पालिकाले निर्णय गरेको ६ महिनापछि भाडादर कार्यान्वयन

बझाङ । खप्तडछान्ना गाउँपालिकाले पालिकाभर चल्ने जीपको भाडादर ६ महिनापछि कार्यान्वयमा ल्याएको छ । गत असारमा गरेको भाडादरको निर्णय सोमबार अपराह्नदेखि कार्यान्वयनमा ल्याएको हो ।
सोमबार बिहान राष्ट्रिय समाचार समिति (रासस) मार्फत देशभरका मिडियामा ‘१५ किलोमिटर सडकमा पाँच सय ५० रुपैयाँ गाडी भाडा’ शीर्षकको समाचार प्रकाशन भएपछि सोमबारदेखि नै छ महिना पहिलेको निर्णय कार्यान्वयन गरेको हो ।
गाउँपालिकाले अध्यक्ष उत्तम रोकाया र उपाध्यक्ष विष्णु थापासहितको उपस्थितिमा आर्थिक वर्ष २०७९/०८० को गाउँसभाबाट विसं विसं २०७९ असार ९ गते र १० गते बसेको बैठकले नयाँ गाडी भाडादर कायम गरेको थियो । पेट्रोलको मूल्य बढेको, बाढीले सडक अवरूद्ध गरेको भन्दै नयाँ भाडादर लागू गरिएको थिएन ।
गाडी भाडाको विषयलाई लिएर समाचार प्रकाशित भएपछि सोमबारदेखि नै असारको बैठकले तोकेको भाडादर कार्यान्वयन गरेको खप्तडछान्ना-४ का पुष्पराज रोकायाले बताए । नयाँ भाडा दरअनुसार तमैलदेखि गोटखोलाको ७५ रूपैयाँ, खोलामोरासम्म ९० रुपैयाँ, कुचेखोला एक सय रुपैयाँ, ऐँचेलीबगर एक सय २५ रुपैयाँ, छेलोउचाउने एक सय ५० रुपैयाँ, पसलबगर एक सय ६० रुपैयाँ, घाँटखोलाको एक सय ७५ रुपैयाँ, कालुखेती दुई सय २५ रुपैयाँ, छात्रवष्ठी दुई सय ९० रुपैयाँ, भालुवाङ तीन सय २० रुपैयाँ र गडराडसम्मको तीन सय ९० रुपैयाँ तोकिएको निर्णय कार्यान्वयन आएको हो ।
त्यस्तै तमैलदेखि निमसम्म एक सय २५ रुपैयाँ, जिमकोटको एक सय ५० रुपैयाँ, पुरानीको एक सय ७५ रुपैयाँ, खत्रीवाडाको दुई सय रुपैयाँ, सिल्कावाडाको दुई सय ५० रुपैयाँ, सिप्टिकोटको दुई सय ७५ रुपैयाँ र लम्तडा सम्मको तीन सय रुपैयाँ तोकिएको प्रहरी सहायक निरीक्षक सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
पन्तका अनुसार भाडाको विषयलाई लिएर देशभर समाचार प्रकाशन भएपछि आजैदेखि नयाँ भाडादर कायम गरिएको हो । उनले भने, ‘भाडाको विषयमा पहिले नै निर्णय भएको रहेछ, आज समाचार प्रकाशन भएपछि जिल्लाबाट नयाँ भाडादर कायम गराउनुभन्ने आदेश आयो र अहिलेदेखि नै नयाँ भाडादर कायम गराएका हौँ ।’
अब तोकिएको भन्दा बढी कसैले भाडा लिएमा कारबाही गर्ने उनले बताए । ‘अब तोकिएको भन्दा बढी भाडा कसैले लिने छैन । यदि उक्त भाडादरभन्दा बढी भाडा असुल गरेको खण्डमा प्रहरी चौकी छान्ना बझाङको सीयूजी नम्बर ९८५८४८८२४१ मा सम्पर्क गर्न अनुरोध गरेका छौँ’, उनले भने । -रासस

प्रतिक्रिया