शुक्रबार, वैशाख २८, २०८१

विद्युतीय सवारीको मागमा कीर्तिमानी वृद्धि

नेपालखोज २०७९ पुष १८ गते ११:१५

काठमाडाैं । सन् २०२२ इलेक्ट्रिक सवारीका लागि उत्कृष्ट मानिएको छ । पेट्रोल र डिजेलको मूल्य लगातार बढ्दै गएपछि मानिसहरु पनि विद्युतीय सवारी साधनतर्फ आकर्षित हुन बाध्य भएका छन् जसका कारण दुई पाङ्ग्रे ई-बाइक र ई-स्कुटरको माग तीव्र गतिमा बढेको छ। यहि समयमा टाटा, महिन्द्रा जस्ता ठूला अटो कम्पनीले कम्प्याक्ट एसयूभी र सेडानमा इभीको विकल्प उपलब्ध गराएपछि चार पाङ्ग्रे सवारीसाधनको बिक्री तीव्र गतिमा बढ्यो।


विद्युतीय सवारी साधनको बजारको बृद्धि यो तथ्यबाटै अनुमान गर्न सकिन्छ कि सन् २०२० मा भारतमा विद्युतीय सवारीको बजार करिब ५ बिलियन युएस डलरको थियो जुन सन् २०२६ सम्ममा ४७ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । यो बजार वर्ष २०२१ देखि २०२६ सम्म ४४ प्रतिशत भन्दा बढीले बढ्ने अनुमान गरिएको छ । यता एकाध ई–स्कुटरमा आगलागीको घटनापछि कतिपय भने सुरक्षाको चिन्ताले पिरोलिएका छन । जसका कारण आगामी दिनमा अटो कम्पनीहरूले सेफ्टी फ्रन्टमा बिशेष काम गर्नुपर्नेछ।

लोहिया अटोका सीईओ आयुष लोहियाले ईभी उद्योगको द्रुत बृद्धिमा सरकारी पहल तथा नीतिहरूको ठूलो भूमिका रहेको बताए। ईभी उद्योगलाई प्रोत्साहित गर्न भारतमा सरकारले उपभोक्ता र उत्पादक दुवैलाई बिशेष सुबिधा उपलब्ध गराएको छ । यसले गर्दा पनि विद्युतीय सवारीसाधनको बिक्री बढेको छ । अहिले कार्बन उत्सर्जन कम गर्न ई-वाणिज्य कम्पनीहरू (जस्तै अमाजोन) ले डेलिभरीका लागि ई-मोबिलिटी अपनाउन थालेका छन्। विद्युतीय इन्टरसिटी बसहरूको प्रयोग समेत बढेको छ । यसले विद्युतीय सवारी कम्पनीलाई ठूलो बजार दिएको छ । आगामी दिनमा यसमा अझ तीव्रता आउने अपेक्षा गरिएको छ । यसको फाइदा सानादेखि ठूला विद्युतीय सवारी साधन बनाउने कम्पनीहरुले पाएका छन् । चार्जिङ स्टेसनको सञ्जाल स्थापनासँगै यो मागमा थप तीव्रता आउने अपेक्षा गरिएको छ ।

कोमाको इलेक्ट्रिक भेहिकल डिभिजनका निर्देशक गुञ्जन मल्होत्राले एक टिभी अन्तरवार्तामा सन् २०२२ भारतका लागि विद्युतीय र हरित मोबिलिटीको वर्ष भएको बताएका छन । अहिले इभि लाई सहजताका साथ स्वीकार गर्ने वातावरण तयार भएको छ भने उत्पादकहरुमा उच्च क्षमताका विद्युतीय सवारी साधन निर्माण गर्ने क्षमता पनि बढदै गएको छ । यस्तो अवस्थामा सरकारि प्रोत्साहन एवं आधुनिक प्रविधिका कारण सन् २०२३ मा विद्युतीय सवारीका मोडलको संख्या, चार्जिङ स्टेसन तथा विक्रि प्रणालीमा धेरै सुधार हुने आषा गर्न सकिन्छ । भारतमा चार्जिङ पूर्वाधारलाई मजबुत बनाउन इभी चार्जिङ स्टेशनहरूको लाइसेन्स हटाउने निर्णय गरिएको छ । यसबाट आगामी वर्ष चार्जिङ पूर्वाधार थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

एक अनुमान अनुसार २०२३ सम्ममा भारतको ईभी बजार २ अर्ब डलरको हुनेछ भने २०२५ सम्ममा भारतीय बजारमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको विकासको अपार सम्भावना छ । हाल, भारतका राजमार्गहरूमा केवल १ प्रतिशत ई-टू-व्हीलर देखिन्छन् , जुन २०२५ सम्ममा १५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।

कस्तो रहला वर्ष २०२३ :

भारतीय सडकमा विद्युतीय सवारी साधन २०२३ मा २२ लाख , २०२४ मा ३९ लाख , २०२५ मा ५६ लाख , २०२६ मा ७५ लाख तथा २०२७ को अन्त्यसम्ममा ९ .१ मिलियन पुग्ने अपेक्षा गरिएको छ । २०२७ सम्म सबै किसिमका इभीको बिक्री ६८ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । यसले आगामी वर्षहरूमा विद्युतीय सवारी उद्योगका लागि राम्रो र महत्त्वपूर्ण बजार उपलब्ध हुने देखाउँछ।
२०२३ का साथै आउने वर्षहरुमा सार्वजनिक चार्जिङ स्टेशनको आवश्यकता अझ बढनेछ ।

प्रतिक्रिया