सोमबार, माघ २३, २०७९

मिथिलामा ‘लाई’ पर्वको मौसम

नेपालखोज २०७९ माघ ६ गते १६:२२

काठमाडाैं । तिलासक्रायत पर्व(माघेसङ्क्रान्ति) मनाई सकिए पनि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाई’ को मौसम भने जारी छ । माघ १ गते तिलासक्रायत पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ ।

मिथिला क्षेत्रका घरघरै अहिले तिल, चिउरा, जुनेलो र मुरीका ‘लाई’ (सक्खरको खुँदोमा मिसाएर बनाइने लड्डू) बटार्ने (बनाउने) चटारो छ । गत आइतबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको सनेस (कोसेली) नातेदारहरुका घरमा पु¥याउने परम्परा धान्न त्यसको तयारीमा मिथिलानी (मिथिलाका नारी) को ‘लाई’ बटार्ने व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, फुपू , दोस्त (मित) र अन्य आफन्त कहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले मिथिलानी ‘लाई’ बनाउन व्यस्त देखिएका हुन् ।

‘पर्व मनाइएपछि हामी कहाँ ‘लाई’ बनाउने व्यस्तता बढ्छ, पर्व सम्पन्न भएपछि सनेस पठाउनुपर्ने भएको हुँदा अहिले घरघरै यो कामले छोपेको हो’, भङ्गाहा–४ का ६५ वर्षीय रामप्रताप साह भन्छन्, ‘यो सनेस भन्दा बढी सामाजिक/पारिवारिक वास्तासँग जोडिएको परम्परा नै बन्यो, एक प्रकारले हाम्रो मैथिल संस्कृति नै बन्यो ।’

बितेका वर्षहरुमा माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लाग्ने गरेको विगत सम्झना भए पनि यसपालि भने अझै हुस्सु हटेको छैन । चिसो स्याँठबीच नै सनेसको तयारी गर्नु परेको मिथिलानी बताउँछन् । ‘माघ लागेपछि त बिहानदेखि नै पारिलो घाम लाग्थ्यो र पो काममा जाँगर चल्थ्यो, यसपालि त यो अँध्यारो कुहासा (हुस्सु) ले अझै छोडेको छैन’, मौसममा राम्रो सुधार नआएर दिक्क मान्दै भङ्गाहा–४ थारूटोल बनराकी गृहिणी सुथरी चौधरी थारू भन्छन्, ‘तर अब सनेस त बनाउनै पर्याे, छोरीचेली माइती भेट्न आउँछन् भन्ने आशमा हुन्छन् ।’ सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम तात्दै जाने गरिने आम अड्कल यसपालि भने मिलेको छैन ।

पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि मिथिलानी त्यसयता अब विवाहित चेलीबेटी र मित/मितिनीकहाँ सनेस पठाउन ‘लाई’ बटार्न व्यस्त छन् । तिलासक्रायत घरमा मनाइएपछि तिल, चिउरा, जुनेलो र मुरीका ‘लाई’ सहितका मिष्टान्न परिकार विवाहित छोरी, दिदीबहिनी, फुपू, दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले यस क्षेत्रमा अहिले जताततै ‘लाई’ को मौसम छाएको हो ।

‘सानो छोराले पवनी (पर्व) को सनेस छोरीकहाँ पुर्याएर आयोे’, भङ्गाहा–४ थारूटोल बनराकै अर्की गृहिणी रामसुनर देवी थारू भन्छन्, ‘अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान थप सनेस बनाउनु छ ।’ घरमा पर्व मनाइएपछि नाताकुटुम्ब र आफन्तकहाँ सनेस लगिने चलनले यहाँ घर/घरमा अहिले तिल, जुनेलो, मुरी र चिउराका ‘लाई’ बनाउने चटारो नै छ ।

मिथिलामा यही फागुन १५ सम्म घरको खाजामा पनि मुरी, चिउरा र ‘लाई’ खाइने गरिन्छ । पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तलाई समेत ख्वाइने यी परिकार हिउँदभरि नै घरघरै खाजा खाइने हुँदा अहिले अझै केही दिन घरघरमा ‘लाई’ बनाउने चटारो रहने बर्दिवास–९ पशुपतिनगरकी शैलदेवी महतो बताउँछन् ।

खासगरी जाडोयाममा सक्खर, घीउ र खुवाका परिकार खाँदा स्वास्थ्य ठीक रहने, जीउ तातिने भएकाले माघे सङ्क्रान्तिदेखि फागुन १५ सम्मको जाडोबीच यी सामग्री मिसाएर बनाइने तिल, जुनेलो, चिउरा र मुरीका ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाको भनाइ छ ।

अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो गृहिणी घरमा ‘लाई’ बनाउन लागिपरेका छन् । सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यी परिकार रोजाइका बनेपछि मिथिलामा हिउँदभरि ‘लाई’को मौसम हुने गरेको यहाँका बूढापाका बताउँछन् ।

मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठ पर्व र माघ १ गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि आफन्तकहाँ पुर्याउने परम्परा छ । सूचना प्रविधिको विस्तार नभएको पहिलेको समयमा चाडपर्वमा आपसी सम्झना प्रगाढ बनाउन, कुशलक्षम, हालचाल बुझ्न र आपसी भेटघाट सघन बनाउन पूर्वजहरुले यो चलन बसाएका हुनसक्ने यहाँका बुद्धिजीवी बताउँछन् ।

प्रतिक्रिया