नेपाल टी २० लिग क्रिकेटमा जनकपुरको चौथो जित
काठमाण्डौं । जनकपुर रोयल्सले काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेट प्रतियोगितामा चौथो जित दर्ता गरेको छ । चौथो जित दर्ता गर्नेक्रममा जनकपुरले विराटनगर सुपर किंग्समाथि ४९ रनको जित दर्ता गर्यो ।
१९० रनको लक्ष्य पन्छाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १४० रन मात्रै बनाउन सक्यो । उसका हुसैन तलतले ४२, प्रदीप ऐरीले अविजित ३६, गौरन्सु शर्माले ३३ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।
जनकपुरका लागि समिउल्लाह शिनवारीले ३,ललित राजवंशीले २ विकेट हात पारे । त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १८९ रन बनायो ।
जसमा समिउल्लाह शिनवारीले अविजित ७८ रनको योगदान गरे । विराटनगरका सुर्य तामांगले २ विकेट लिए ।
जितसंगै जनकपुरले चारखेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा कायमै रहेको छ । विराटनगरले भने पाँच खेलमध्ये २ मात्रै जितेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा गत शनिबारदेखि सञ्चालन भएको नेपाल टी २० लिगमा ६ टिमको सहभागिता रहेको छ ।
पहिलो हुने टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।
प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् ।
यसका साथै इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।
प्रतिक्रिया