शनिबार, वैशाख १५, २०८१

तनहुँ हाइड्रोबाट आतङ्कित स्थानीय

नारायण खड्का २०७९ माघ १७ गते ८:२४

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ काहुँशिवपुरमा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छ । निर्माणपक्षले जलविद्युत आयोजना निर्माण कार्यलाई तीब्रता दिइएको छ । आयोजनास्थलमा खुल्ला रुपमा शक्तिशालि बम विस्फोट गर्दा घरहरू चर्किएको र धुलोधुँवाले आजित बनाएकाले बस्तिनै बिस्थापित हुने खतरा बढेको प्रभावित क्षेत्रका बासिन्दाले बताउन थालेका छन् ।

तनहुँ जलविद्युत आयोजनाको प्याकेज १ अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) निर्माणको काम भइरहेको छ । उक्त कामका लागि खुल्ला रुपमा शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गर्दा आसपास क्षेत्रका घरहरू चर्कने, खेतबारी भाँसिने समस्या देखिएका छन् ।

गत असोज महिनादेखि आयोजनाको डाइभर्सन टनेल निर्माणका लागि निर्माण पक्षले विस्फोटक पदार्थको प्रयोग गर्दै आएको छ । आयोजना प्रभावित क्षेत्रका करिब दुई दर्जन घरहरू चर्किएपछि स्थानीयवासी विरोधमा समेत उत्रिएका छन् । बिहान दिउँसो बेलुका जुनसुकै समयमापनि बम पड्काउँदा जनजीवन आतङ्कित बनेको स्थानीय बताउँछन् । यस विषयमा आयोजनालाई पटक–पटक ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको प्रभावित क्षेत्रका बासिन्दाको गुनासो छ ।

पहाड फोड्ने क्रममा पड्काइने बमका कारण जनजीवन तथा वातावरणमा पनि धेरै असर परेको ऋषिङ गाउँपालिका–१ छापका रामबहादुर थापा बताउनुहुन्छ । २०७२ सालको भुकप्पबाट पनि नभाँसिएका जमिन र नचर्किएका घरहरू अहिले चर्कन थालेको उनले बताए । ‘बम बिस्फोट हुँदा आउने कम्पनले जमिन धेरै कमजोर बनिसकेको छ, घरहरू पनि चर्किएर बस्नलाई नै जोखिमयुक्त बन्दै गएका छन्’, उनले भने, ‘बम बिस्फोटपछि आउने धुलोधुँवाले श्वास फेर्न पनि मुस्किल हुन्छ । बारीको तरकारीपनि धुलम्मे भएका छन्, वातावरण नै प्रदुषण भएको छ । बिकास गर्दा केही बिनास त हुन्छ तर मानवबस्ति नै उजाड्ने गरी गरेको बिकासमा कसरी रमाउने ?’

जलविद्युत आयोजनका कारण बासस्थान नै छाड्नुपर्ने हो कि भन्ने चिन्ताले सताउने गरेको स्थानीय बमबहादुर थापाको गुनासो छ । ‘हाम्रा खेती गर्ने सबै जमिन कमजोर बनेका छन् । छेउबाट सबै पहिरो गएका छन्’, उनले भने, ‘कृषिकर्म गरी जीविकोपार्जन गर्दै आएका हामी अब खेतीपाति नै गर्न नपाएपछि भविष्यमा बस्तिनै बदल्न पर्ने हो कि भन्ने चिन्ता बढेको छ ।’ सुरुङ निर्माण कार्यले गाउँमा भएका पानीका मुलहरू पनि सुक्दै गएको उहाँले बताए । ‘कुँवाधारामा पहिलेको जस्तो प्रसस्त पानी छैन, हाम्रा जमिनहरू पनि सुख्खा बन्दै गएका छन्’, उनले भने, ‘अहिले जमिन कमजोर र सुख्खा हुँदा पहिलेको जस्तो खेतीपाति पनि हुँदैन ।’

तोरी, कोदो, मकै, मास लगायत हरिया तरकारीहरूको राम्रो उत्पादन हुने यस क्षेत्रमा पछिल्लो समय वातावरण प्रदुषण र जमिन सुख्खा हुँदा उत्पादनमा कमि आएको बमबहादुर बताउछन् । उनले भने, ‘खेती गरेर खाने हामीहरूलाई साह्रै गाह्रो भएको छ । यस्तै चल्ने हो भने यो ठाउँ छाडेर जानुबाहेक कुनै विकल्प छैन ।’

