बुधबार, असोज २३, २०८१

सिरियल किलरको रिहाइ लाई लिएर अन्तर्राष्ट्रिय प्रश्न

नेपालखोज २०७९ पुष १० गते १३:३४

काठमाडाैं । सिरियल किलर जस्ता अपराधीहरु जेलबाट मुक्त हुनु हुँदैन। ८५ वर्षिय मधुकर जेन्डेको भनाई छ । मधुकर सन् १९८६ मा भारतको गोवामा फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई पक्राउ गर्ने विशेष टिमको नेतृत्व गर्ने सेवानिवृत्त प्रहरी अधिकृत हुन्।

सन् १९७५ मा दुई पर्यटकको हत्या गरेको अभियोगमा चार्ल्स शोभराजले नेपालको जेलमा १९ वर्ष बिताए । उनीमाथि सन् १९७० को दशकमा अरु केही पर्यटकको हत्या गरेको आरोप समेत छ । फ्रान्सेली पर्यटकलाइ विष खुवाएको आरोपमा उनले २० वर्ष भारतीय जेलमा बिताएका छन् । सन् १९७२ देखि १९८२ सम्म भएका २० भन्दा बढी हत्याको सम्बन्ध पनि चार्ल्स शोभराजसँग जोडिएको छ । यीमध्ये अधिकांश पश्चिमी देशका नागरिक हुन जो हिप्पी संस्कृतिबाट प्रभावित थिए । भारत तथा थाइल्याण्डको भ्रमणका क्रममा रहदा उनिहरुको हत्या भएको थियो । उनीहरुलाई लागुऔषध ख्वाएर घाँटी काटेर मारिएको थियो । तीमध्ये केहीलाई कुटपिट गरिएको थियो भने केहीलाई जलाइएको थियो ।

डिसेम्बर २१ मा नेपालको सर्वोच्च अदालतले ७८ वर्षीय फ्रान्सेली नागरिक चार्ल्स शोभराजको उमेर र जेलमा रहदा देखाएको राम्रो व्यवहारलाई ध्यानमा राख्दै रिहा गर्न आदेश दिएको थियो । अदालतको यो आदेशपछि विगत ४० वर्ष जेल जीवन बिताएका चार्ल्स शोभराजले फेरि खुला हावामा सास फेर्न पाएका छन् । यद्यपि मधुकर यस्ता सिरियल किलर भविष्यमा रिहा हुन नसकुन भनेर केही कदम चाल्नुपर्ने बताउँछन् ।

अहिले अन्तर्राष्ट्रिय रुपमा उठेको प्रश्न के हो भने सिरियल किलरलाई जेलबाट रिहा गर्ने निर्णय कसरी र कुन आधारमा भयो ?
चार्ल्स शोभराजजस्तै जेलमा लामो सजाय भुक्तान गरिरहेका अपराधीका वकिलहरु यस्तो रिहाइको पक्षमा छन् । उनीहरूले कैदीको उमेर, जेलमा बिताएको समय र कमजोर स्वास्थ्यलाई औंल्याउँछन् । यद्यपि अभियोजक र अपराध पीडितका परिवारका सदस्यहरूले त्यस्तो तर्कको विरोध गरेको पाइन्छ । जघन्य अपराध गर्ने कैदीलाई कहिले र कुन आधारमा जेलबाट रिहा गर्ने भन्ने कुरामा एकमत हुन सकेको छैन । यस विषयमा कानुनविद्हरु बिच पनि एकमत छैन ।

समाचार एजेन्सी एएफपीका अनुसार शोभराजलाई रिहा गर्ने निर्णयमा नेपालको सर्वोच्च अदालतले “चार्ल्स शोभराजलाई लगातार जेलमा राख्नु कैदीहरूको मानवअधिकारको उल्लङ्घन हो” भनेको थियो । शोभराजलाई मुटुको समस्या थियो र यसका लागि उनको नियमित उपचार आवश्यक थियो । यो पनि उनको रिहाइको कारण बन्यो तर पुर्व प्रहरी अधिकृत मधुकर अदालतको यो निर्णयबाट निराश छन्।


उनी भन्छन्, “मैले चार्ल्स शोभराजजस्तो क्रुर अपराधी देखेको छैन । धेरै देशमा ४० भन्दा बढी महिलाको हत्या गरेको उनले आफैंले स्वीकार गरेका छन्। विगतको रेकर्ड अनुसार उनि एउटा ढाँचामा काम गर्छन् जस्तो देखिन्छ । उनी पहिले केटीहरूलाई साथी बनाउँछन , तिनीहरूलाई आफ्नो जालमा फसाउँछन , उनीहरूलाई लागू पदार्थ दिन्छन र त्यसपछि मार्छन । उनि समाजका लागि खतरा हुन। ” चार्ल्स शोभराजले गरेको अपराधको पूर्ण सजाय नपाएको उनको तर्क छ । मधुकर हाल पुणे शहरमा बस्छन्।

उनी भन्छन्, “मदिरा, सम्पत्ति र महिला नै पुरुषलाई हत्यारा बनाउने मुख्य कारण हुन्। यदि कसैले एक वा दुईवटा हत्या गरेको छ भने उसलाई लामो समय जेल सजाय हुन सक्छ । त्यसपछि उनीहरु परिवर्तन हुन सक्छन् तर सिरियल किलरहरूको मामिलामा त्यस्तो हुुँदैन । केही अपराधीहरू कहिल्यै परिवर्तन हुँदैनन्।”


सेरेना सिमन्स युनिभर्सिटी अफ नटिङ्घम, युकेमा मनोविज्ञानकि वरिष्ठ लेक्चरर हुन्। शोभराजको मुद्दामा उनले भनेकि छिन – उ जेलबाट रिहा हुनु हुँदैनथ्यो। शोभराजलाई रिहा गर्नु भनेको उसको अपराधबाट पीडित परिवारको अपमान हो। उनी पक्कै पनि एक खतरनाक व्यक्ति हुन् जसले हत्याबाट करियर बनाएका थिए र त्यसबाट उनले रमाइलो गरे।


सिमन्सले बेलायतमा धेरै सिरियल किलरहरूको मानसिक सोचाइको अध्ययन गरेकि छिन्। (सिरियल किलरहरूको परिभाषामा ती व्यक्तिहरू समावेश हुन्छन् जसले एक निश्चित अवधि भित्र तीन वा बढी व्यक्तिहरूलाई मारेका हुन्छन्।) सिमन्स भन्छिन्, ‘हत्याराहरू प्रायः २५ देखि ३५ वर्षका हुन्छन्, तिनीहरू पुरुष हुन्, चतुर छन् । हामी उनिहरुलाइ ‘सडक स्मार्ट’ भन्न सक्छौं। यसका लागि विशेष प्रकारको चतुरता चाहिन्छ। तिनीहरू त्यस्तो अपराधमा मास्टर हुन्छन् । तिनीहरू आफ्नो शिकारलाई आकर्षित गर्न र जालमा फसाउन माहिर हुन्छन् । त्यसो भए के सिरियल किलरहरूलाई जेलबाट रिहा गर्नुपर्छ ? सेरेना सिमन्स भन्छिन् – यस्तो अवस्थामा चारवटा कुरामा विचार गर्नुपर्छ ।

• कति जना उक्त अपराधीको सिकार भए ?
• के त्यो अपराधमा यौन पनि जोडिएको थियो ?
• अपराध कुन हदसम्म संगठित रूपमा योजना बनाई कार्यान्वयन गरियो ? के अपराधीले आफ्नो अपराध लुकाउन र प्रमाण नष्ट गर्न खोज्यो?
• अपराधीमा मानसिक स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या छ ?


सेरेना सिमन्स आपराधिक न्याय प्रणालीले अपराधीहरूप्रति कुनै उदारता देखाउनु अघि होसियार हुनुपर्ने अनि निकै सावधानी अपनाउनुपर्ने कुरा बताउँछिन् ।

सिमन्स भन्छिन्, “सिरियल किलरहरू जटिल र खतरनाक हुन्छन्। धेरै सिरियल किलरहरूमा मान्छे मार्ने बलियो इच्छा हुन्छ । यस्ता अपराधीहरू उच्च परिष्कृत हुन्छन् जसले आफ्नो अपराधको प्रमाण लुकाउन खोज्छन् । यसका लागि उनिहरु विस्तृत योजना बनाउँछन । उनिहरुमा सुधारको सम्भावना निकै कम हुन्छ । मलाई लाग्दैन कि त्यस्ता अपराधीहरूले समाजका मानिसहरूमाझ आफ्नो रिहाइको ओैचित्य पुस्टि गर्न सक्छन् ।

उनी भन्छिन्- चार्ल्स शोभराजको मामिलामा उनको हत्या गर्ने इच्छा आवेगबाट आएको थिएन र यो पटक- पटक भएको थिय‍ो । सिमन्स भन्छिन्, “धेरै अपराधीहरूले सुधारको कुनै संकेत देखाउँदैनन्, बरु पक्राउ परेकोमा शोक व्यक्त गर्छन्।”

बेलायतमा, सिरियल किलरहरूलाई जेलको पर्खाल पछाडि आफ्नो सम्पूर्ण जीवन बिताउने सजाय हुन सक्छ, अर्थात् तिनीहरू कहिल्यै जेल बाहिर आउन सक्दैनन्। आफूले गरेको प्रत्येक अपराधको छुट्टाछुट्टै सजाय नपाउने भएकाले धेरै देशमा यस्ता अपराधी जेलबाट बाहिर निस्कन सक्छन् । कतिपय अपराधीका केही अपराध मात्र अदालतमा पुग्छन् र कतिपय प्रमाणको अभावमा वा कडा कानुनी लडाइँपछि सजायबाट बच्न सक्छन् ।

मधुकर फौजदारी न्याय प्रणालीमा परिवर्तन चाहन्छन् ताकि जघन्य अपराध गर्नेहरूलाई उमेर वा खराब स्वास्थ्यका आधारमा जेलबाट छुटाउन नसकियोस । उनी भन्छन्, “म अपराधको सिकार भएका परिवारका सदस्यहरूका बारेमा सोच्छु । मलाई लाग्छ कि हामीले चार्ल्स शोभराज जस्ता सिरियल किलरहरू जेलबाट बाहिर निस्कन नपाउन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । जेल सजायको सीमा हुनु हुँदैन। त्यस्ता मुद्दाहरूमा आजीवन कारावासको अर्थ मृत्युसम्म कैद हुनुपर्छ र यस्ता अपराधीहरुका लागि त्यो नै सही सजाय हो ।”


बिबिसिको समाचारमा आधारित

प्रतिक्रिया