शनिबार, जेठ ५, २०८१

‘मतिना पारु’

सुनील उलक २०७९ पुष २ गते १३:००

य:मरी पुन्हीको सांस्कृतिक र धार्मिक महत्व आफ्नै किसिमको होला । तर यस दिनको एउटा महत्वपूर्ण पक्ष युवायुवतीबीच प्रेमको प्रस्फुटन यसै दिनबाट हुने विश्वास गरिन्छ । यसको भोलिपल्टलाई नेवा: समाजमा प्रेम दिवस “मतिना पारु”का रुपमा लिने गरिन्छ । मध्ययुगिन समाज झै आजको ५०-६० वर्ष अगाडि सम्म युवायुवतीबीच निकटता हुनु निकै कठिन हुने गर्दथ्यो ।

जसले प्रेमको शुभारम्भ वा प्रेमिल क्षणको कल्पना गर्नु पनि टाढाको कुरा हुन्थ्यो । बाटोमा हिड्दा टिकीझ्या: सँझ्याःमा देखिने हल्का सौन्दर्यको भरमा नै युवती राम्री वा नराम्री कल्पना गर्नुपर्थ्यो । कहिले काँही पानी थाप्न गएका भिडमा देख्न पाइन्थ्यो । बिबाह भनेको परिवारले रोजि दिएकोसंग नै गर्न बाध्य हुने गर्दथ्यो । मन पर्दैन वा गर्दिन भन्ने बिरोधाभासका कुरा परिवार सुन्न नै चाहदैनथ्यो । यस किसिमको सामाजिक परम्परा बिच पनि केही साँस्कृतिक पर्वहरुले भने युवा युवतीबीच आकर्षण पैदा गर्दथ्यो ।

कतै अचानक देखिएकी वा साथी भाइको निकट सम्बन्ध भएकी युवती प्रति एकोहोरो चाहना जन्मिए पछि प्रेमको अंकुरण, य:मरी पुन्हीको साँझ मनाइने त्य: छिं त्य: फ्वनेगु ज्याझ्य: अर्थात घर घर य:मरी माग्न जाने उत्सवमा हुने गर्दथ्यो । साथी भाइको साथ युवतीको घर जाने र गीत गाएर जिस्काउने गरिन्थ्यो । त्य:छिं त्य: वकछीं त्य: लातापाता कुलिचाँ जुस त्यः । य:मरी च्वामु उकिई दुने हामु, ब्युसा माकु मब्युसा फाकु ।

ब्युम्ह ल्यासे मब्युम्ह बुरि कुति । यस गीतमा य:मरी दिनेलाई तरुनी भनेर भनिन्थ्यो भने नदिने घरमा बुढि भन्दै भाग्दथे । यसरी प्रेमको अंकुरण भए पनि यो प्रेम बढ्दछ भन्ने हुदैनथ्यो । युवतीको मनमा पनि प्रेमिल भावको अंकुरण भएमा मन्दिर जाने बहानामा भोलिपल्ट भेट गर्दथे । त्यसैले य:मरी पुन्हीको भोलिपल्टको दिनलाई “मतिना पारु” भनिन्थ्यो । मतिनाको अर्थ प्रेम हो भने पारु पूर्णिमाको भोलिपल्टको दिन हो । तसर्थ यस दिनलाई प्रेम दिवसको रुपमा लिइन्थ्यो । य:मरी पुन्हीको दिन जिस्काइएकी युवती भोलिपल्ट यदि भेट गर्न तैयार भए भने दुइ बिच प्रेमको मिठो शुभारम्भ हुन्थ्यो । लुकिछिपि मन्दिर जाने बहानामा वा पानी भर्न जाने बहानामा भेट्दथे ।

यसरी प्रेमिल जोडी तीन महिना पछि फेरी नजिकिने र जिस्किने अवसर अर्को सांस्कृतिक पर्वले दिन्थ्यो । त्यो दिन फागुको दिन हुने गर्दथ्यो । फागुको दिन अबिर खेल्ने बहानामा फेरी नजिक हुन्थे । र गीत गाउँदै एक अर्कोलाई जिस्काउँथे । अबिरया होली तँचायाला ल्यासे अबिरं छंगु ख्वाः हिसि दय् काबि भन्दै अबिरको होलीले तिमी रिसायौ होला तर अबिरले तिमी अझै राम्री देखेकी छौ भन्दै जिस्काईन्थ्यो । यसको जवाफमा युवतीले पनि यसो भन्थे – न्हापा लिपा मछासां थौंला प्याखँ हिला ब्यु झीतनं मिजं तय्थें अबिर तया ब्यु पहिले पहिले लाज माने पनि आज एक पटक नाची देउ, हामीलाई पनि केटाहरुलाई झै अविर दलिदेउ । त्यस्तै झ्यालय् च्वंगु तुकंमां व हे ल्यासे जित मां व ल्यासे मदय्कं जा हे मनया झ्यालमा झुन्ड्याईएको सागको माला, त्यही झ्यालमा बसेकी युवती मलाई चाहियो ।

यदि ती युवती पाइन भने म भात नै खाँदिन भन्दै भन्दै घरपरिवारलाई धम्कीपूर्ण भाषामा आग्रह गरिन्थ्यो । यसरी य:मरी पुन्हीमा शुरु भएको प्रेम फागुमा अझ झांगिन थाले पनि संकुचित बिचार भएको त्यो बेलाको समाजमा थोरैमात्र प्रेम सफल भएर बिबाह तर्फ पुग्ने गर्दथ्यो । तर पनि यि प्रेमिल दिनका प्रेमिल सम्झनाहरु आज असी वा नब्बेको दशक पुगेका बृद्ध बुबाआमाहरुबाट बेला बेला सुन्न पाइन्छ ।

चाहे राजामतीको कथामा होस वा सिलुको कथामा होस । पति पत्नी होस वा प्रेमि प्रेमीकाका हरेक प्रेम सफल हुन्छ भन्ने हुदैन । तर everything is fair in love and war भनिए झै विवाह वा साथ पाउन असफल हुने सम्भावना भए पनि प्रेमको सम्भावना भने सधै हुने गर्दछ । यसरी त्यसबेलाको समाजमा पनि युवायुवती बिच बिबाह अगाडि पनि प्रेम सम्बन्ध हुन्थे । तर निकै कम मात्र सफल हुन्थे ।

चित्र – रश्ना बज्राचार्य

प्रतिक्रिया