पश्चिम नेपालमा पुसे पन्ध्र
काठमाडौं । पुस पन्ध्र तमु(गुरुङ)हरुको नयाँ वर्षको शुभारम्भ हुने दिनको रुपमा मनाइन्छ । मध्यनेपालको अधिकांश भागमा आज जहाँ तमुहरुको बाहुल्यता छ, त्यहाँ ल्होसार हर्षोल्लासका साथ मनाउने गरिन्छ । तर पश्चिम नेपालमा भने यो दिन भिन्न प्रकारले मनाउने गरिन्छ । आजको रात सबैभन्दा लामो हुने बिश्वासमा रात कटाउन गाह्रो हुने भन्दै सबै गाउँले मिलेर आगो ताप्दै नाचगान तथा कथा हालेर कटाउने गर्दछन् ।
बिहानै देखि महिलाहरु मीठो मीठो खाना पकाउन ब्यस्त हुन्छन् । जब रात पर्न थाल्छ, आ-आफ्ना घरमा पकाएका खानेकुरा बोकेर सबै जम्मा हुन थाल्दछन् । पुसे पन्ध्रको लामो रात कटाउन कतै कतै पन्ध्र हाते मुढो बाल्ने गरिन्छ । अन्यथा दाउरा बालेर चारैतिर घेरिएर बस्दछन् । आ-आफ्नो घरबाट ल्याएको खानेकुरा बाँडीचुडी खाने गर्दछन् । नाचगानको साथसाथै यो रातलाई कथा सुनाउने रातको रुपमा पनि लिने गरिन्छ । कथा हाल्न सिपालुले पौराणिक कथा वा लोककथा वा गाउँखाने कथा सुनाएर रात सहजै कटाउने गर्दछन् । यो रात सद्भाव र भाइचाराको पर्वको रुपमा पनि लिइन्छ । केटाकेटीहरुलाई पनि यस रात भेट्ने छुट दिइएको हुन्छ ।
पुस किसानहरुको लागि केही फुर्सदिलो महिना पनि भएको हुँदा जमघट भएर रमाइलो गर्न सहज हुन्छ । समयसंगै पुसे पन्ध्रको जमघट र आगो ताप्दै खानेकुरा बाँडेर खाने क्रम घट्दै गएको छ । कतै कतै बिकृती पनि भित्रीन थालेको छ । कथा सुन्ने र सुनाउने पनि घट्दै गएको छ ।
प्रतिक्रिया