बिहीबार, असोज २४, २०८१

नयाँ अनुहारको शान्तिपूर्ण क्रान्ति

रुपेश चौलागाईं २०७९ पुष १६ गते १८:००

एक समय थियो राजनीतिमा अवसर पाउन वर्षौं झोला बोकेर हात्तीछाप चप्पल पड्काउँदै हिँड्नु पर्थ्यो, यति वर्ष, उति बर्ष जेल बसें भनेर भन्दै हिड्नु पर्थ्यो, लामा–लामा भाषण सुनाउँनु पर्थ्यो, ताली खाँदै पिर्के सलामी लिनु पर्थ्यो, गुण्डागर्दी, लूटपाट, सामाजिक द्वन्द्व, असमानता, अनियमितता र भ्रष्टाचार गर्न सिक्नै पर्थ्यो । राजनीतिक पार्टीबाट दिक्षित कार्यकर्ताहरुले जानेकै त्यहीँ थियो । पुराना राजनीतिकर्मीहरुले यिनै विशेषता भएकाहरुलाइ अब्बल मान्छन् ।

अहिलेको राजनीतिको मुख्य विकृति भनेकै स्वार्थको राजनीति हो जसले राजनीतिक क्षेत्रलाई नै दूषित बनाएको छ । स्वच्छ प्रतिस्पर्धा राजनीतिको आधारभूत बिशेषता हो । राजनीतिक यात्रामा दलीय सिद्धान्तप्रति निष्ठा, नेतृत्वमाथीको आशा, श्रद्धा, विश्वास र साथ राजनीतिका आधारभूत तत्व हुन् । लगभग दुई दशक देखि दलहरूले राजनीति निष्ठाको झुटा आश्वासन दिदै जनतालाई राजनीतिक भुमरीमा अलमलाइ रहे । गाउँ, समाज, टोल हुदैँ देशनै स्वार्थको राजनीतिमा यसरी होमिएको छ जसलाई तोड्न राजनीतिक परिर्वतनको आँधि तुफान नै आउनु पर्छ ।

पछिल्लो समयमा स्वार्थको राजनीतिले विचार र सिद्धान्तको राजनीतिलाई ओझेलमा पार्दै लगेको सबैले अनुभव गरेकै कुरा हो । हामी कहाँ क्षणिक लाभ र स्वार्थको राजनीति गर्ने अवसरवादी व्यक्ति नै राजनीतिक वृत्तमा अगाडि पर्दै आएका छन् । यस्ता व्यक्तिको राजनीतिक उद्देश्य नै आर्जन गर्ने भएकाले उनीहरू लाभ र हानिमा मात्रै केन्द्रित रहदै आएका छन । यद्यपि अहिलेको राजनीतिमा नयाँ तरंग आएको छ । पढे लेखेका युवाहरुले परम्परागत राजनीतिक विरासतमा राज गर्नेहरु प्रति औंला उठाएका छन् । राजनीतिलाई पेशा व्यवसाय बनाउने नेताहरुलाई अहिलेका स्वतन्त्र युवाहरु विकल्पका रुपमा आएर तरंग नै पैदा गरिदिएका छन् । आजका पुराना र प्रमुख भनिएका राजनीतिक पार्टीहरुको नेतृत्वकै कार्यशैलीले गर्दा राजनीतिमा यस्तो ठुलो छाल आएको हो जसले पुराना राजनीतिज्ञहरुमा एक किसिमको डर त्रास पैदा गरेको छ ।

एमाले, कांग्रेस तथा माओवादीबाट आजित भएका जनताले स्थानीय, प्रदेश देखि केन्द्र सम्मनै राजनीतिमा होमिएका नयाँ अनुहारलाई अवसर दिए । यसको प्रमुख कारण हो । पुराना राजनीतिक पार्टीका गतिविधि प्रति वितृष्णा र नयाँ अनुहार प्रति देखिएको आशा । यसले नेपालमा नयाँ तरंग ल्याएको छ । राजनीतिक पार्टीहरु सिद्धान्त र मूल्यमा चुकेपछि यस्तो परिणाम प्राप्त हुन्छ । अहिलेको राजनीतिक परिस्थिति हेर्दा पार्टीले मात्र विचार, सिद्धान्तको नेतृत्व गर्छ भन्ने जमातले नै राजनीतिमा नयाँ अनुहारलाई साथ दिएको पाइन्छ । यसबाट राजनीतिकको धार समेत मोडिएको छ ।

