काठमाण्डौं महानगर : संशोधित बजेट नगरसभामा पेश

काठमाण्डौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजारको संशोधित बजेट नगरसभामा पेश गरेको छ ।
कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा शुक्रबारबाट सुरु भएको नगरसभामा उपप्रमुख सुनिता डङ्गोलले उक्त संशोधन प्रस्ताव पेश गरेकी हुन् । चालु आवका लागि स्वीकृत रु चार अर्ब ३६ करोड ७१ लाख सात हजार बजेटका कार्यक्रमलाई संशोधनमा लागिएको हो । कामपाले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो ।
सभामा लेखाप्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिकी संयोजक गायत्री पुडासैनीले आव २०७७÷७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भएको जानकारी दिइन् । त्यस आवमा बेरुजु देखिएको रु एक अर्ब सात करोड १२ लाखमध्ये प्रारम्भिक प्रतिवेदनको माध्यमबाट रु ३७ लाख ८१ हजार फस्र्यौट भएको छ । सभामा विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जनले विधेयक तथा संशोधन गर्नुपर्ने ऐन सम्बन्धी प्रस्ताव पेश गरेका थिए । यसरी पेश भएका दुई विधेयकमा नगर प्रहरी र सार्वजनिक निजी साझेदारी तथा लगानीसम्बन्धी छन् ।
संशोधन गर्नुपर्ने बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, कर्मचारीको सेवा सर्तसम्बन्धी ऐन, २०७७ र आर्थिक ऐन २०७९ संयोजक महर्जनले पेश गरे । पेश भएका विधेयक तथा ऐनको दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ । समितिले यी दस्तावेज नगरसभाको आगामी बैठकमा पेश गर्नेछ ।
सभामा सुशासन समितिका संयोजक एवं वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले कामपाको सङ्गठन संरचना, दरबन्दी संरचना र केही पद नामको कार्य विवरण संशोधनसम्बन्धी प्रस्ताव पेश गरेका थिए । स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ को दफा ५ उपदफा १ बमोजिम प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति र सुशासन समितिको निर्णयका आधारमा संयोजक तिवारीले प्रस्ताव पेश गरेका हुन् ।

प्रतिक्रिया