शनिबार, असार २१, २०८२

निमोनियाका लक्षण तथा कारकतत्व

नेपालखोज २०७९ मंसिर २८ गते ९:१६

निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो । अङ्ग्रेजीमा Pneumonia भनिने यो रोगलाई उच्चारण भेदले गर्दा निमोनाया पनि भनिन्छ । यसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। केही भाइरसका प्रजातिले कडा खालको निमोनिया गराउछन् । निमोनियाका जीवाणु विश्वको कुनै क्षेत्र विशेषमा मात्र पाइन्छ भन्ने छैन ।

एचआईभी/एड्सबाट सङ्क्रमित व्यक्तिहरूमा व्याक्टेरियाले गर्दा लाग्ने निमोनिया चाँडै र धेरै लाग्ने सम्भावना हुन्छ । त्यसैले केही अफ्रिकन महादेशका देशहरू जहाँ एड्स व्याप्त छ त्यहाँ निमोनियाका बिरामीहरूको सङ्ख्या पनि अत्यधिक छ। निमोनिया भएका बिरामीहरू एक दुई दिनमै सिकिस्त हुन्छन्, गल्छन्, खोकी लागिरहने हुनाले थकित पनि हुन्छन् । व्याक्टेरिया र भाइरसका बाहेक अरू कारणले पनि निमोनिया हुन सक्छ । कुनै अरू अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि निमोनिया देखा पर्न सक्छ ।

अस्पताल क्षेत्रमा भएका जीवाणुका कारणले गर्दा हुने भएकाले यसलाई रोक्न त्यत्ति सजिलो छैन । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू जस्तै, मधुमेहका बिरामी, सङ्क्रमितहरू अङ्ग, प्रत्यारोपण गरिएका व्यक्तिहरू क्यान्सरका बिरामी तथा स्टेरोइड औषधि सेवन गरिरहेका बिरामी आदिलाइ चाँडै निमोनियाले समात्छ । त्यस्तै धुम्रपान एवं मदिराको अत्यधिक सेवनले पनि निमोनिया हुन सक्छ ।

निमोनियाका लक्षण

१. छाती दुख्नु । ज्वरो आउनु । २. सास फेर्न गाह्रो हुनु । ३. खोकी लाग्नु । ४. चाडो चाडो सास फेर्नु । ५. घाँटी, छातीका मांसपेशीहरु बढी चल्नु । ६. टाउको दुख्नु । ७. रुघा लाग्नु वा श्वासप्रश्वास सम्बन्धि अरु लक्षणहरु देखिनु ।

निमोनियाका कारकतत्व

यस्ता मानिसमा निमोनिया हुने सम्भावना बढि हुन्छ –

धुम्रपान गर्ने : धुम्रपान ले फोक्सो को प्रतिरोध शक्ति लाई क्षीण गराउँछ ।

वृद्ध उमेर : उमेरको वृद्धि सँगै फोक्सो कमजोर हुँदै जान्छ । फोक्सो सँग सम्बन्धित

रोग : क्रोनिकल अब्सट्रक्टिभ पल्मोनरी डिजिज , ब्रोन्कियाक्टासिस आदिले पनि निमोनिया हुने स्थिति लाई बढाउँछन् ।

मादक पदार्थ : यदि मादक पदार्थ सर्किएर फोक्सो तिर गयो भने फोक्सोमा संक्रमण हुने सम्भावना हुन्छ ।

भाइरल संक्रमण : इन्फ्लुएन्जा जस्ता भाइरल संक्रमण कमजोर प्रतिरोधात्मक शक्ति : एचआईभी, कुपोषण (विशेष गरेर बच्चाहरु मा), औषधिहरु जसले प्रतिरोध शक्तिमा ह्रास ल्याउछन् (जस्तै स्टेर्वाइड , क्यान्सरमा लिइने औषधि) चराचुरुंगीका विष्टाको संसर्ग : क्लामिडिया निमोनी तथा बर्ड फ्लु लागेका कुखुरा अथवा क्यू फीभर भएका घरपालुवा जनावरहरुको संसर्गले पनि केही प्रकारका निमोनिया लाग्ने सम्भावना हुन्छ ।

नवजात शिशु तथा बालबालिकाहरु : नवजात शिशु तथा बालबालिकाहरु पनि निमोनियाको शिकार हुने सम्भावना बढी हुन्छ । ज्वरो आयो र श्वासप्रश्वास तिब्र भयो भने उपचारका लागि अविलम्ब डाक्टर कहाँ जानु बुद्धिमानी हुन्छ । यसले नवजात शिशु तथा बालबालिकाहरु लाई जोगाउन सजीलो हुन्छ ।

निमोनियाको खतरनाक अवस्था : १. ओठ तथा औंलाहरु नीलो देखिनुले अक्सिजनको कमी हुन थाले को संकेत गर्दछ । २. सास तान्न गाह्रो हुने हुँदा शिशुले खानेकुरा पिउन नसक्नु । ३. सास फेर्न गाह्रो हुने अवस्था , सास फेर्दा घ्यार – घ्यार आवाज आउनु । ४. सास पुर्याउन नसक्दा पूरा वाक्य बोल्न नसक्नु । ५. शिशु तथा बालबालिकाहरुको छाती भित्र दब्नु । ६. रोग बढ्दै जाँदा थकान, कमजोरी तथा बेहोशीका अवस्थाहरु आउन थाल्छन् । सास फेर्न पनि निकै गार्‍हो हुन्छ । उपचार : विरामीको वृत्तान्त सुनेर तथा भौतिक परीक्षण गरेर निमोनिया पत्ता लगाउन सकिन्छ ।

यसमा छातीको एक्स – रे, रगत एवं खकार जाँच गरेर रोगको निदान गरिन्छ । विरामीको अवस्था हेरेर अरु थप जाँचहरु पनि गर्न सकिन्छ । निमोनियाको उपचारमा एन्टिबायोटिकको प्रयोग सँगै उपयुक्त सहायक उपायहरु अपनाइन्छ । यसमा सामान्य अवस्थामा घरमै आराम गर्दै उपचार गर्न सकिन्छ । नून पानीकाे वाफले श्वासप्रश्वासलाइ सहज तुल्याउन सक्छ । यदि समय मै उपचार गरिएन भने यो जटिल भएर फोक्सो तथा फोक्सो वरिपरि पानी भरिने , पीप जम्मा हुने, ब्याक्टेरियाहरु रक्तप्रवाह सँगै हाड र जोर्नी को संक्रमण , मेनिन्जाइटिस हुने वा शरीरका अरु तन्तुहरुमा आघात पुग्ने सम्भावना हुन्छ । श्वासप्रश्वास नै बन्द हुनु निमोनियाको सबैभन्दा जटिल अवस्था हो ।

सावधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री सामान्य जानकारीहरुमा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार माथि उल्लेखित कुराहरुमा फरक पर्न सक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि अनिवार्य रुपमा स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

प्रतिक्रिया