आइतबार, पुष ६, २०८२

धितोपत्र बोर्डद्धारा तीन वटा ब्रोकर कम्पनीलाई नगद जरिवाना

नेपालखोज २०७९ माघ ४ गते १२:३३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई नगद जरिवाना गरेको छ । तोकिएको समयमा विवरण पेश नगरेको आधारमा तीन वटा धितोपत्र दलाल व्यवसायीहरुलाई कारबाहीस्वरुप नगद जरिवाना गरिएको बोर्डले जानकारी दिएको छ ।

जसमध्ये सनी सेक्यूरिटिज कम्पनी लिमिटेड, त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड र इम्पेरियल सेक्यूरिटिज लिमिटेड रहेका छन् । यो मध्ये सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र बार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम बोर्डले १० हजार रुपैयाँ जरिवाना गरेको बोर्डले जनाएको छ ।

त्यसैगरी त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड र श्री इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रा. लि. ले पनि धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम समयमा विवरण पेश नगर्ने उल्लेखित धितोपत्र दलाल व्यवसायीहरु प्रत्येकलाई ७५ हजार रुपैयाँका दरले जरिवाना गरेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया