संसारभर तीब्र सहरीकरण

नयाँ वर्ष – २०२३ सुरु भैसकेको छ । विगतका वर्षहरूमा बिश्वले धेरै नयाँ कीर्तिमानहरू बनाएको छ भने भविष्यमा अझ धेरै ठूला समस्या तथा चुनौतीहरू सामना गर्न पनि बाँकी नै छ । अहिले विश्वमा धेरै ठूला समस्याहरू छन्, जसमध्ये एउटा हो – बढ्दो जनसंख्याको समस्या । सहरी जनसंख्याको कुरा गर्ने हो भने हाम्रो काठमाडौं उपत्यकाको जनसंख्या ६० लाखको हाराहारीमा भएको अनुमान गरिन थालेको छ ।
सबैभन्दा बढी सहरी जनसंख्या भएको राजधानि वा सहर भने टोकियो हो । यद्यपि के भनिदैछ भने वर्ष २०३० सम्ममा भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा सहरी जनसंख्या यति बढ्नेछ कि त्यसले जापानको टोकियोलाई पनि पछाडि छोड्नेछ। अहिले बढी जनसंख्या भएको सहरमा दिल्ली-एनसीआर दोस्रो नम्बरमा आउँछ । संयुक्त राष्ट्र संघले जारी गरेको तथ्यांक अनुसार सन् २०३० सम्ममा दिल्ली एनसीआरको जनसङ्ख्या ३ करोड नाघ्ने छ ।
त्यससँगै टोकियो र सांघाई जस्ता सहर पनि ३ करोड भन्दा बढि मानिस बस्ने सहरको सूचीमा सामेल हुनेछन । यो सुचिमा त्यस पछि मेक्सिको सिटी, साओ पाउलो, ढाका, कायरो, मुम्बई, बेइजिङ तथा किन्हासा जस्ता सहर हुनेछन् जहाँको जनसंख्या २ देखि ३ करोड हुनेछ । संयुक्त राष्ट्रको यो तथ्याङ्कले विश्वले तीव्र गतिमा सहरीकरणलाई अपनाइरहेको देखाउँछ ।
सन् १९५० को कुरा गर्ने हो भने विश्वमा ७६ वटा सहर मात्र थिए जसको जनसङ्ख्या १० लाखभन्दा बढी थियो भने सन् २०३० सम्ममा यस्ता सहरको सङ्ख्या बढेर ७ सय ६ पुग्नेछ, जसमध्ये १ सय ७३ सहर चीनका मात्र हुनेछन् । जनसंख्या बृद्धि सम्बन्धी संयुक्त राष्ट्रसंघको यो प्रतिवेदनले विश्वको बढ्दो जनसंख्याका बारेमा सबैलाई सोच्न बाध्य बनाउँछ । प्रतिवेदनमा सन् २०३० सम्ममा विश्वको जनसंख्या ८ अर्ब ५ करोड पुग्ने र सन् २०५० सम्ममा ९ अर्ब ७ करोड पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया