स्वाभिमानी जीवनका लागि सूर्य उपासना

नेपालखोज २०७९ पुष ३ गते ८:५५

हाम्रो वार्षिक पात्रोमा तीन सय ६० दिन हुन्छ । डिग्रीका हिसाबले पनि तीन सय ६० डिग्री हुन्छ । एक दिनमा एक डिग्री यात्रा तय गर्दा सूर्यले एक वर्षमा ब्रम्हाण्डको एक चक्र पूरा गर्छ । यसको एक डिग्रीको यात्रा नै हाम्रो एक दिन मानिएको छ । त्यसैले हरेक दिन र हरेक समय हरेकका लागि फरकफरक असर कारक हुने गर्छ ।

ज्योतिष शास्त्रमा राशीको र नक्षत्रका आधारमा यसलाई थप व्यवस्थित गरिएको छ । १२ राशी र २७ नक्षत्रको चक्रभित्र ग्रहहरुको अवस्थाका आधारमा भविष्यवाणी र प्रकृतिको अवस्था अवलोकन हुने गर्छ । ग्रहहरुको असर र तिनीहरुले दिने फलको समय वा काल थाहा पाउन सूर्यको अवस्थाको ज्ञान महत्वपूर्ण हुन्छ । खासगरी नक्षत्र, राशी र ग्रहरुको समष्टिगत अध्ययनमा ग्रहहरुको अंश, कला र विकलालाई आधार मानिन्छ ।

त्यसैका आधार घटना र परिघटनाको अवलोकन हुन्छ । हरेक जीव र जगत्का कुनै पनि वस्तुको ज्योतिषीय गणनाबाट फलकथन सम्भव हुन्छ । यद्यपि, ज्योतिषीले केबल मानवीय जीवनका घटनामा आफूलाई बढी केन्द्रित गरेको पाइन्छ । भविष्यको चिन्ता लिने वा भविष्यप्रति चासो राख्ने मानवीय गुण भएकाले ज्योतिषीहरु पनि त्यसमै मात्र रमाएका हुन सक्छन् तर ज्योतिष केबल मानिसको भविष्य कथनमा मात्र सीमित छैन । यसले समग्र प्रकृतिसँगै स्वयं ग्रहहरुको पनि भविष्य बताउन सक्छ । यी सबै कुराहरुमा समय महत्वपूर्ण पक्ष हो ।

जुन सूर्यको गति र स्थितिलाई प्रमुख आधार मानिन्छ । यसलाई ज्योतिष शास्त्रले सूर्य सिद्धान्त भनेको छ । सूर्यको आफ्नो राशी सिंह हो । यहाँ सूर्यलाई स्वराशिस्थ भनिन्छ भने मेष राशीमा सूर्य उच्चको हुन्छ र तुला राशीमा नीच हुन्छ । जन्म समयमा सूर्य कहाँस्थित छ त्यसकै आधारमा यसको क्षमता र अवस्था हेरी फल कथन या घटना परिघटनाको आँकलन गरिन्छ । उच्च, स्वगृहि, मित्र र सम राशी र भावमा रहेको सूर्य सकारात्मक फल दिने हुन्छ भने शत्रु राशी, भाव र नीच राशीको सूर्य नकारात्मकताको कारक मानिन्छ । महत्वपूर्ण कुरा के हो भने कुनै पनि ग्रह सधँै नकारात्मक र सधै सकारात्मक भन्ने हुँदैन ।

यी ग्रहहरुले आफ्नो दशा अन्तरदशा कालमा मात्र फल दिन्छन् । तसर्थ ज्योतिषीय गणनाले मात्र त्यो समय निकाल्न सकिन्छ । यद्यपि, सूर्यको प्रभाव दैनिक जीवनमा पर्ने भएकोे कमजोर सूर्यलाई विभिन्न ज्योतिषीय उपचारमार्फत् सकारात्मक बनाउँदा लाभदायी हुन्छ । सामान्यतया मेष, मिथुन, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु राशीमा सूर्यलाई सकारात्मक र अन्यमा कमजोर मानिए पनि यो नै अन्तिम निश्कर्ष भने होइन ।

सूर्यसँग अन्य ग्रहहरुको तालमेल र अन्य ग्रहहरुको अवस्थाको विश्लेषण जरुरी हुन्छ । चन्द्र, मङ्गल र गुरु सूर्यका मित्र मानिन्छन्, शुक्र र शनि शत्रु र बुध न मित्र न शत्रु अर्थात् सम मानिन्छ । मित्र ग्रह वा मित्र ग्रहका राशिमा सूर्य सकारात्मक र शत्रु ग्रह वा ती ग्रहका राशिमा सूर्य नकारात्मक हुने अवस्थासँगै तत्तत् ग्रहहरु कुन अवस्थामा छन् । त्यसले सूर्यको स्वभावमा परिवर्तन ल्याइदिएको हुन्छ ।

तसर्थ गहन अध्ययनपछि मात्र फल कथन यथार्थ र सार्थक हुन्छ । सूर्य सकारात्मक भएका जातकले जीवनलाई अत्यन्तै उन्नत अवस्थामा जीउन पाउँछन् भने कमजोर भएका बेला जन्म लिने जातकले जीवनमा विभिन्न झमेला व्यहोर्नु पर्ने हुन्छ । आत्मबल कमजोर हुन्छ । शरीर कमजोर हुन्छ । पटकपटक हड्डी कमजोर हुने, सरकारी झमेलामा फस्ने, नेतृत्व गर्न नसक्ने या अरुको दास बन्ने सम्मको अवस्था आउँछ । यदि जन्म कुण्डलीमा सूर्य कमजोर छ भने ज्योतिष शास्त्रले विभिन्न उपायहरु दिएको छ । भनिन्छ ज्योतिष केबल फलकथनको विषय होइन । यसले जीवन सकारात्मक बनाउन उत्प्रेरित गर्ने र उपायहरुबाट ग्रहजनित दोष कम गराउने शास्त्र पनि हो । ग्रह दोष कारक छ भने त्यसको नकारात्मक प्रभाव कम गराउन ज्योतिषीय उपायहरुको अवलम्बन जरुरी हुन्छ ।

जहाँसम्म सूर्य ग्रहले नकारात्मकता दिने अवस्था जन्मकुण्डलीमा छ भने सूर्य मन्त्रको जप, सूर्य गायत्री तथा अवस्था हेरेर हवन, दान या अन्य उपाय अपनाउनुपर्छ । सामान्यतया यदि सूर्य कमजोर छ र नकारात्मकताले दुःख दिएको छ भने यसको अवस्था हेरेर जडीबुटीजन्य पदार्थ, रत्न, रातो कपडा, आदिको प्रयोग या दान गरेर राहत लिन सकिन्छ । तत्काल ज्योतिषीय सल्लाह लिने अवस्था छैन र सूर्यसम्बन्धी समस्या भोगिरहनु परेको छ भने सूर्य मन्त्र– ॐ घृणिः सूर्याय नमः को जप र सूर्यलाई दैनिक अर्घ दिँदा लाभ मिल्न थाल्छ ।

मन्त्र जाप र अर्घसँगै सूर्य प्रार्थना मन्त्र–जपाकुसुम संकाशम् काश्यपेयम् महाद्युतिम् । तमोऽरिम् सर्वपापघ्नम् प्रणतोऽस्मि दिवाकरम् ।। यो मन्त्रले प्रार्थना गर्नु अति लाभदायी हुन्छ । सूर्य पिताको मात्र नभई पितृहरुको पनि कारक भएकाले हरेक दिन पितृहरुको स्मरण र तर्पणले पनि सूर्यको नकारात्मक फल कम गर्न हुन्छ । हरेक दिन सूर्यलाई अर्घ दिँदा पितृहरुको पनि स्मरण गर्दा पितृकृपा मिल्छ । जसलाई पितृ कृपा मिल्छ, उसलाई कुनै पनि ग्रहजनित दोषले बिगार्न सक्दैन भन्ने शास्त्रीय वचन छ । यति गर्दा पनि सूर्यको नकारात्मक फल कम भएन भने उचित परामर्श लिएर दोष निवारण गर्नु नै उचित हुन्छ ।
(लेखक दक्षिण एशियाली ज्योतिष महासङ्घका सङ्गठन सचिव हुनुहुन्छ)

प्रतिक्रिया