बिहीबार, वैशाख १३, २०८१

ब्ल्याक बक्स भेटियो, कसरी खोजिन्छ दुर्घटनाको कारण ?

नेपालखोज २०७९ माघ २ गते १५:२९

काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विमान दुर्घटनाको छानबिन गर्न गठित छानबिन समिति सोमबार बिहान दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स लिन पर्खिरहेको थियो किनभने दुर्घटनास्थलमा ब्ल्याक बक्स फेला परिसकेको थियो ।


दुर्घटनामा परेको यति एयरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याकबक्स फेला परेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, ‘विमानको ब्ल्याक बक्स फेला परेको छ । विमानको पछाडिको भाग हिजो भेटिएको थिएन, तर सोमबार फेला पर्यो । यसले विमान दुर्घटनाको कारण पत्ता लगाउन मद्दत गर्नेछ।


विमानको पछाडिको भागमा ब्ल्याक बक्स राखिएको हुन्छ । छानबिन समितिका सदस्य सचिव बुद्धिसागर लामिछानेले बीबीसीलाई बताए अनुसार, ‘ब्ल्याक बक्सले दुर्घटना हुनुअघि विमानको अवस्था कस्तो थियो, विमानको कुन भागको सङ्केत के थियो भन्ने कुरा बताउँछ । के अचानक कुनै गल्ती गरेका कारण दुर्घटना भएको हो ? देखि लिएर ब्ल्याक बक्सले दुर्घटनाका लागि बाह्य कारणहरू जिम्मेवार थिए वा आन्तरिक कारणले गर्दा भन्ने रहस्य खुलासा गर्नेछ।” विमानको ब्ल्याक बक्समा फ्लाइट डाटा रेकर्डर तथा ककपिट भ्वाइस रेकर्डर दुवै हुने भएकाले अनुसन्धानमा यो निकै महत्वपूर्ण मानिन्छ ।

के हो ब्ल्याक बक्स र यसले कसरी काम गर्छ ?

ब्ल्याक बक्स भनिए पनि विमानको पछाडिको भागमा राखिएको यो इलेक्ट्रोनिक उपकरणको आवरण गाढा सुन्तला रंगको हुन्छ। सुन्तला रंगको भएकाले गर्दा विमान दुर्घटना हुँदा झाडीमा वा कतै धुलोमा परे पनि यसलाई टाढैबाट देख्न सकिन्छ। एक दर्जनभन्दा बढी विमान दुर्घटनाको अनुसन्धानमा संलग्न एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनले बीबीसी सँगको कुराकानीमा भनेका छन , ‘विमानमा सबैभन्दा कम क्षति हुने भाग भएकाले यसलाइ विमानको पछाडिको भागमा जडान गरिन्छ। “


ब्ल्याक बक्समा सामान्यतया दुई भाग हुन्छन्-फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर । यद्यपि सबै विमानमा यी दुबै भाग हुनुपर्छ भन्ने छैन । ब्ल्याक बक्सको निर्माण यसरी गरिएको हुन्छ कि यसलाई अत्यधिक तापक्रम र पानीले पनि नष्ट गर्न सक्दैन । ब्ल्याक बक्सबाट ध्वनी र तरंग निस्किरहन्छ , जसले गर्दा गहिरो पानीमा परे पनि यसलाई फेला पार्न सकिन्छ।

फ्लाइट डाटा रेकर्डर : यसको काम उडानको समयमा विमानका सबै प्राविधिक गतिविधिहरू रेकर्ड गर्ने हो। यसले स्थिति, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो-पाइलटको स्थिति तथा विमानका उपकरणहरू सहित अन्य जानकारी रेकर्ड गर्दछ। कुनै उपकरणले काम नगरेको खण्डमा फ्लाइट डाटा रेकर्डरबाट विमानको प्राविधिक पक्षको विश्लेषण गरिन्छ तर केही साना र डबल इन्जिन भएका विमानमा यस्तो हुँदैन । गत वर्ष दुर्घटना भएको तारा एयरको विमानमा यो उपकरण थिएन ।

ककपिट भ्वाइस रेकर्डर : यो यन्त्रमा सामान्यतया २५ घण्टाको रेकर्डिङ क्षमता हुन्छ । यो उपकरणमा चारवटा च्यानल हुन्छन् जसले चार ठाउँको आवाज रेकर्ड गर्दछ। ककपिट भ्वाइस रेकर्डरमा पाइलट, ककपिट, टावर कम्युनिकेसन र यात्रु उदघोषकको आवाज रेकर्ड हुन्छ । दुर्घटनाको अनुसन्धानका क्रममा रेकर्ड गरिएका आवाजहरू सुनेर विश्लेषण गरिन्छ । पाइलटले के भन्यो, के सुन्यो, के गडबड भयो , को-पाइलटलाई जानकारी गरायो वा होइन, यात्रु र टावरको कुरा सुनेपछि धेरै कुरा थाहा हुन्छ ।

यसअघि विदेश जानुपर्थ्यो : नेपालको पुरानो हवाईजहाजमा चुम्बकीय टेपमा यस्ता आवाज रेकर्ड हुने र सुन्न विदेश जानुपर्ने बाध्यता थियो । नागरिक उड्डयन प्राधिकरणको हवाई दुर्घटना अनुसन्धान शाखामा लामो समय इन्जिनियरका रुपमा काम गरेका सुमनले सन् १९९२ मा ककनीमा दुर्घटना भएको थाइ एयरको विमानको सीभीआर लिएर क्यानाडा गएको बताए । उनले भने, ‘म आफैं ब्ल्याक बक्स लिएर क्यानाडा र फ्रान्स पुगेको छु तर अहिले धेरैजसो काम नेपालमै भैरहेको छ । अनुसन्धान समितिका सदस्य सचिव लामिछानेले ब्ल्याक बक्सको नेपालमा विश्लेषण गरिने तर उडान डाटा रेकर्डरको अध्ययनका लागि केही विदेशी विज्ञको समेत सहयोग लिइने बताए ।


लामिछानेले ब्ल्याक बक्सले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भएको टर्कीस विमान तथा काठमाडौं विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको युएस बंगला एयरलगायतका कैयौँ हवाई दुर्घटनाको सत्यतथ्य उजागर गरेको बताएका छन ।

प्रतिक्रिया