लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद माओवादी केन्द्र प्रवेश

काठमाडौं । लुम्बिनी प्रदेशसभाका स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित पुनमगर बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसद पुन मगरलाई पार्टी प्रवेश गराएका हुन् । पुन मगरले मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा रोल्पाबाट पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
माओवादीले रोल्पा (२)बाट तत्कालीन चुनावी गठबन्धनबाट कांग्रेसमा अमरसिंह पुनलाई उम्मेदवार बनाएको थियो । जसको विरुद्धमा माओवादीका तत्कालीन पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर पुनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनी स्वतन्त्र उम्मेदवार बनेपछि माओवादीले पार्टीबाट निष्कासन गरेको थियो । पुन मगरले माओवादी अध्यक्ष दाहाललाई आत्मालोचना पत्र बुझाएर पुनः पार्टी प्रवेश गरेका हुन् ।
प्रतिक्रिया