सोमबार, माघ २३, २०७९

नचुकाउनु देउवाले अवकाशको उपयुक्त अवसर

राजन कुइकेल २०७९ मंसिर २२ गते १६:०८

काठमाडौं । शेरबहादुर देउवा, नेपाली कांग्रेसका बहालवाला सभापति एवं देशको वर्तमान प्रधानमन्त्री । जन्म–वि.सं. २००३ । उमेर–७६ । २०४८ सालयताका २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका सबै निर्वाचनमा अपराजित एक मात्र व्यक्ति । डडेलधुराबाट सातौं पटक प्रतिनिधि सभामा प्रवेश। पाँचौं पटक देशको प्रधानमन्त्री ।

कांग्रेसमा लगातार दुई कार्यकाल सभापति। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष। बीपी कोइरालाको सान्निध्य पाएका। गिरिजाप्रसाद कोइरालाबाट राजनीतिक दीक्षा र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत प्राप्त । ‘प्रजातन्त्र दरबारलाई बुझाएको’ आरोप तर राजा ज्ञानेन्द्रबाटै दुई/दुई पटक सत्ताच्युत। शाहीसत्ताबाट भ्रष्टाचारको आरोपमा जेलजीवन ।

नेपालको संसदीय व्यवस्थामा निकै आलोचित ‘सुरा–सुन्दरी, पजेरो काण्ड’, भीमकाय मन्त्रिमण्डल गठन तथा माओवादी सशस्त्र हिंसाको शुरुवात उनको कार्यकालसँग जोडिएका तथ्य। माओवादी सशस्त्र हिंसा नियन्त्रणका लागि संकटकाल लगाउने विषयमा विवाद बढेपछि प्रधानमन्त्री रहेकै बेला पार्टी विभाजन गरी कांग्रेस प्रजातान्त्रिक गठन । राजसंस्थाको अन्त्यपछि कांग्रेस प्रजातान्त्रिक, नेपाली कांग्रेसमा विलय । दशक नपुग्दै एकीकृत पार्टी नेतृत्वको सभापतिमा निर्वाचित। बीपीपछि कांग्रेसबाट सोसलिस्ट इन्टरन्याशनलमा उपाध्यक्ष चुनिने व्यक्ति ।

आफैं सभापति र प्रधानमन्त्री भएर गराएको आमनिर्वाचन २०७४ मा संसदीय इतिहासमै पार्टीको कमजोर उपस्थिति। त्यसको पाँच वर्षपछि २०७९ मा फेरि आफ्नै नेतृत्वमा गराएको निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टीका रुपमा उभ्याउन सफल तर समानुपातिकमा दशकौंदेखिको प्रतिवद्ध मतदाता गुमाउँदै । आफू प्रधानमन्त्रीमा रहँदा मूलत: सुदूरपश्चिम क्षेत्रमा विकासको लहर ल्याएको जस । मूल प्रवाहमा नजोडिएको सुदूरपश्चिमलाई सडक यातायात, विद्युत् र विकासका अरु आयामसँग मूलप्रवाहीकरण गराएको दाबा। मुलुक समावेशी पद्धतिमा नजाँदै सीमान्तकृत वर्ग–समुदाय मधेश–कर्णाली–जनजाति–दलितलाई पार्टीभित्र आरक्षणको पहल ।

समग्रमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पाएका र गरेका उपलब्धिको सार संक्षेप हो यो। नेपाली कांग्रेसभित्र उनीसरह या अझै बढी योगदान दिएका र दु:ख पाएका अनेकौंले कुनै अवसर नपाएर बञ्चित रहँदा उनले पाँच/पाँच पटक प्रधानमन्त्री बनेर मुलुकको बागडोर सम्हाल्न पाए। स्वयं उनका समकक्षी रामचन्द्र पौडेलले एक पटक पनि प्रधानमन्त्री र पार्टी सभापति हुने अवसर पाउन सकेका छैनन् । जसको घिडघिडो बोकेर उनी अझैसम्म भौँतारिरहेका छन् । उनै देउवाले उक्त घिडघिडो पूरा गरिदेलान् भन्ने तृष्णाको भारी बोकेर उनले १४ औं महाधिवेशनमा सभापति बन्न सघाए। अहिले प्रधानमन्त्रीको दौडमा रहेको बताइरहेका छन् ।

ज्योतिषिले सात पटकसम्म प्रधानमन्त्री बन्ने योग रहेको बताएको भन्दै चर्चामा आएका देउवाले आफूमाथि लाग्ने गरेका दुई आरोपलाई यस निर्वाचनबाट धोएका छन् । एक चुनाव गराउन सक्दैनन् वा गराउँदैनन् । अर्को उनको नेतृत्वमा स्थानीयदेखि, प्रदेश र केन्द्रीय संसदमा कांग्रेस इतिहासमै कमजोर बन्यो। यो दुबै आरोपलाई विचारविहीन गठबन्धन बनाएरै भए पनि उनले पखालेका छन् । चुनाव गराउँदैनन् भन्ने आरोपलाई उनकै नेतृत्वमा दुई/दुई पटक मुलुकमा निर्वाचन सम्पन्न गराए । आफैं नेतृत्वको सरकारले गराएको चुनावमासमेत पार्टी इतिहासमै कमजोर रहेको भन्नेहरूलाई यस पटक संघ र प्रदेशमा पनि पार्टीको साख बलियो बनाएर जवाफ दिनसक्ने बनाए ।

एउटा साधारण नेपालीको सन्तानले बिरलै पाउने अवसर उनले एक होइन पटक पटक पाए। पाँच/पाँच पटक प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाले । दुई/दुई पटक पार्टी सत्ताको केन्द्रीय नेतृत्वमा पुगे। उनले जीवनकालमा पाउनुपर्ने भन्दा धेरै गुणा पाइसकेका छन्। बरु बारम्बार सत्तामा पुगेर पनि दीर्घकालसम्म पार्टी र मुलुकलाई हित हुने काम गर्न नसकेको, संसदीय राजनीतिलाई विकृत बनाउन भूमिका खेलेको, भ्रष्टाचार, दण्डहीनता मौलाउँदा पनि कारबाही गर्न नसकेको जस्ता आरोप उनीमाथि लाग्ने गरेको छ । वंश र परिवारवादको विरोध गरेर पार्टी र राज्यसत्तामा पुगेका उनले अहिले त्यही बाटो समातेको जस्ता आरोप उनीमाथि लाग्न थालेको छ।

यस्तोमा देउवा समक्ष एउटा सुनौलो मौका आएको छ । यी तमाम आरोपलाई खण्डन गर्दै पार्टी पुस्तान्तरण र नेतृत्व हस्तान्तरणका लागि सहज बाटो खोलिदिएर एक असल अभिभावक बन्ने अवसर आएको छ । यो निर्णय लिँदा चौतर्फी कम्युनिष्ट घेराबन्दीमा पर्न थालेको उदारवादी प्रजातन्त्र र त्यसको वाहक कांग्रेसलाई आफैंले प्रोत्साहन गरेका अर्को पुस्ताले हाँकिरहेको सुन्दर दृश्य उनले देख्न पाउने छन् । उनले यो मार्ग समात्दा पनि सत्ता राजनीतिबाट तत्काल बिमुख हुनुपर्ने छैन। बरु उनी अर्को इतिहास निर्माणको चरणमा हुनेछन्। देउवाले चाहँदा अहिले मुलुकको राष्ट्रपति बन्नसक्ने छन् । यो निर्णय लिने हो भने, एकातिर पाँच/पाँच पटक प्रधानमन्त्री र राष्ट्रपति एकै व्यक्ति बन्ने विषय ‘भूतो न भविष्यति’ हुनेछ । आफैं यो नेपाली राजनीतिमा अर्को ‘रेकर्ड’ हो।

यसबाट पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको चाह राख्नेहरूले अवसर पनि पाउनेछन् । गगन थापा मात्र होइन, पूर्णबहादुर खड्कादेखि एनपी सावदसम्मका लागि नेतृत्वमा पुग्ने ढोका खुल्नेछ । देउवा अभिभावकीय भूमिकामा रहुन् । जननिर्वाचित प्रतिनिधिले भुईं तहका मतदाताको भावना अनुसार कांग्रेसलाई परिवर्तन चाहन्छन् भने त्यसले त देउवालाई सन्तोष नै मिल्नुपर्ने हो नि होइन र ? होइन, देउवा यो बाटोमा हिड्न चाहन्नन् र पार्टीलाई केही व्यक्ति र स्वार्थ समूहको रछ्यान मात्र बनाउने हो भने, गठबन्धनका नन्दी भृङ्गीको बलमा एक पटक प्रधानमन्त्री त बन्लान्, तर कांग्रेस पार्टी नेपालकै प्रजापरिषद् वा भारतको कांग्रेस आईको बाटोमा नपुग्ला भन्न सकिन्न । आगेको देउवाकै मर्जी !

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया