पीडा !
नाइँ नाइँ भन्दा भन्दै अनुराधाको सानै उमेरमा विवाह भएको थियो । केटा कस्तो छ? भनेर सोद्धा सबैले` असल , जेहनदार ,पौरखी यस्तै विशेषण लगाएर व्याख्या गरेका थिए । बाबुआमाले अनुराधाको बिहे छोरीको खुशीको लागि भन्दा पनि आफूले धर्म कमाउनका लागि गरिदिएका थिए। बिहेमा राम्रो नाना , गहना पाएर अनुराधाको मनमा साच्चैको खुशी र उमङ्ग थियो । अठार नकट्दै तिनी तीन सन्तानका आमा बनिन् ।
कम उमेरको कारण बिहे दर्ता भएको थिएन , नत सन्तानको जन्म दर्ता नै भएको थियो । अझ उनलाई नागरिकतामा उमेर सच्याउने समस्याले झेल्यो । अनुराधाको कान्छो सन्तान गर्भमा भएकै बेला , एकअर्काप्रति माया घोलिन नपाउँदै , श्रीमान रोजगारीको लागि विदेशतिर लागे । एक्लो हुँदाको अनेकन् पीडामा कैयौँ रात खुला आकाशमा छरिएका तारा गनेर गुजारिन् ।
यसबीच उनलाई बाँझाघरे कान्छाले भने, ” तातो न छारो ! कति पर्खेर बस्छौ आकाशमा उडेको जहाज हेरेर ? बरू मसँग हिंड बैंस छदै ! ” उनलाई उकास्न खोज्नेहरूको कमी थिएन । तर उनले उम्लेको मुटुको धड्कनलाई मस्तिष्कको भारले थिचेर राखिन्। खोला फिरेझैं बाह्र वर्षपछि श्रीमान् घर आए । अनुराधाको रमाएको मनमा उत्साहसँगै जिज्ञासाहरू उब्जिए । नउब्जिउन पनि किन, आधा उमेर लोग्नेको प्रतीक्षामा बितिसकेको थियो । तर श्रीमानको अनुहारमा खुशीका रेखाहरू थिएनन् ।तिनी थकित देखिन्थे ।
अनुराधाले तिनको अनुहार राम्ररी नियाल्न नपाउँदै तिनी निद्रादेवीको शरण लिन पुगे ।अनुराधाको रात छट्पटीमै बित्यो । बिहान अबेरसम्म अनुराधाका आँखा उघ्रिएनन् । उठ्दा उनको आँगनमा निकै मानिसहरूको जमघट थियो । उनको मनमा पाहुनालाई चिया ख्वाउनु पर्ने सोच आयो । यता श्रीमानको काखमा एउटा बालक र नजिकै एक अपरिचित महिला थिई । तिनका श्रीमानले उपस्थित मानिसहरूलाई भन्दै थिए,” यो मेरो पहिलो बिहे हो … दोस्रो होइन ।” विराटनगर – १०
प्रतिक्रिया