शुक्रबार, चैत १६, २०८०

नेपालमा भ्रष्टचार गर्ने अनेकन बहाना

भष्टचारविरुद्धको अन्तराष्ट्रिय दिवस

नेपालखोज २०७९ मंसिर २३ गते १२:२६
रामकुमार आचार्य, पूर्व सचिव, नेपाल सरकार

नेपालमा भ्रष्टाचार गर्ने अनेकन बहाना सन्दर्भ : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस रामकुमार आचार्य, पूर्व सचिव, नेपाल सरकार  भ्रष्टाचार राष्ट्रसेवकहरूले गर्ने राष्ट्रविरूद्धको फौजदारी अपराध हो । यिनीहरू राजनैतिक, सामाजिक, नैतिक र कानूनी रूपमा पनि ‘हैसियतवाला’ हुने भएकाले भ्रष्टाचार रूपी अपराधमा संलग्न हुनु अघि वा पछि आफ्नो ‘हैसियत’ जोगाउन दोष मुक्तिका अनेकौं तरिकाहरू अपनाउने गर्छन् ।

अपराधशास्त्रमा यस्ता तरिकाहरुलाई ‘न्युट्रलाईजेशन वा र्‍यासनालाईजेशन टेक्निक्स’ भनिएको छ। नेपाली भाषामा यी शब्दहरूको अपराधको ‘सामान्यीकरण’ वा ‘औचित्यीकरण’ भन्न सकिएला। यस लेखमा भने अपराधको ‘बहाना’ भन्ने शब्दले बढी अर्थबोध हुने ठानेर यही शब्दको प्रयोग गरिएको छ। नेपाली शब्दकोषहरूले पनि ‘बहाना’ को अर्थ देखौवा (देखाउन मात्र) कारण भनेका छन् ।

भ्रष्टाचारीहरूले पनि नैतिक र कानूनी देखिएर अनैतिक र गैरकानूनी काम गर्नु परेको विरोधाभाषका बीचमा ‘देखौवा कारण’ हरूको प्रयोग गर्दछन् । यिनीहरू कहिले ‘जो चोर उसको ठूलो स्वर’ गर्ने हुँकार शैली र कहिले ‘ठुटे बालीको अर्मल तिर्नु’ परेको जस्तो निरीहताको शैली अपनाउन माहिर हुन्छन् ।

कथित हैसियतवालाहरू बहानाको लेपन लगाएर कसरी भ्रष्टाचारमा लिप्त हुन पुग्छन् ? त्यस्ता बहानाहरू भ्रष्टाचारको अनुसन्धानमा उपयोगी हुन्छन् वा हुँदैनन् ? भन्ने प्रश्नहरू यहाँ सान्दर्भिक हुन आउँछन्। यसका लागि सर्वप्रथम तल वर्णन हुने बहानाका प्रचलित तरिकाहरू बुझ्नु आवश्यक हुनेछ । जिम्मेवारी इन्कारी गर्ने : ‘रामले बाध्य पारेर चोर्नु परेको हो’ भने जस्तै यो तरिकामा कसुरदारले निर्दोषिताको कारण आफू नभएर अन्य परिस्थिति भएको देखाउँछ ।

उसलाई आफू त कानून र नैतिकताको पालक हुँ तर काबुभन्दा बाहिरको परिस्थितिले घटना भएको भन्ने देखाउनु परेको हुन्छ । यस्ता भ्रष्टाचारीहरू वर्तमानको कल्मस (मैलो दाग) लाई विगतको शुद्धताको बर्कोले छोप्ने प्रयास गर्छन् र भन्छन्-मेरो विगत क्रान्तिकारी, सत्याग्रही, यति उति वर्ष जेल परेको, यति सम्पत्ति गुमाएको, पारिवारिक त्याग गरेको आदि । उनीहरूको गौरवशाली विगत भने जस्तै हुन सक्छ तर त्यो विगतको व्याज भ्रष्टाचार हुन सक्दैन भन्ने कुरा उनीहरू बिर्सन्छन् र यसैलाई बिक्री गरेर दोषबाट उम्कने बहाना बनाउँछन् ।

कसैलाई उच्च पदको अहंकारलाई भजाउने रहर लाग्छ र निशंकोच भनिदिन्छन्– फलाना संगठनमा रहँदा अपहरणकारीलाई तह लगाएर बसेको हुँ । म आफैं कसरी अपहरण कार्यमा संलग्न हुन सक्छु ? साथीभाइका कारणले मात्र सँगै गएको हुँ आदि। कसैले भने ‘आमाको लाम्टो चुस्दा भएन, बाबुको घुँडा किन चुस्नु’ भन्ने शैली अपनाएका हुन्छन् ।

