शुक्रबार, चैत १६, २०८०

कार्तिकले लिए १० दिनको सुटिङलाई २० करोड पारिश्रमिक

नेपालखोज २०७९ माघ १० गते ९:१२

काठमाडाैं । अभिनेता कार्तिक आर्यन बलिउडमा सर्वाधिक कमाउने अभिनेतामध्ये एक हुन् । उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’का लागि १ दशमलब २५ लाख रुपैंयाँ पारिश्रमिक लिएका थिए ।

उनले कोभिड–१९ को बेला निर्माण गरिएको एक फिल्मका लागि २० करोड पारिश्रमिक लिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको शाहजादा भएकाले त्यो पारिश्रमिकको आफू हकदार भएको दाबी गरे ।

कार्तिकले सन् २०२१ मा रिलिज फिल्म ‘धमाका’मा १० दिनको सुटिङ गरेवापत निर्माता राम माधवानीबाट २० करोड पारिश्रमिक लिएका थिए । यद्यपि त्यो समयमा उनले यो कुराको पुष्टि गरेका थिएनन् । हालै उनले त्यो पारिश्रमिक लिएको स्वीकार्दै निर्माताले आफूलाई त्यतिधेरै पारिश्रमिक किन दिए भन्ने कुरा पनि खुलाएका छन् ।

‘मैले यो फिल्मको सुटिङ कोरोनाको समयमा गरेको थिएँ । त्यो फिल्ममा केवल १० दिनको मात्र सुट थियो । त्यो मेरो मेहनतको पैसा थियो । म आफ्नो निर्मातालाई १० दिन त के २० दिनमा पैसा दोब्बर गरिदिन्छु’, उनले भनेका छन् ।

कार्तिकका अनुसार सन् २०२२ मा रिलिज फिल्म ‘भूल भूलैया २’को सफलतापछि उनी आफूलाई हिरो नम्बर वान सम्झन्छन् । ‘मैले आफूलाई जहिल्यै एक नम्बरकै रुपमा हेरें । मानिसहरुले विस्तारै विस्तारै यो कुरालाई महशुस गर्न थाले र मलाई त्यही नजरमा हेर्न थाले । यो मानिसहरुको प्रेम हो । म फ्यानको प्रेमबाट उत्साहित छु र जहिल्यै हिट फिल्म दिन चाहन्छु । बलिउडमा म केवल एक राजकुमार हुँ’, कार्तिकको भनाई छ ।

कार्तिकको आउन लागेको फिल्म ‘आशिकी ३’ हो । जसको निर्देशक अनुराग बसुले गरेका छन् । यसबाहेक उनी कृति सेननका साथ फिल्म ‘शहजादा’मा पनि देखिँदैछन् ।

प्रतिक्रिया