मंगलबार, जेठ ८, २०८१

पर्यटकको भिडले ग्रस्त युरोपेली सहरहरू

नेपालखोज २०७९ माघ ९ गते १६:३२

विश्वभरका मानिसहरू उत्कृष्ट वास्तुकला र संस्कृति अवलोकन गर्न एम्स्टर्डम , रोम जस्ता युरोपेली शहर पुग्छन् । यस्ता धेरै सहरको अर्थतन्त्रका लागि पर्यटन निकै महत्वपूर्ण छ यद्यपि बढदो भीडभाडका कारण त्यहाँका मानिसहरु चिन्तित पनि छन् ।

भेनिस : युरोपको सबैभन्दा सुन्दर गन्तव्य भेनिसमा हरेक वर्ष लाखौं मानिस पुग्छन् । पर्यटकहरुको भीडभाडका कारण त्यहाँका स्थानीय बासिन्दालाई दैनिक जीवनमा समेत समस्या हुने गरेको छ । आगामी दिनमा सरकारले छोटो समयका लागि त्यहाँ पुग्ने पर्यटकबाट पनि प्रवेश शुल्क लिन सक्छ । भेनिस पुग्ने पर्यटक मध्ये अधिकांश पर्यटक ठूला क्रूज जहाजबाट त्यहाँ ओर्लन्छन् । पछिल्ला वर्षहरूमा भेनिसमा पर्यटक विरोधी प्रदर्शनहरू पनि भएका छन् ।

फ्लोरेन्स : इटालीको अर्को सहर फ्लोरेन्स विश्वभर प्रसिद्ध छ । पुनर्जागरण कालका सुन्दर वास्तुकला र विश्वस्तरीय संग्रहालयहरू हेर्न स्वदेश तथा विदेशबाट मानिसहरु फ्लोरेन्स पुग्छन् । यद्यपि, पर्यटकहरु त्यहाँका स्थानीय बासिन्दा र जीवनशैलीसँग परिचित हुँदैनन् । पुराना शहरवासीहरू त्यहाँ बस्न चाहँदैनन् किनभने यो सम्पूर्ण शहर पर्यटकहरूले भरिभराउ हुन्छ । प्रशासन तथा स्थानीयवासीहरु यस्तो अतिक्रमण रोक्न चाहन्छन् ।

रोम : विश्व प्रसिद्ध स्पेनिस स्टेप्स वा इटालीको राजधानी रोमको कुनै पनि प्रसिद्ध ठाउँ त्यहीँ पुगेर हेर्ने सपना धेरैको हुन्छ । हरेक वर्ष लाखौं पर्यटक त्यहाँ पुग्छन् तर पनि अत्यधिक भिडका कारण उनिहरु त्यसलाई नजिकबाट अनुभव गर्न असमर्थ हुन्छन् । सन् २०१९ मा एकै रात रोममा २६ लाख पर्यटक आएको रेकर्ड बन्यो । ट्रेवी फाउन्टेन , कोलोसियम बाहेक भ्याटिकन सिटी घुम्न जानेहरु पनि रोम पुग्छन् ।

प्राग : खानपिनको संसारमा प्रागको चेक बियरको आफ्नै विशेष स्थान छ । कोभिड महामारी अघि हरेक वर्ष औसत ७० देखि ८० लाख पर्यटक प्रसिद्ध चार्ल्स ब्रिज पार गर्न , खानपिनको आनन्द लिन र दृश्यावलोकन गर्न प्राग पुग्थे । प्रागको जनसंख्या भने १.३ मिलियन मात्र छ। महामारी पछि त्यहाँ पर्यटकको संख्या केही हदसम्म घटेको छ ।

डब्रोभनिक : टिभी शृंखला गेम अफ थ्रोन्समा क्रोएशियाको राजधानी सहर डब्रोभनिक देखाइएपछि त्यहाँ आगन्तुकहरूको अभूतपूर्व वृद्धि भएको छ । यो सुन्दर पुरानो शहर पहिले देखि नै युनेस्कोको सूचीमा समावेश थियो । यद्यपि पछिल्ला वर्षमा पर्यटकको चहलपहल बढेपछि नगरवासीहरु चिन्तित हुनथालेका छन् । यो सहरमा २०११ मा एक वर्ष भित्र ५ लाख पर्यटक पुगेका थिए भने २०१९ मा १५ लाख पर्यटक पुगेका थिए ।

एम्स्टर्डम : एम्स्टर्डममा लामो समयदेखि ओभरटुरिज्मको गुनासो आइरहेको छ । नेदरल्यान्ड्सको राजधानी एनी फ्रान्क संग्रहालयदेखि लिएर ऐतिहासिक भवनहरू, यसका नहरहरू, रेडलाइट एरिया तथा गाँजाका लागि प्रसिद्ध ’क्याफेहरू’ सबैका लागि परिचित छन । पर्यटकको भीडभाडले त्यहाँका आम नागरिक भने मार्कामा परेको अनुभुति गर्छन् । केही वर्षअघि नगर प्रशासनले केही क्षेत्रमा मदिरा सेवनमा प्रतिबन्ध लगाएको थियो भने अब त्यहाँ भिड घटाउन गाँजा माथी प्रतिबन्ध लाग्न सक्छ ।

बार्सिलोना : सन् २०१९ मा स्पेनको बार्सिलोनामा १२ लाख पर्यटक पुगेका थिए । त्यहाँको आफ्नै जनसंख्या भने १६ लाख मात्र छ । यसबाट यो सहरलाई पर्यटकको बोझ परेको छ भन्ने कुरा बुझ्न सकिन्छ । पर्यटकका कारण आफ्नो सहर फेरिएको नगरवासीहरुको गुनासो छ । २०२२ मा सरकारले भ्रमण सेवाहरूमा अनेकन प्रतिबन्ध लगाएको थियो । अहिले यो सहरको केन्द्रमा पर्यटक आवास पनि सीमित गरिएको छ ।

लिस्बन : महामारी अघिको तथ्यांक हेर्दा हरेक वर्ष ४० देखि ६० लाख पर्यटक लिस्बन पुग्ने गरेका छन् । जबकि लिस्बनको आफ्नै जनसंख्या पाँच लाखको हाराहारीमा छ । यसले यहाँका आवासीय क्षेत्रहरूमा बोझ बढाएको छ । मानिसहरूले आफ्ना आवासीय अपार्टमेन्टहरू पर्यटकहरूलाई आवास प्रदान गर्न छुट्टी घरमा रूपान्तरण गरेका छन । परिणाम स्वरूप भाडामा बस्ने न्यून आय भएका स्थानीय बासिन्दाहरू घरबारविहीन भएका छन् ।

प्रतिक्रिया