आवश्यकता अनुसार दिनको ४÷५ पटक हाइड्रोमा बम विस्फोट गरिन्छ । विस्फोटका क्रममा आउने आवजले बालबालिका तर्सने र धुलोका कारण स्वास्थ्यमा पनि असर गर्ने ऋषिङ–१ लोक्माकी थानीश्वारा थापाले बताए । ‘छोरी भर्खर ५ महिनाकी भइन’, उनले भने, ‘कहिले त आधिरातमा बम विस्फोट गर्छन् । धुलोको त्यस्तै सास्ती छ । बम पड्काउदा सुतिरहेकी छोरी रुन्छे । बम नपड्काइ कामै नहुने हो र ?’

बम विस्पोटका कारण बालबालिका मात्रै नभई ठुलै मान्छे, घरपालुवा जानवार पनि डराउने गरेका छन् । पहाड फोड्नका लागि बम विस्फोट गर्दा यस क्षेत्रका करिव ५५ घरहरू प्रभावित बनेका छन् । यसमध्येपनि २२ घरलाई बढि नै क्षति पुगेको स्थानीयहरू बताउँछन् । ऋषिङ–१ भित्रका लोक्मा, धारापानी, छाप, हुक्सेटार, ग्याजाटार, मालिङ्गा लगायतका गाउँ बम विस्फोटबाट प्रभावित बनेका छन् । बम विस्फोटका क्रममा निस्कने धुवाधुलोका कारण दमौली, चापाघाट, जामुने लगायतका क्षेत्रका वातावरणमा समेत असर पु¥याएको छ ।

यस्तै, तनहुँ जलविद्युत आयोजना निर्माण अघि तोकिएको मापदण्डमा प्रभावित क्षेत्रमा आफुहरू नपरेको तर निर्माणका क्रममा भएका बम विस्फोट र आउने धुलोका कारण प्रभावित बन्न पुगेको ऋषिङ–१ लोक्माका दानबहादुर थापा बताउछन् । ‘हामी करिव डेढ वर्षदेखि प्रभावित छौं’, उनले भने, ‘बम विस्फोटका कारण घरहरू चर्किएर बस्नका लागि जोखिमयुक्त बन्दै गएका छन् । पटकपटक आयोजनाको कार्यालयमा डेलिगेशन जाँदासमेत हाम्रो समस्यको सुनुवाई भएको छैन ।’

चर्किएका घरहरूमा हाइड्रोका प्राविधिकहरूले पुटिङ लगाइदिएको थापाले बताए । ‘बम विस्फोटका कारण घरमा क्षति पुगिसक्यो, उनीहरू भने पुटिङ लगाएपछि पुनः चर्कियो भने हामी क्षतिपुर्ति दिन्छौं भनेका छन्’, उनले भने, ‘हाम्रा गाईबस्तु चराउने जंगल पनि मासियो, हामीसंग कुनै समन्वय भएन र क्षतिपुर्ति पनि दिइएन । प्रभावित क्षेत्रका युवाहरूलाई रोजगारी उपलब्ध गराउने भनिएको थियो त्यो पनि हामीले पाउन सकेनौं ।’

बम विस्फोटका कारण ऋषिङ–१ का केही गाउँहरू प्रभावित भएको वडाध्यक्ष कुशबहादुर थापाले बताए । ‘केही घरहरू चर्किएका छन् । जनप्रतिनिधि र हाइड्रोका प्राविधिक संयुक्त रुपमा घरघर गएर सर्भे पनि गर्दै छौं’, उनले भने, ‘वातावरण प्रदुषण न्यूनिकरणका लागि हाइड्रोलाई पानीको फ्लो बढाएर काम गर्न अनुरोध गरेका छौं ।’ ‘लोक्मा, हुक्सेटार, मालिङ्गा लगायतका क्षेत्रका घरहरूको परीक्षण गरिसकिएको छ’, उनले भने, ‘करिव ४ वटा घरलाई क्षतिपुर्ति दिने कुरा पनि भइसकेको छ ।’ ड्याम साइटमा विस्फोटक पदार्थ प्रगोग गर्दा आसपासका घरहरूमा क्षति पुग्न गएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सम्बन्धित आयोजना र प्राविधिक टोलीहरूको उपसमिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।

