बिहीबार, जेठ ३, २०८१

फ्लासब्याक–२०२२: यो वर्षका भोजपुरी चलचित्र

नेपालखोज २०७९ पुष १५ गते १३:१३

काठमाडाैं । भाषाका रूपमा भोजपुरी बोल्नेहरूको संख्या संसारमा २० करोड भन्दा बढी छ। भारतमा मात्र ६ देखि ७ करोड मानिस भोजपुरी बोल्छन्। यो भाषा बुझने मानिसहरु निकै छन्। भोजपुरी नेपालको तराई क्षेत्रका अतिरिक्त भारतकोको पश्चिमी बिहार, पूर्वी उत्तर प्रदेश, पश्चिमी झारखण्ड, मध्य प्रदेश तथा छत्तीसगढको उत्तर-पूर्वी भागमा व्यापक रूपमा बोलिन्छ । यसलाई नेपाल, फिजी र मौरिससमा संवैधानिक भाषाको रूपमा मान्यता समेत दिइएको छ। भोजपुरी झारखण्डको दोस्रो आधिकारिक भाषा हो। भोजपुरी जान्ने र बुझनेहरूको विस्तार संसारका सबै महादेशमा जसमा सुरिनाम, गुयाना, ट्रिनिडाड, टोबागो तथा फिजी जस्ता देश प्रमुख छन् । केही वर्षयता भोजपुरीको विस्तारसँगै यो भाषामा बनेका चलचित्र र गीतको लोकप्रियता पनि तीव्र गतिमा बढेको छ । जसरी थ्रीजी पछि फोरजी आयो, आम मानिससम्म पुग्यो, त्यही स्पीडले भोजपुरी सिनेमा पनि अघि बढेको छ । भोजपुरी सिनेमाले विश्वव्यापी रुपमै सफलता पाएका छन् । अहिले भोजपुरी फिल्म र गीतको भ्युज १० करोड पुगेको छ । यो सँगै भोजपुरी फिल्म उद्योगमा काम गर्नेहरुको आम्दानी पनि बढेको छ ।

भोजपुरी सिनेमाको लोकप्रियताको यो भन्दा ठूलो उदाहरण के हुन सक्छ – अहिले भोजपुरी सिनेमामा काम गर्ने तीनजना सुपरस्टार भारतको सबैभन्दा ठूलो राजनीतिक दल भाजपाबाट सांसद निर्वाचित भएर संसदमा पुगेका छन् । पहिलो पटक गायक तथा अभिनेता मनोज तिवारी दिल्लीबाट निर्वाचित भएर संसदमा गए । उनी दिल्ली बीजेपीको दिल्ली अध्यक्ष पनि हुन् । त्यसपछि पछिल्लो लोकसभा चुनावमा अभिनेता रवि किशन गोरखपुरबाट संसदमा आएका छन् । त्यति मात्र होइन, गायक तथा अभिनेता दिनेश लाल यादव निरहुआ पनि आजमगढ लोकसभा उपचुनाव जितेर संसदमा पुगेका छन् । यी कलाकार सांसद बन्नुले भोजपुरी क्षेत्रमा भोजपुरी सिनेमाको प्रभाव निकै रहेको र त्यो तीव्र गतिमा बढ्दै गएको पुष्टि हुन्छ । आउनुहोस् यो वर्ष रिलिज भएका चर्चित भोजपुरी फिल्मका बारेमा जानौं :

आए हम बाराती बारात लेके :
आइएमडिबि रेटिङ-९.३
कलाकार- दिनेश लाल यादव निरहुआ, जसविन्दर, संजय महानन्द , संजय पाण्डे तथा अवधेश मिश्रा ।
निर्देशक – विशाल वर्मा

दिनेश लाल यादव आजमगढ लोकसभा क्षेत्रबाट सांसद बनेका छन् । यही कारणले उनको फिल्मको विषयवस्तु पनि परिवर्तन भएको छ । कुनै समय रोमान्टिक र एक्सन फिल्ममा काम गर्ने निरहुआले यो वर्ष सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘आए हम बाराती बारात लेके’ रिलिज गरेका छन् । यसमा द्विभाषी शब्द र अश्लील दृश्यको एक झलक पनि देखिदैन । फिल्ममा ‘दिलवाले दुल्हनिया ले जायेंगे’ र ‘वीर जरा’ जस्ता फिल्मको झलक भने पक्कै देखिएको छ । यसमा छोरीको महत्वलाई व्याख्या गरिएको छ । यससँगै छोरीहरू कहिल्यै कसैभन्दा कम हुँदैनन् भन्ने पनि सिकाइएको छ । आज पनि समाजमा महिलालाई लिएर थुप्रै विकृतिहरु छन् र ती सबै विषय यो चलचित्रमा उठाइएको छ । यो फिल्ममा निरहुआ सँगै जसविन्दर , सञ्जय पाण्डे तथा अवधेश मिश्राले उत्कृष्ट काम गरेका छन् ।

आशिकी :

आइएमडिबि रेटिङ – ८.९

कलाकार-खेसारी लाल यादव, आम्रपाली दुबे, कुणाल सिंह, प्रकाश जैस, पदम सिंह तथा श्रुति राव
निर्देशक-पराग पाटिल

खेसरीलाल यादव भोजपुरीका सुपरस्टार तथा लोकप्रिय कलाकार हुन् । उनका फिल्म र गीतको माग सधैं उच्च रहन्छ । खेसारीलाई भोजपुरी सिनेमाका अक्षय कुमार पनि भनिन्छ किनभने अक्षयले जस्तै उनले पनि वर्षमा ४–५ वटा फिल्ममा काम गर्छन् । यो वर्ष उनका धेरै चलचित्र रिलिज भएका छन्, जुन शीर्ष १० मा परेका छन् । ‘आशिकी’ उनको यो वर्षको उत्कृष्ट चलचित्र मानिएको छ । नायीका आम्रपालीले प्रायः निरहुआका फिल्ममा काम गरे पनि खेसारीसँगको उनको जोडी निकै रुचाइएको छ । यो फिल्ममा रोमान्सका साथसाथै सामाजिक विषयलाई पनि समेटिएको छ । यो चलचित्रले समाजमा छुवाछुत र अन्तरजातीय विवाह जस्ता विषयमा चेतना जगाउने काम गर्छ । बाबा मोसन पिक्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको यो फिल्मको कथा खेसारी आफैले लेखेका हुन् ।

डोली सजा के रखना :
आइएमडिबि रेटिंग- ६.३
कलाकार-खेसारी लाल यादव, आम्रपाली दुबे, रक्षा गुप्ता, विनोद मिश्रा, अनूप अरोडा , समर्थ चतुर्वेदी तथा अयाज खान
निर्देशक-रजनीश मिश्रा

‘डोली सजा के रखना’ खेसरीलाल यादवको यो वर्षको दोस्रो धेरै चर्चामा रहेको फिल्म हो । चाखलाग्दो कुरा के छ भने यसमा उनको अपोजिटमा आम्रपाली दुबे नै छिन् । यो फिल्म सेप्टेम्बर २ मा २५ वटा मल्टिप्लेक्स बाहेक १०० भन्दा बढी थिएटरमा एकसाथ रिलिज भएको थियो । यसले निकै राम्रो प्रतिक्रिया पाएको छ । खेसरी र आम्रपालीको केमेस्ट्रीलाई सबैले रुचाएका छन् । फिल्मको कथा बाबु छोराको सम्बन्धमा आधारित छ । यद्यपि मायाका खातिर छोराले समाजका सबै बन्धन तोडेर मायाको हात समात्छ । यो चलचित्रमा खेसारी र आम्रपालीका साथ रक्षा गुप्ता, विनोद मिश्रा, अनुप अरोडा , समर्थ चतुर्वेदी तथा अयाज खान ने भी कमालको अभिनय गरेका छन । यो फिल्मका प्रोड्यूसर रोशन सिंह हुन ।

दुल्हन लण्डन से लाएंगे :
आइएमडिबि रेटिङ – ८.०
कलाकार-खेसारी लाल यादव तथा मधु शर्मा
निर्देशक-रजनीश मिश्रा

जसरी एसएस राजामौलीलाई साउथ सिनेमामा उत्कृष्ट फिल्म मेकर मानिन्छ त्यसैगरी भोजपुरी सिनेमामा रजनीश मिश्रको छुट्टै स्थान छ । उनले भोजपुरी सिनेमालाई फरक धार दिएका छन् । उनका फिल्मले बक्स अफिसदेखि इन्टरनेटसम्म धमाका मच्चाइरहेका छन् । खेसारीलाल यादवसँगको उनको जोडीले हरेक पटक अचम्मको काम गर्छ । यो वर्ष खेसारीसँग उनको दोस्रो तर सबैभन्दा लोकप्रिय फिल्म ‘दुल्हन लण्डन से लाएंगे’ १३ मे मा रिलिज भएको थियो। यसमा खेसारीसँगै भोजपुरी अभिनेत्री मधु शर्मा र बेलायती अभिनेत्री ग्रेस रोड्सको मुख्य भूमिका छ । फिल्मको कथा सात समुन्द्र पार लण्डनमा आधारित छ ।

यो फिल्मलाई यशि फिल्म्स र जावाबा इन्टरटेनमेन्टले प्रस्तुत गरेको हो भने ए पिक्टोरियल फिल्म प्रोडक्सनले निर्माण गरेको हो । फिल्मका निर्माता अभय सिन्हा, शिवांशु पाण्डे तथा समीर अफताब हुन् । यसको संगीतकार, लेखक तथा निर्देशक रजनीश मिश्रा हुन् ।

हमार स्वाभिमान :
आइएमडिबि रेटिङ – ६.८
कलाकार-पवन सिंह, अन्जना सिंह, डिम्पल सिंह, राम शर्मा, कमल कृष्णा, राखी मिश्रा तथा कमाल कृष्णा
निर्देशक-चन्द्र भूषण मणि

भोजपुरीका पावर स्टार पवन सिंह अक्सर विवादका कारण चर्चामा रहन्छन् तर उनको जीवन उनका गीतसँग मेल खाँदैनन । उनका शत्रुले पनि उनि भोजपुरी सिनेमाका उत्कृष्ट गायक – नायक हुन भन्ने कुरा स्विकार गर्छन् । यो वर्ष पवन सिंहको फिल्म ‘हमार स्वाभिमान’ २८ अक्टोबरमा रिलिज भएको थियो । यसमा पवनसँगै अञ्जना सिंह, डिम्पल सिंह, राम शर्मा, कमल कृष्ण, राखी मिश्रा, वीणा पाण्डे, मन्टु सिंह तथा कमल कृष्णा जस्ता कलाकारको मुख्य भूमिका छ । फिल्ममा पवन सिंहले उत्कृष्ट एक्सन गरेका छन् । अञ्जना सिंहसँगको उनको केमेस्ट्री हेर्न लायक छ । पवन सिंहले फिल्म ‘हमार स्वाभिमान’ आफ्नो य‍ो फिल्मलाइ उत्कृष्ट फिल्म बताउँदै यो कथा मात्र नभई भोजपुरी दुनियाँको आत्मसम्मान बढाउने फिल्म भएको बताएका छन । यो सामाजिक एवं पारिवारिक चलचित्र हो ।

प्रतिक्रिया