताउँछन् । पुष्पाले आत्मदाह गरिरहेका बेला मधुसहित पुष्पाका प्रेमी सुदन र बुबाआमा पनि घरभित्रै थिए । समयमै अस्पताल लान उनीहरुले तादरुकता नदेखाएको भन्दै पुष्पाको परिवार आक्रोशित छ । यद्यपि अस्पताल लगेपछि सुधनका दाइ र बुबा दुबै अस्पताल पुगेका थिए ।

सम्बन्ध चिसिनुमा चिनियाँ युवती कारक

अहिले सबैलाई पुष्पाले आत्मदाह नै गर्नुपर्ने स्थितिमा पुर्‍याउने गरी के कारणले सम्बन्ध टुट्यो भन्ने प्रश्नले पनि घेरिरहेको छ । पुष्पाका एक साथीले परिवारका सदस्यहरुलाई बताएअनुसार सुधन ब्यापारका सिलसिलामा चीनमा रहँदा एक चिनियाँ युवतीसँगक‍ो सम्बन्धमा थिए । कोरोना महामारी चर्किएपछि नेपाल फर्किएका सुधन ती युवतीसँगको सम्बन्ध नै पुष्पा र सुधन बिचको बिबादको प्रमुख कारण हुनसक्ने पनि बताइदै छ । यद्यपि सुदनको ती युवती सँगको सम्बन्ध अन्त्य भैसकेको थियो । लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन सुधनलाई ती चिनियाँ युवतीले सहयोग समेत गरेकि थिइन् । पुष्पाले सुधन सँगको ती चिनियाँ युवतीको फोटो समेत फेला पारेको बताइदैछ । उनिहरु बीचको मनमुटाव बढनुको कारण सुधनको त्यही पुरानो सम्बन्ध हुनसक्ने समेत अनुमान लगाइदैछ ।

यता सुधनको परिबार घटनामा आफुहरुलाइ अपराधि सरह प्रस्तुत गरिएकोमा कडा आपत्ति प्रकट गरिरहेको छ । प्रहरीले अनुसन्धान जारी रहेकाले सबै कुरा प्रहरीलाई बताउने भन्दै संग्रौलाका निकटहरुले भने देशमा कानून र न्याय त होला नि । समय आएपछि सबै कुरा स्पष्ट भैहाल्नेछ ।

प्रतिक्रिया