जाडोमा बन्द कोठामा सुत्नु घातक हुन सक्छ !
काठमाडौं । सबै काम सकेर कोठामा सुत्न जाँदा हिटर पनि साथमा लिएर गए भित्र न्यानो हुन्छ र शान्तिपूर्वक सुत्न सकिन्छ भन्ने सोचेर कोठाको सबै झ्याल – ढोका बन्द गरिन्छ तर यसरि सुत्दा निसासिएर मृत्यु सम्म हुनसक्छ । यस्ता धेरै घटना सार्वजनिक भएका छन् ।
जाडोमा धेरैजसो घर तथा पसलहरूमा तताउनका लागि ब्लोअर , हिटर वा कोइला प्रयोग गरिन्छ , तर के यी साधनहरु सुरक्षित छन् ? चिकित्सकहरुका अनुसार यी साधनको दोष भन्दा महत्त्वपूर्ण कुरा भेन्टिलेशनको हो । जहाँ भेन्टिलेशन हुँदैन त्यहाँ खतरा हुन्छ । यदि तातोका लागि कोइला वा काठ बाल्दै हुनुहुन्छ भने, त्यसबाट निस्कने कार्बन मोनोअक्साइड ग्यासले निसास्साउन सक्छ । विशेषगरी भेन्टिलेसनको व्यवस्था नभएको अवस्थामा।
इन्जिन मात्र चलेको कारमा बस्दा पनि निसास्सिन सकिन्छ। यसमा कुन कम हानिकारक र कुन बढी हानिकारक भन्ने कुराले फरक पार्दैन । एउटै कुरा हो कि यी उपकरणहरू प्रयोग गरिएको ठाउँमा भेन्टिलेसनको व्यवस्था छ कि छैन ? यहि महत्त्वपूर्ण हुन्छ । छाला विशेषज्ञहरुका अनुसार ब्लोअर, हिटर वा आगोको अगाडि लामो समयसम्म बस्दा छालामा सुक्खापन देखापर्न सक्छ, विशेषगरी वृद्धवृद्धालाई । यसका साथै डन्डीफोरको समस्या पनि बढ्न सक्छ। यी उपकरणहरूमा लामो समयसम्मको एक्सपोजरले छालाको प्राकृतिक आर्द्रतालाई असर गर्छ ।
कार्बन मोनोअक्साइडले कसरी असर गर्छ?
कार्बन मोनोअक्साइड विषाक्त ग्यास हो । कोइला वा काठ बालिएको र भेन्टिलेसन नभएको ठाउँमा सास फेर्दा हामीले कार्बन मोनोअक्साइड र अक्सिजन दुवै लिन्छौं।
कार्बन मोनोअक्साइडले हेमोग्लोबिनसँग मिसिएर कार्बोक्सीहेमोग्लोबिन बनाउँछ। वास्तवमा, रगतमा रहेको आरबीसीले अक्सिजन भन्दा पहिले कार्बन मोनोअक्साइडसँग जोड्छ। यदि अक्सिजनको तुलनामा धेरै कार्बन मोनोअक्साइड भएको ठाउँमा बसियो भने रगतमा अक्सिजनको ठाउँमा बिस्तारै कार्बन मोनोअक्साइड आउँछ।
यसले शरीरका महत्त्वपूर्ण अंगहरूमा अक्सिजनको आपूर्ति घटाउँछ। यसले हाइपोक्सियाको अवस्था सिर्जना गर्छ जसका कारण तन्तुहरू नष्ट हुन थाल्छन र मृत्युको जोखिम बढ्छ ।
प्रारम्भिक लक्षणहरू के हुन्
सबैभन्दा पहिले सास फेर्ने वातावरणको हावा विषाक्त छ कि छैन भनेर जान्न जरुरि छ । कार्बन मोनोअक्साइडको प्रतिशत बढी भएको ठाउँमा टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुने जस्ता लक्षणहरू देखिन्छन् । यसबाहेक आँखा पोल्ने समस्या पनि हुन सक्छ ।
रोकथामका उपायहरू
यदि तपाइँ यी मध्ये कुनै पनि माध्यम प्रयोग गर्दै हुनुहुन्छ भने, भेन्टिलेसनमा विशेष ध्यान दिनुहोस्। बन्द कोठामा कोइला वा काठ बालेर आगो ताप्ने लोभ त्यागि दिनुहोस् । हिटर वा ब्लोअर प्रयोग गर्दै हुनुहुन्छ भने पनि सावधान रहनुहोस्। यसको बढि प्रयोग खतरनाक हुन सक्छ। झ्याल – ढोका पुर्णतया बन्द गरेर हिटर , ब्लोअर वा आगो बालि सुत्नु आफ्नै ज्यान जोखिममा पार्नु हो ।
प्रतिक्रिया