उनीहरु सगर्व भन्छन्-भ्रष्टाचार गर्ने भए पहिले नै कस्ता कस्ता मौका आएका थिए तर गरिएन, अहिले किन गर्थें ? कसैले पैत्रिक सम्पत्ति नै काफी भएको रट लगाउँछन् भने कसैले आफ्ना छोरा छोरी भए नभएको जस्ता नितान्त परिवारिक अवस्थालाई देखाएर शुद्धताको प्रमाणपत्र लिन खोज्छन् तर जस्तोसुकै प्रमाणित अवस्था आए पनि दोषी मानसिकतालाई स्वीकार गर्दैनन्।

तपाईंले आजसम्म जस्तै नाङ्गो भ्रष्टाचारको पनि कसैले जिम्मेवारी लिएको सुन्नु भएको छ ? बरू ‘मिडियाले न्यूज क्रिएट गरेको’ आरोप र कर्कश स्वरमा ‘प्रमाण पेश गर्न’ आफ्नै मतदाता र ‘मित्रहरू’ लाई चुनौति दिएको भने पढ्नु वा सुन्नु भएकै होला ।हानीनोक्सानी इन्कारी गर्ने: सामान्य चलनचल्तीको उदाहरणमा ‘हो, मैले रामको घरमा ढुङ्गा हानेको हुँ तर यसबाट कसैलाई हानी भएको छैन’ भने जस्तै यस तरिकामा कसुरदारले कसैको हानीनोक्सानी भएको कुरालाई इन्कार गर्दछ ।

भ्रष्टाचार क्षेत्रको उदाहरण दिँदा कसैले सरकारी खातामा राख्नुपर्ने राजस्व ६ महिनासम्म आफैंले राख्दछ र भन्दछ- ‘मैले लिनु खानु गरेको छैन। फिर्ता गरी हाल्छु नि !’ त्यसै गरी वैदेशिक रोजगारीमा रहेका वेला मरेको मृतक कामदारले पाउने ब्लड मनी दूतावासको खातामा नराखी कुनै राजदूतले आफ्नो खातामा राख्दछ र मृतको परिवारलाई दिनको लागि यसो गरेको भन्दै यसबाट ‘कसैको हानी नोक्सानी भएको छैन’ भन्ने दाबी गर्दछ। यो बडो ‘कानूनची’ तरिका पनि हो ।

प्रचलित भ्रष्टाचार कानूले भ्रष्टाचार हुनका लागि सार्वजनिक हानी नोक्सानी भएको हुनुपर्ने अनिवार्य तत्व मानेको हुन्छ। यसैलाई आधार बनाएर कसुरदार कसैको पनि हानीनोक्सानी भएको छैन भने गल्ती पनि भएको छैन भन्ने भद्दा तरिका अपनाउन पुग्दछ। भ्रष्टाचार, त्यसमा पनि घुसखोरीमा ओदान जस्तो तीन पक्षीय सम्बन्धलाई देखाउने गरिन्छ । पहिलो भ्रष्टाचारको कार्य, दोस्रो, भ्रष्टाचार गर्ने र तेस्रो भ्रष्टाचारबाट हानी नोक्सानी हुने पीडित पक्ष। सबै प्रकारको भ्रष्टाचार वा घुसखोरीमा यस्तो तीन पक्षीय सम्बन्धलाई प्रमाणित गर्न कठिनाइ हुन्छ । किनकी घुस लिने र दिने गरी भ्रष्टाचार गर्ने दुवै पक्षलाई फाइदा हुने भए हानीनोक्सानी हुने पक्ष प्रकट हुँदैन ।

त्यसैगरी आम मानिस, गरिब मजदुर किसान, सामाजिक नैतिकता, राष्ट्रिय सुरक्षा, महामारी, जनस्वास्थ्य, प्रकृतिक प्रकोप जस्ता बृहत् क्षेत्रलाई नोक्सान पुग्ने भ्रष्टाचारमा नोक्सानीको मात्रा देखाउन कठिन हुन्छ। यिनै अवस्थाको फाइदा उठाएर बहानाबाजहरू ‘कसैलाई हानीनोक्सानी भएको भए प्रमाण देखाउ,’ ‘पत्रिका लेख्दैमा वा उजुरी पर्दैमा हुन्छ र ? भनेर आफैंले आफैंलाई सुन पानी छर्कने गर्दछन्। नातावाद, कृपावाद र पैसावादमा उच्च लाभका पदमा नियुक्ति गर्छन् र ‘हो फलानालाई नियुक्ति गरेकै हो तर तर यसबाट तपाईंलाई के नोक्सानी भयो र ?’ भनेर उल्टै प्रश्न तेस्र्याउँछन् ।

पीडित इन्कारी गर्ने : ‘रामको ओठ मेरो मुड्कीले फुटेको भए पनि मैले हानेको नभएर ऊ आफैं मेरो मुड्कीमा पर्न आएको हो’ भने जस्तै भ्रष्टाचारमा आफैंलाई दोषी नदेखाएर पीडित आफैंले गर्दा भ्रष्टाचार भएको देखाउने यो एउटा छट्टु बहानाबाजी हो।

पीडितको इन्कारी गर्ने अर्को बहानाबाजी माथि भनिए झैं जब कुनै भ्रष्टाचारमा हानीनोक्सानी भएको छैन भनिन्छ भने त्यसमा पीडित पक्ष पनि हुँदैन र भ्रष्टाचार पनि भएको हुँदैन भन्ने गरिन्छ। आम मानिस, गरिब मजदुर किसान, सामाजिक नैतिकता, राष्ट्रिय सुरक्षा, महामारी, जनस्वास्थ्य, प्रकृतिक प्रकोप जस्ता बृहत् क्षेत्रमा व्यक्तिगत पीडित देखाउन सकिँदैन। यस्ता बृहत् पक्षहरू आफैं मुखरित हुँदैनन् ।

यस्तोमा भ्रष्टाचारलाई ‘पीडितबिहीन’ अपराधको रूपमा लिने गलत मान्यतालाई टेक्ने प्रयाश हुन्छ। अजिँगरको मुखमा आहारा आफैं पुगेको भने जस्तै गरी कसुरदारको भनाइ हुन्छ– ‘मैले मागेको होइन, आफैं ल्याएर दिएको हो।’, ‘ठेकेदारहरू को कसलाई भेटेर के के गर्छन्। त्यसको पछि लागेर सकिन्छ र ?’, ‘यो नीतिगत निर्णय हो यसमा कसैको नोक्सानी भएको छैन र कोही पीडित पनि छैन’ आदि। आरोपकलाई नै आरोपित गर्ने: ‘रामको दाजु पुलिस चौकीको प्रमुख भएकाले मात्र मलाई उसको मुखमा मुड्की हानेकोमा पक्राउ नगरिएको हो’ भन्ने खालको बहानाबाजी खास गरी उच्च पदस्थ भ्रष्टाचारीहरूले अपनाउने अति भद्दा तर बहुधा प्रचलित तरिका हो । जब पक्राउ गरिन्छ भने पुलिसलाई, अनुसन्धान अगाडि बढाइन्छ भने अख्तियार, कसुर ठहर हुन्छ भने न्यायलय नै ‘भ्रष्टाचारको अखाडा’ भन्दिए पछि आफू चोखो हुन पाइने ।

त्यो कुन ड्याङको मुला हो र ? आरोपितले आरोपलाई आरोप लगाएको कुरा सत्य हुनसक्छ तर जँड्याहाले जँड्याहालाई र भ्रष्टाचारले भ्रष्टाचारीलाई आरोप लगाएर आफू जँड्याहा वा भ्रष्टाचारी नहुने होइन । आरोपकलाई नै आरोपित गर्ने केही प्रचलित बहानाहरू हेरौं ।

आफूले भ्रष्टाचार रोक्न केही गर्न नसकेपछि अथवा आफ्नाले गरेको भ्रष्टाचार छोप्न भनिन्छ-‘यस्तो काम यो सरकारले गरेको होइन। पहिले पहिलेकाले गरेका थिए । अरूले गरेका थिए भने हटाउनेतर्फ ध्यान दिनुभन्दा पहिला पनि फोहोर थियो अहिले पनि छ भन्ने कुतर्क गरिन्छ । यो मुखाले तरिका पनि हो । यसमा आरोप लगाउने घर भित्र र बाहिरकाहरूलाई ‘मति सप्रिने’ सन्देश पनि दिइन्छ । त्यसैगरी ‘राजनैतिक प्रतिशोध साँध्न गरिएको, आफ्ना मानिसले गर्न पाएनन् भनेर भनिएको, प्रजातन्त्रमाथिको प्रहार, लोकतन्त्र र गणतन्त्र मास्ने षडयन्त्र’ जस्ता पदावलीहरू बहानाबाजका रक्षा कवज बन्न पुगेका छन् ।

अरू केही उदाहरण, ‘भ्रष्टाचारीलाई किन त्यस्तो गरेको’ भन्ने प्रश्नमा उनले आक्रामक हुँदै भने ‘तपाईंहरूलाई लागेको मान्छे भए ठीक, अन्य भए गह्नाउने’, ‘उहाँहरू सँगै हुँदा क्यान्टनमेन्टको रकम हिनामिना गरेको भनेर एकआपसमा आरोप लागेकै हो। आफू हिरो हुन मात्र मपाँइत्व देखाइएको हो’, आदि।

उच्च बफादारी देखाउने : ‘आमा सिकिस्त बिरामी भएर अस्पताल लानु परेकाले रामको कार चोरेको हुँ’ भने जस्तै कुनै गलत कार्य त्यो भन्दा उच्च मूल्य मान्यताको रक्षाका लागि गरिएको हो भन्ने यो एकप्रकारको धूर्त बहानाबाजी हो । ‘महामारीमा जनतालाई जोगाउनु प्राथमिकतामा थियो कसले विधि र प्रक्रिया हेर्छ। पहिला काम गर्ने हो विधि विधान पछि हेर्दै गरौंला। भूकम्प र बाढी पहिरो पीडितलाई घरबासको व्यवस्था मिलाउनु जरूरी कार्य थियो। भ्रष्टाचार भयो भएन हेरिएन’, ‘जनता जोगाउने आवश्यकताले प्रतिस्पर्धा नगरी जी टु जी गर्नु परेको हो आदि भनेको सुन्ने गरिन्छ ।

यो तरिका पश्चिम देशमा चलेको धनीबाट चोरेर गरिबलाई बाँड्ने ‘रोबिन हुड’ र भारतमा प्रचलित रक्तचन्दन तस्कर ‘बिरप्पन तरिका’ हो । भ्रष्टाचारका सन्दर्भमा यो तरिका नेपालमा ‘पार्टीका लागि’ भनेर चिन्न सकिन्छ। अनुसन्धानमा यसको महत्व ? वास्तवमा उपरोक्त बहानाहरू बहाना मात्र हुन् । वास्तविकतामा भ्रष्टाचारमा कोही न कोही जिम्मेवार हुन्छ नै । परिवेशले भ्रष्टाचार गर्ने होइन। व्यक्तिले नै गर्ने हो।

त्यसैगरी भ्रष्टाचारबाट प्रत्यक्ष देखिने हानी नोक्सानी नदेखिए पनि त्यसले आम करदातालाई, सामाजिक मूल्य मान्यतालाई, कानूनको शासनलाई, संस्थाहरूको वैधता र विश्वसनीयतालाई तथा देशको विकासलाई हानीनोक्सानी पुर्‍याइरहेको हुन्छ । जहाँ हानीनोक्सानी हुन्छ त्यहाँ पीडित नहुने कुरै भएन । आम नागरिक पीडित भैरहेका हुन्छन् । अर्कालाई आरोप लगाएर आफू चोखिने छट्टु पारामा पनि कुनै दम छैन ।

आफ्नो आङको भैंसी नदेख्नेले अरूको अङ्गको भैंसी देख्नुको कुनै नैतिक र कानूनी मूल्य हुँदैनद । अन्तमा देशका लागि, जनताका लागि, साथीका लागि, गरिबका लागि गरेको भनेर अपराधको दायित्वबाट उम्कन सकिँदैन । तसर्थ, सक्षम अनुसन्धानकर्ताले यिनै बहानाबाजीलाई प्रयोग गरेर अपराधलाई प्रमाणित गर्ने बिन्दुसम्म पुर्‍याउन सक्छ । अनुसन्धान अधिकारीले कसुरदारप्रति नै सहानुभूतिशील भएमा ‘यसमा तपाईको भन्दा पनि परिस्थितिको दोष देखिन्छ ।

त्यस्तो बाध्यात्मक परिस्थिति के थियो ? हानी नोक्सानी भएको र कोही पीडित पनि देखिँदैन तथापि यस्तो किन हुन गयो ? यत्तिको भ्रष्टाचार गर्ने त अरू पनि थुप्रै छन् तर तपाईं मात्र कसरी पर्नु भयो ? वास्तवमा तपाईंले देश र जनताको हितमै गर्नु भएको जस्तो छ। त्यसो गर्नका लागि कुन कुन कानुन र परिबन्ध बाधक थिए ?’ जस्ता आशयका प्रश्नहरूको उत्तर लिएर बहानाबाजी भित्र नै कसुरको प्रमाण जुटाउन सक्छ। पाठकहरूलाई पनि यी बहानाबाजीको प्रयोग गरेर भ्रष्टाचारीहरू चिन्न अनुरोध छ । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया