खुला सिमानाले मारमा परेका मर्चवारका किसान

रूपन्देही । रूपन्देही मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीयवासी तथा सरोकारवालाले खुला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरूको भनाई छ ।
चेम्बर अफ कमर्स, रूपन्देही (उद्योग व्यापार संगठन, सिद्धार्थनगर) र उद्योग व्यापार संगठन, रूपन्देही मर्चवार सम्पर्क कार्यालयले कोटहीमाई गाउँपालिका– ५ स्थित मझगवामा आयोजना गरेको स्थानीय बजार प्रवर्द्धनमा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा बोल्ने सहभागीहरूले स्थानीय बजार प्रवर्द्धनका लागि सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
स्थानीय सन्तराम कोइरीले स्वदेशमा उत्पादन भएका कुखुराले बजार नपाएको गुनासो गरे । उनले भने, ‘भारतमा सस्तो मूल्यमा कुखुरा पाइने भएकाले उपभोक्ताहरू भारत जाने गरेका छन्, सीमा वारीका व्यवसायी मर्कामा परेका छन् ।’ त्यस्तै स्थानीय सूर्यनारायण यादवले खुला सीमाका कारण स्वदेशी बजार सुनसान भएको बताए ।
उनले स्वदेशमा उत्पादन लागत बढी हुँदा सामानको मूल्य समेत यहाँ बढी नै रहेको बताए । उनले स्थानीयस्तरमा उत्पादित सामानको बजारीकरणमा समस्या रहेको बताए । कृषक अशोक कुमार तिवारीले किसानलाई मल र सिँचाइको व्यवस्था नभएसम्म विकास हुन नसक्ने बताए । उनले कृषकले उत्पादन गरेर वस्तुको मूल्य कृषकले नै तोक्न पाउनुपर्ने माग गरे ।
उनले भने ‘किसानको विकास नभएसम्म मुलुकको विकास हुन सक्दैन ।’ स्थानीय अर्जुन हरिजनले चप्पल उद्योग सञ्चालन गर्दै आएको भए पनि बिक्री वितरणमा समस्या आएपछि उद्योग नै बन्द गर्नुपरेको बताए । उनले उद्योग बन्द भएपछि ऋणको किस्ता, ब्याज तिर्न समस्या भएको गुनासो गरे । उनले भने, ‘अनुदान पाउनुपर्ने व्यक्तिसमक्ष पुगेको छ कि छैन अनुगमन गर्नु आवश्यक छ।’ मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले दर्ता प्रक्रियामा नआएका व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने बताए ।
उनले स्थानीय सरकारले स्थानीय उत्पादन भएका सामान खरीद गर्नुपर्ने माग गरे । उनले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । मर्चवार क्षेत्रमा होटल, किराना लगायत व्यवसाय बन्द भएकाले त्यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उद्योग व्यापार संगठन, रूपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले किसानले समयमा मल र बिउ नपाएको बताए । उनले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको र सीमा पारीबाट ल्याउँदा किसानले अनेकौं हैरानी खेप्नुपरेको बताए ।
उनले भने, ‘स्थानीय सरकार र व्यवसायीबीच सहकार्य आवश्यक छ। ’अध्यक्ष ज्ञवालीले किसानको जीवनस्तर माथि उकास्न सके मात्र अर्थतन्त्र मजबुत हुने बताए । ज्ञवालीले भने स्थानीय उत्पादन खरीद गरेर स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।, ‘सबै व्यवसायलाई करको दायरामा ल्याउनुपर्छ, स्थानीय सरकारले सहज रुपमा दर्ता तथा नवीकरण गर्नुपर्छ। ’अध्यक्षको भनाई छ। खुला सीमा व्यवस्थित नभएका कारण व्यवसाय प्रबर्द्धन हुन नसकेकाले सीमालाई व्यवस्थित गर्नुपर्ने ज्ञवालीको भनाई छ ।
बैंक ब्याजदर बढेका कारण विगतमा पनि आन्दोलन गरेको र अब हुने आन्दोलनमा मर्चवार क्षेत्रका व्यवसायी पनि सहभागी हुनुपर्ने बताए । ‘चर्को बैंक ब्याजदरका कारण उद्योग व्यवसाय धराशायी भएका छन्, अब नयाँ सरकार बनेपछि चर्को बैंक ब्याजदर विरुद्ध पुन: आन्दोलन गर्छौँ।’ कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले कृषिप्रधान क्षेत्र मर्चवारमा आउनुपर्ने मल समेत घटिरहेको गुनासो गरे ।
उनले किसानले समयमै मल नपाएको बताए । उनले मर्चवार क्षेत्रमा रहेका पालिकाहरूले साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।, ‘साझा एजेण्डा बनाएर अघि बढे मर्चवार क्षेत्रको आवाज एकैपटक सम्बन्धित निकायमा पुग्छ। ’ प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले भने । कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सञ्जय कुमार सैनीले कृषिप्रधान देश भनिए पनि किसानको धेरै समस्या रहेको बताउनु भयो। कृषिको लागि आवश्यक रहेको ट्रयाक्टरको भन्सार शुल्क बढ्दा कृषक मारमा परेको गुनासो गरे । मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले कृषि, शिक्षा र स्वास्थ्यमा आफूले जोड दिएको बताए ।
उनले कृषकलाई गाउँपालिकाबाट सक्दो सहयोग गरिएको बताए । उनले भने,‘ निजी क्षेत्रलाई जिम्मेवारी दिए कृषकले सहज रुपमा मल पाउन सक्थे। ’किसानलाई सिँचाइको व्यवस्था नहुनु दुःखद भएको बताए । कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भारतबाट ल्याएर सामान बिक्री गर्नुपर्ने व्यवसायीको बाध्यता रहेको बताए । उनले भने ‘मर्चवार क्षेत्रको व्यवसाय प्रवर्द्धनका लागि छुट्टै नीति बनाउनुपर्छ। ’
किसानले मल समयमा नपाउँदा उत्पादनमा समेत समस्या आएको बताए । अध्यक्ष त्रिपाठीले स्थानीय बजार प्रवर्द्धनमा स्थानीय तहबाट भूमिका निर्वाह गरिने प्रतिवद्धता व्यक्त गरे । उनले मर्चवार क्षेत्रमा पर्ने चार वटा पालिकाको भेला गरेर समस्या समाधानका लागि सम्बन्धित निकायमा डेलिगेशन समेत जानुपर्ने बताए । उनले भने, ‘समस्या समाधानका लागि बाध्यात्मक स्थिति सिर्जना गर्नुपर्छ, निराशा कुरा मात्र गरेर हुँदैन, आशावादी हुनुपर्छ। ’ श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया