शुक्रबार, जेठ ४, २०८१

मन ठेगानमा भए जीवन नै रमाइलो

विनाेद अधिकारी २०७९ पुष १६ गते १३:२८

काठमाडाैं । मन र अनुभूति मनले अनुभव गर्ने कार्य वा क्रिया अनुभूति हो। त्यहाँ आनन्द, पीडा संवेदना आदि जस्ता भाव हुन्छन्। यथार्थमा मन खुशी हुँँदा जीवन रमाइलो हुन्छ र मन दुखी हुँदा जीवन निरस अनि पट्यार लाग्दो। बुद्धले पनि मनलाई दु:ख वा सुख दुवैको कारण भनेका छन्। त्यसैले जीवनमा मनलाई खुशी बनाउनु पर्दछ। खुशी हुने उपायहरू खोज्नुपर्दछ, किनकी मनलाई जीवनको सर्वोत्कृष्ट उपहार पनि भनिएको छ। यो सर्वशक्तिमान पनि छ। त्यसैले यसलाई दोष मात्र दिनु हुँदैन, बरु यसका गुणहरूको पारख र तिनको अवलम्वन गर्नुपर्दछ ।

मन जीवनको मार्गदर्शक पनि हो। मानिसको व्यवहारमा मनको प्रत्यक्ष प्रभाव हुन्छ। मन जस्तो हुन्छ, व्यवहार उस्तै नै हुन्छ। हाम्रो धर्म शास्त्रले पनि मनले जे सोच्दछ, त्यही बोल्ने र त्यही व्यवहार गर्ने मानिस महात्मा हुन् भनेको छ। मनले एकथोक सोच्ने, मुखले अर्कैथोक बोल्ने र व्यवहारले अर्कै गर्ने दुरात्मा नै मानेको छ। यद्यपि हाम्रो सोच भने असल, जीवनोपयोगी, सर्वजन हिताय र साश्वत हुनुपर्दछ। किनभने सद्भाव, समभाव, स्वच्छता, पवित्रता मनका सर्वोच्च अवस्था हुन्। तिनलाई विराट मन भन्न सकिन्छ। त्यसैले त महाभारतकै अर्को एक सन्दर्भमा महाराज युधिष्ठिर आफ्ना भाइहरूलाई उपदेश दिँदै भन्दछन्– ‘पवित्र मन नै सारा तीर्थभन्दा पवित्र छ।’ यथार्थमा मनको प्राकृतिक स्वरूप चाहिँ पवित्र नै हो। जहाँ घृणा, द्वेष, इर्ष्या, आग्रह, पूर्वाग्रह, अहंकार उच्चता, नीचता आदि जस्ता भावहरू हुँँदैनन् ।

मनको नियन्त्रण: के हाम्राे मन  द्वेष, ईर्ष्या आदि भाव नभएका पवित्र अनि संयमित (ठेगानमा रहेका) छ ? के त्यस्तो बनाउन जरुरी छ ? त्यस्तो बनाउन सकिन्छ त ? अहिलेको समयमा धेरै (प्राय: सबै ?) मानिसका लागि यी अहं प्रश्न हुन्। महाभारतको ‘यक्ष युधिष्ठिर संवाद’ कै प्रसङ्गमा यक्षको– ‘कसलाई वशमा राखे दु:खी हुनु पर्दैन ? भन्ने प्रश्नको जवाफमा युधिष्ठिर भन्दछन् – मनलाई।’ निश्चय नै मनलाई वशमा राख्न, स्थिर बनाउन त्यति सजिलो भने छैन।

गीतामा कृष्ण पनि अर्र्जुनलाई त्यसै भन्दछन्– ‘मन साह्रै, चञ्चल, बलवान् भएकाले यसलाई वशमा राख्नु वायुलाई रोक्नु जत्तिकै दुष्कर (गाह्रो) छ। (चञ्चलं हि मन: कृष्ण प्रमाथि)। तर यो पनि सत्य हो कि, मन अत्यन्त चञ्चल, अस्थिर रहिरहँदा विभिन्न बाधा, व्यवधानहरू निम्तिइरहन सक्छन् र सुख शान्तिको अनुभव गर्न पनि सकिँदैन। त्यसैले जीवनलाई सफल र सार्थक बनाउन मनलाई पवित्र र स्थिर राख्नु, मनलाई जित्नु, यसलाई नियन्त्रण, अनुशासन र ठेगानमा राख्नु जरुरी देखिन्छ।

मनलाई संयमित अर्थात् ठेगानमा राख्ने उपाय : जसले असंगत/असंयमित व्यवहार गर्छ उसलाई हामी सजिलै भन्दछौं – ‘कस्तो मन ठेगान नभएको मान्छे ?’ असंगत व्यवहार गर्दा हामीलाई पनि कहिलेकाहीं कसैले त्यस्तै भन्दा हुन्। त्यसोभए, के मनलाई अत्यन्त चञ्चल हुनबाट रोक्न अर्थात् यसलाई सधैं संयमित वा ठेगानमा राख्न सकिदैन त ? अवश्य सकिन्छ तर यसका लागि तुरुन्तै रोग चट्टै निको पार्नेे कुनै निश्चित ट्याबलेट, क्याप्सुल आदिजस्तो औषधि भने पाइँदैन। अध्यात्मचिन्तकहरू, दार्शनिकहरू यसका विभिन्न उपायहरू बताउँदछन्। आत्मसंयम अर्थात् आफ्ना खराब इच्छाहरूलाई दबाएर नीतिसम्मत आचरण गर्ने कुरा नै मनलाई संयमित राख्ने र सबैले बताएका उपायहरूको सार भएको पाइन्छ ।

नियमित योग, ध्यान मनलाई ठेगानमा राख्ने प्रभावकारी माध्यमहरू मानिएका छन्। त्यसैले यसको नियमित अभ्यासले मनलाई संयमित राख्न मदत पुग्दछ। भागवत् गीतामा बुद्धिलाई मन भन्दा माथिल्लो तहमा राखिएको छ र त्यसले मनलाई ठेगानमा राख्न सक्ने भाव व्यक्त गरिएको छ। हाम्रै जीवनजगतका सामान्य परिदृश्यलाई हेर्दा पनि विभिन्न धर्म, दर्शन, मान्यता आदिको धेरै अध्ययन, मनन, चिन्तन गर्ने विद्वान् मानिसहरू तुलनात्मकरूपमा बढी संयमित देखिन्छन्। यसबाट प्रष्ट हुन्छ कि, कुनै न कुनै असल कुराको अध्ययन र चिन्तन गरिरहँदा मनलाई ठेगानमा राख्न धेरै मदत पुग्दछ। त्यो त्यति असंभव र जटिल कार्य नभएकोले हामी पनि सजिलै त्यसो गर्न सक्दछौं। त्यसबाहेक, तत्काल भन्दा दीर्घकालीन सुखको अपेक्षा, अति महत्वाकाङ्क्षा र पश्चात्ताप भैरहने खालका कामहरूको निवृत्ति (समाप्ति), असल कामप्रतिको एकाग्रता/ निष्ठा, स्वस्थकर खानपान, सुख सुविधामात्र भन्दा पनि जीवनको वास्तविक अर्थ र अस्तित्वको खोजी गर्ने सोच आदि जस्ता कार्यहरू मनलाई संयममा राख्न मदत गर्ने र जीवनलाई सफल बनाउने अन्य प्रभावकारी उपायहरू हुन सक्दछन्। अत: यिनीहरूको अवलम्वन गरौं र मनलाई सधैं संयमित र सर्व शक्तिमान बनाऔं।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया