बुधबार, जेठ २, २०८१

कता गए पाटि पौवा ?

सुनील उलक २०७९ पुष २३ गते ११:४१

दोवाटो तथा चौबाटोहरूमा बटुवालाई विश्राम गर्न तथा बास बस्न सहज होस् भनेर पौवा तथा पाटी बनाउने चलन थियो । समय कालसंगै त्यस्ता पौवा या त सरकारी संयन्त्रले विभिन्न कारण देखाएर भट्काइए या ब्यक्तिले आफ्नो ब्यक्तिगत सम्पति बनाए । पोखरामा पनि बिभिन्न स्थानमा रहेका पाटी पौवाहरूमा अहिले ब्यक्तिगत आलिसान महलहरू ठडिएको म आफैले देखेको छु भने हामा अग्रजहरूले अझ बढी थाहा पाउनु भएको हाेला ।

बिन्ध्यवासिनी क्षेत्रमा रहेका पौवा, नदिपुरको पौवा, न्यूरोड बी.पी. चौकको पौवा, गणेश टोलमा रहेको पौवा, नालामुख चौकको पौवा, रानीपौवाको पौवा यि म आफैले देखेका पौवाहरू हुन । तर आज कुनै पनि भेटिदैन । कुनै सडक बिस्तारले खाए भने कुनै ब्यक्तिले खाए । साथमा राखिएको तस्विरहरु सोहखुट्टे पाटी काठमाडौको हो । यो केही वर्ष अगाडी सम्म दुरावस्थामा पनि अवशेष बाकी रहेको यो पाटी अहिले सडक बिस्तारको नाममा हाल निमिट्यान्न पारिएको छ ।

वि.सं. १८४५ को कार्तिकमा काजी बलभद्र शाह मातहतका कपर्दार भोटु पाँडे भोट सैनिकको कैदबाट मुक्त भएर आएपछि २० रोपनी जग्गा सहित पाटी बनाइदिएका थिए । चारैतिर चार/चारवटा ठूला ठूला काठका खम्बा खडा गरी सोह्रवटा खुट्टाको टेकामा ठड्याइएको पाटी भएकोले सोह्रखुट्टे पाटी भन्ने गरिन्थ्यो । यस्तै पाटी भोटु पाँडेले पनौतीमा पनि बनाइदिएका थिए । तर हाल दुवै पाटीको अस्तित्व छैन । बि.सं. २०७१ सालमा सडक बिस्तारको नाममा रातारात सडक बिभागले यसलाई भत्कायो ।

जनताको बिरोध तथा पुरातत्व विभागको विरोध पछि सडक बिभागले पुरानै स्थानमा बनाउने भनेर बजेट छ्ट्ट्याएको भनिए तापनि बेवास्ता गरिएको छ । पाटी नजिकै रहेको गाँ हिटी पनि बिलुप्त बनाइएको छ । पुरानो पाटी रहेको स्थानमा नै बनाउन सकिने भनिएको पनि धेरै भयो तर हालसम्म पनि बनाइएको छैन । बिकसित मुलुकमा पुरानो राजधानीलाइ सांस्कृतिक राजधानीको रूपमा संरक्षित गराइ नया राजधानीको रूपमा नया स्थानको राजधानीको बिकास गर्ने गरिन्छ । तर हाम्रो मुलुकमा पुरानो राजधानीलाइ बिकासको नाममा बिनास गरेर राजधानीलाइ अत्याधुनिक बनाइन्छ ।

भारतमा कलकत्ताबाट राजधानी दिल्ली सारिए पनि पुरानो दिल्ली भन्दा नया दिल्लीको रूपमा छुट्टै राजधानी बनाइयो । जापानमा क्योटोलाइ संरक्षित गराएर टोक्योलाइ राजधानी बनाइयो । अन्य उदाहरणको रूपमा अर्नेन्टिना, ब्राजिल, रूस, तान्जानिया, कजाकिस्तान तथा नाइजेरिया इत्यादि देशले राजधानी परिवर्तन गराएका थिए । तर दुर्भाग्य नेपालमा यसकाे बिपरित भएको छ । सडक बिस्तारको नाममा कतिपय पुरातनवासीहरू बिस्थापित हुन बाध्य बनाइएको छ ।

प्रतिक्रिया