निलम्बित कप्तान सन्दीप धरौटी बुझाएर रिहा भए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको आदेशअनुसार आज (शुक्रबार) लामिछाने रिहा भएका हुन् ।
अदालती प्रक्रिया सकिएसँगै २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् । रिहाइको लागी उनलाई केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले उनलाई विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का राख्ने, आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने, पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने, आदेश पालना भए-नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे धरौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने कडा सर्त सुनाएको छ ।
उच्च अदालत पाटनले पीडकसँग यथेष्ट बयान नलिईकन हिरासतमा राख्न आदेश दिएको भन्दै बेरित भएको उल्लेख गरेको छ । आज हिरासतबाट मुक्त हुनुअघि लामिछानेको स्वास्थ्य परीक्षण गरिने भएको छ । तीन महिनाभन्दा बढी समय हिरासतमा बस्नुपर्दा लामिछानेमा मानसिक समस्या देखिएको बताइएको छ । अब उनले क्रिकेट खेल खेल्नसमेत पाउने भएका छन् ।
प्रतिक्रिया