राजनीतिमा सबैले लोकप्रियता आर्जन गर्न सक्दैनन् किनभने यो सहजै प्राप्त हुने कुरा होइन । यसलाई आर्जन गर्न जति कठिन छ, यसलाई यथावस्थामा संरक्षण गर्न त्योभन्दा बढी कठिन छ । हामिले देखेका छौं सानो त्रुटि वा कमीकमजोरीले चुलिएको लोकप्रियता धरासायी बन्नपुग्छ । राजनीतिज्ञले सामूहिक स्वार्थलाई महत्व नदिए , देश र जनताप्रतिको आफ्नो दायित्व वहन नगरे तथा स्वार्थलाई बढावा दिए उसको राजनीतिक यात्राको अन्त्य हुन्छ ।

देशको राजनीतिक अस्थिरता हेर्दा वा राजनीतिक दललाई सबक सिकाउन जनतामा राजनीतिक चेतनाको विकास अपरिहार्य नै थियो । अहिले जनता राजनीतिको फोहोरी खेल बुझ्ने गरि शिक्षित भएका छन् । मुलुकको राजनीतिले कोल्टे फेरिसकेको छ । अहिलेका अधिकतम नेता वा राजनीतिकर्मीहरु हेर्दा के बुझिन्छ भने राजनीति कमाउन सहज, नेताभक्ति भए कारबाहीमै पर्नु नपर्ने, नेताबाटै संरक्षित भइने, समाजमा सबैको मान्य बन्न सकिने, इज्जत र प्रतिष्ठा नै बढ्ने क्षेत्र हो । त्यसैले कतिपय व्यक्तिले राजनीतिलाइ पेशा नै बनाए । यो मानसिकतामा राजनीतिमा लाग्ने व्यक्तिमा निष्ठा होइन, स्वार्थ हावी हुन्छ । यस्तै व्यक्ति शीर्षस्थ नेता रिझाउन खप्पिस हुन्छन् । उनीहरू नेताको नजरमा विश्वासीला पात्र बन्छन् । नैतिकवान् र इमानदार व्यक्तिभन्दा यस्तै अवसरवादी व्यक्तिहरू चाँडै सत्तामा पुग्छन् ।

पाका र राजनीति दलका शिर्ष नेताको कार्यशैलीबाट आजित जनता नयाँ अनुहारबाट परिवर्तन हुने कुरामा आषाबादि छन् । मुलुकलाई समृद्धि, सुशासन र सफल बनाउन उनीहरूले केही गर्छन भन्ने विश्वास हालै सम्पन्न भएको प्रतिनिधिसभा र केही महिना अगाडि भएको स्थानीय तहको चुनावको मत परिणामबाट प्रष्टै देखिएको छ । आजका प्रायःयुवाले ‘स्वतन्त्र’ हुनु भनेको मुलुकको आधुनिक विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय जस्ता मुद्दाहरुमा सन्तुलित भएर अघि बढनु हो भन्ने बुझेको छ र हो पनि । शान्ति, शुसासन एवं सुव्यवस्था आजको आवश्यकता हो ।

देशको राजनीतिक क्रियाकलाप्रति शिक्षित युवा वर्गमा एक किसिमको निराशा छ । तर अहिले नेपाली राजनीति निराशालाई आशामा बदल्ने मोडमा पुगेको छ । यो एक किसिमले राजनीतिक रुपान्तरण नै हो । भनिन्छ, हरेक दश वर्षमा नयाँ पुस्ता आउँछ, त्यही पुस्ताले समाजलाई ताजा दिशा प्रदान गर्न सक्छ । त्यही पुस्ताले नै विकल्प खोजेर हिँड्छ । परिवर्तनका संवाहक र देशका कर्णधार स्वतन्त्र युवाहरुको यो बढदो प्रभावमा विवेकी मतदाताले नै मुख्य निर्णायक भुमिका निर्वाह गर्छन् ।

रुपेश चौलागाईं

चौलागाईं नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया