पर्वतबाट मन्त्री बन्नेमा गिरी पहिलो

काठमाण्डौं । पर्वतबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा दुई पटकसम्म लगातार पराजित गरेका गिरीे जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुन् ।
पर्वतले अहिलेसम्म राज्य र सहायकमन्त्री बाहेकको मन्त्री भने पाउन सकेको थिएन । पञ्चायतकालको सुरुआतमा मोदी गाउँपालिका अन्तर्गत देउराली लाङ्दीका गणेशबहादुर गुरुङ २०२२/२३ सालमा राज्यमन्त्री बनेका थिए । त्यसको केही वर्षपछि सोही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सबनेका थिए ।
यस्तै २०३९ सालमा जलजला–४,मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल यातायात राज्यमन्त्री बनेका थिए । त्यसपछि क्षेत्रबहादुर गुरुङ सहायक यातायात मन्त्री र पर्वत फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायकमन्त्री बन्न सफल भए ।
पर्वतमा यसअघि छ जनामन्त्री बनेको भएपनि राज्यमन्त्री र सहायकमन्त्रीमै सीमित थिए । यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
विसं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । विसं २०४७ मा अखिल पाँचौँमा सङ्गठित गिरी पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सदस्य, उपसभापति हुँदै सभापति बनेका थिए । विसं २०७२ मा आठौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका गिरी २०७५ मा गण्डकी प्रदेश कमिटी सदस्य बनेका थिए ।
प्रतिक्रिया