उक्त उपसमितिबाट अन्तिम रिपोर्ट नआएकोले बम बिस्फोटकै कारणले घरहरू चिरिएको भन्न नसकिने उनले बताए । ‘बाम विस्फोटकै कारणले घरहरूमा क्षति पुगेको हो भने आयोजनाले केही न केही माध्यमबाट सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘कुनै पनि कारणले त्यहाँका जनता त्रासित हुने, असहज वातावरण सिर्जना हुने र आफ्ना भौतिक सम्पत्ति गुमाउनु हुन्न भन्ने हाम्रो भनाई हो र आयोजनाले पनि त्यही आधारमा काम गर्नुपर्छ ।’ विस्फोटका क्रममा हुने वायु प्रदुषण नियन्त्रणका लागि पटकपटक भनिएपनि आयोजनाको प्रयासमा आफुपनि सन्तुष्ट नभएको प्रजिअ अर्यालले बताए । उनले भने, ‘आयोजनाबाट आउने धुलो धुवाले वातावरण प्रदुषण हुन नदिनका लागि हामी पनि प्रयात्नरत छौ ।’

यस्तै, बम विस्फोटले मात्रै नभई गत असोजमा परेको झरीका कारण पनि जमिन कमजोर भई भाँसिन पुगेको आयोजनाका प्रमुख राजाभाई शिल्पकारको भनाई छ । उनले भने, ‘हामीकहाँ घर चर्किएको समस्य लिएर आउनुभएकोमा स्थलगत अनुगमन गरी जिप्सन र पुटिङ लगाउने काम गरेका छौं । यसो गर्दापनि चर्कियो भने क्षतिपुर्तिको प्रक्रिया अगाडि बढाउने छौं ।’ हाल आयोजनाको ३ वटै प्याकेजमा काम भइरहेको छ । प्याकेज–१ अन्तरगत नदी फर्काउने बाँध निर्माण भइरहेको उनले बताए । उनका अनुसार एक हजार २ सय मिटर लामो रहेको नदी फर्काउने बाँधको एक हजार मिटर खनेर सक्किएको छ । प्याकेज–१ अन्तर्गतको काम सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि, नेपाल जेभीसँग सम्झौता भएको हो । सो प्याकेज अन्तर्गत क्याम्प, कार्यालय भवन, मोवाइल प्लान्ट निर्माण, नदी फर्काउने बाँध निर्माण लगायतका कामहरू छन् ।

यस्तै, प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरू गरिरहेको छ । यस अन्तर्गत पानीको मुख्य टनेल खन्न बाँकी रहेको छ । ‘१ हजार ४५४ मिटर लामो रहने मुख्य टनेलमा अब ७ सय मिटरको हाराहारीमा खन्न बाँकी रहेको छ’, उनले भने, ‘पावर हाउस खन्ने र अन्य स–साना टनेल खन्ने काम भने सक्किएको छ । पावर हाउस निर्माण पनि सुरु गरिएको छ ।’ पावर हाउसको कामलाई पनि तिव्रता दिइएको उनले बताए । अन्डरग्राउन्डमा लम्बाई ८९ मिटर, उच्चाई ४५ मिटर र चौडाई २२ मिटर क्षेत्रफलमा पावर हाउस, ७०/७० मेगावट क्षमताका दुई वटा टरवाइन, कर्मचारी कार्यालय, २ वटा ट्रन्सफर्मर लगायतका उपकरणहरू राख्नका लागि काम भइरहेको छ ।

उक्त प्याकेज अन्तर्गत केवल सुरुङ, मुख्य प्रवेश सुरुङ, ट्रयाल ट्यांक (पानी निस्कने) र दुई वटा वार्क सुरुङ गरी ५ वटा सुरुङ खनिएको छ । उक्त सुरुङको लम्बाई क्रमशः १८५ मिटर, २१९ मिटर, ३०० मिटर, ५३७ र २१७ मिटर रहेका छन् । त्यस्तै, प्याकेज–३ अन्तर्गतको प्रशारण लाइन निर्माणको काम पनि भइरहेको उनले बताए । उनले भने, ‘९४ वटा फाउण्डेसन निर्माण गर्नुपर्नेमा हालसम्म ४९ वटा टावरका फाउण्डेसन बनिसकेका छन् । साथै २९ वटा टावर जडानको काम पनि सकिएको छ ।’

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
श्रोतः आइएनएस–स्वतन्त्र समाचार

प्रतिक्रिया