शनिबार, असोज २६, २०८१

विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित : विश्व बैंक

नेपालखोज २०७९ पुष २७ गते १६:२४

काठमाडौं । विश्व बैंकले विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने बताएको छ । विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने विश्व बैंकको प्रक्षेपण छ ।

सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो संकेत गरेको हो । विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ । यो विश्व बैंकले ६ महिना अगाडि गरेको प्रक्षेपणको तुलनामा धेरै कम हो । त्यसबेला अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान थियो ।

नेपालबारे विश्व बैंकको प्रक्षेपणमा भने परिवर्तन गरेको छैन । दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष नेपाल भन्दा माथि माल्दिभ्स, भारत र बंगलादेशको आर्थिक वृद्धि राम्रो रहने छ । श्रीलंकाको आर्थिक वृद्धिदर भने ऋणात्कम रहने विश्व बैंकको अनुमान छ । विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा अहिले रुस–युक्रेन युद्धको प्रभाव बाँकी नै छ । यसले उर्जा र खाद्यान्नको मूल्यमा चर्को चाप परिरहेको विश्व बैंकले जनाएको छ । जसले गर्दा यस भेगका केन्द्रीय बैंकहरुले वित्तीय स्थितिलाई कडाई गर्नुपर्ने बाध्यता देखिएको छ ।

भारतलाई उत्पादन क्षेत्रका माध्यमबाट आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ । माल्दिभ्सलाई पर्यटनमा देखिएको पुनरुत्थानले सहयोग पुग्ने प्रक्षेपण रहेको छ । बंगलादेशमा उर्जा संकटका कारण समस्या गहिरिन सक्ने अनुमान गरिएको छ । अफगानिस्तानलाई विदेशी सहायता रोकिएका कारण समस्या गहिरिएको देखिएको छ । नेपाल, माल्दिभ्स र भारतको अर्थतन्त्र यस भेगमा केही हदसम्म स्थिर देखिएको छ ।

विश्व अर्थतन्त्रको सन्दर्भमा भने अमेरिका, युरोपेली मुलुक र चीनको अर्थतन्त्र संकटमा जाँदा त्यसले विश्वभरकै अर्थतन्त्रमा मन्दी छाउने अवस्था देखिएको हो । सन् २०२३ मा अमेरिकाले ०.५ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुनेछ । जहाँ की सन् २०२१ मा अमेरिकाको जीडीपी ५.३ प्रतिशतले बढेको थियो । चीनले सन् २०२३ मा ४.३ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ । सन् २०२१ मा उसको वृद्धिदर ८.१ प्रतिशत थियो ।

विगत दुई दशकमा आर्थिक वृद्धिदरमा आएको तीव्र गिरावटले विश्वव्यापी मन्दीको पूर्वचित्रण गरेको विश्व बैंकले चेतावनी दिएको छ । साथै बैंकले मन्दी तीव्र तथा लामो समयसम्म चल्ने पनि अनुमान गरेको छ । यदि यो वर्ष विश्वव्यापी आर्थिक मन्दी आयो भने, सन् १९३० पछि एउटै दशकमा दुईवटा विश्वव्यापी मन्दी आएको यो पहिलो पटक हुनेछ ।

उच्च मुद्रास्फीति विश्वव्यापी अर्थतन्त्र संघर्ष गर्नुको मुख्य कारण हो । रूस–युक्रेन युद्धले खाद्यान्न आपूर्तिमा ठूलो धक्का परेको छ । यसै युद्धका कारण पश्चिममा देशहरू रुसी फोसिल इन्धनबाट टाढा धकेलिन पुग्यो । जस कारण गत वर्ष विश्वभर खाद्यान्न र ऊर्जाको मूल्य बढ्न पुग्यो । अहिले भने यी दबाबहरूमा केही सुधार आएसँगै विश्व बैंकले मूल्यवृद्धिको विश्वव्यापी गति गत वर्षको ७.६ प्रतिशतबाट यो वर्ष ५.२ प्रतिशतसम्म कम हुने अपेक्षा गरेको छ ।

यस वर्ष खाद्यान्न तथा बालीको मूल्य पनि पाँच प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ। यद्यपि यो मूल्य केही वर्ष अघिको तुलनामा उल्लेखनीय रूपमा उच्च हुने बताइएको छ । गत वर्ष बालीको मूल्य १३ प्रतिशतले बढेको थियो । केही सुधारका बाबजुद विश्व बैंकले मुद्रास्फीति सामान्यतया स्वस्थ मानिने २ प्रतिशत दर भन्दा माथि रहने अनुमान गरेको छ । मुद्रास्फीतिलाई नियन्त्रण गर्न अमेरिका र बेलायत लगायत दर्जनौं देशहरूमा केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेका छन् ।

विश्व बैंकका अनुसार उच्च ब्याजदरले व्यवसायिक लगानीलाई बाधा पुर्याएको छ भने कैयौं कम्पनीहरूले ऋणका कारण संघर्ष गरिरहेका छन् । विकासोन्मुख अर्थतन्त्र भएका देशहरु पनि अमेरिकी ब्याजदरका कारण संकट तर्फ धकेलिरहेका छन् । धेरै विकासोन्मुख राष्ट्रका अर्थतन्त्रले अमेरिकी डलरमा कर्जा लिने हुँदा आर्थिक चपेटामा परिरहेका छन् । गरिब देशहरूको ऋणलाई सम्बोधन गर्न र अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उपायहरू पनि बैंकले बताएको छ ।

प्रतिक्रिया