बुधबार, वैशाख १२, २०८१

थ्री इडियट्सका असलि रेन्चो सोनम वाङचुक अनसनमा !

नेपालखोज २०७९ माघ १७ गते १५:५३

तपाईंले राजकुमार हिरानीको फिल्म थ्री इडियट्स हेर्नुभएको छ ? जसमा अभिनेता आमिर खानले भारतको सुदूर उत्तरी भुभाग लद्दाखमा बस्ने र बालबालिकालाई पढाउने आविष्कारक रेन्चोको भूमिका निर्वाह गरेका छन् । रेन्चोको पात्र जसबाट प्रेरित भएको हो । ती व्यक्तित्व हुन्, सोनाम वाङचुक । सोनाम वाङचुक जनवरी २ देखि ७ सम्म अनशनमा थिए ।

१८ हजार ३ सय ८० फिटको उचाइमा रहेको खार्दुङ ला मा बस्ने वाङचुकले अनशन बसेको दुई दिनपछि युट्युबमा भिडियो सार्वजनिक गर्दै प्रशासनले आफूलाई नजरबन्दमा राखेको बताए । यद्यपी, स्थानीय प्रशासनले उक्त आरोप अस्वीकार गरेको छ । पाँच दिनको उपवास पछि वाङचुकले ट्वीटरमा एउटा स्टाटस साझा गरे जसमा प्रशासनले उनका अगाडि केही शर्त राखेको कुरा बताइएको छ ।

वाङचुकले लेखेका छन्, ‘विश्वका वकीलहरू ध्यान दिनुहोस्, मेरो प्रार्थना र उपवास चलिरहेका बेला लद्दाख प्रशासनले मलाई एउटा बन्डमा हस्ताक्षर गराउन चाहन्छ । यो कसरी ठिक कुरा हुन सक्छ ? के म चुप लागुँ ? मलाई गिरफ्तारीको डर छैन ।’ यो ट्विटमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गरी दिइएको स्थानीय प्रशासनको सर्तमा वाङचुकले कुनै वक्तव्य नदिने, टिप्पणी नगर्ने, भाषण नदिने, लेह जिल्लामा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने कुरा उल्लेख छ ।

उनले एउटा अर्को युट्युब भिडियोमा भनेका छन्, ‘उनलाई घरमा नजरबन्द गरिएको थियो, जुन वास्तवमा अत्यन्तै खराब थियो ।’ यता लेहका वरिष्ठ प्रहरी उपरीक्षक पीडी नित्याले मिडियालाई भनेका छन्, ‘सोनाम वाङचुकलाई खार्दुङ ला पासमा पाँच दिन लामो उपवास बस्न दिइएन किनभने, त्यहाँको तापक्रम माइनस ४० डिग्रीमा झरेको थियो । वाङचुक र उहाँका समर्थकहरूका लागि त्यहाँ जानु अत्यन्तै खतरनाक हुने थियो । त्यसैले उहाँलाई उहाँको हिमालयन इन्स्टिच्युट अफ अल्टरनेटिभ लद्दाखको परिसरमा उपवास गर्न अनुरोध गरिएको थियो ।’

के छ वाङचुकको माग ? : लेह जिल्लाको अल्ची नजिकै उलायतोकपोमा जन्मिएका ५६ वर्षीय वाङ्चुक सामुदायिक शिक्षाको मोडलका लागि विश्वभर परिचित छन् । रामन म्यागसेसे पुरस्कार प्राप्त गरेका वाङचुक लद्दाख क्षेत्रका लागि विशेष अधिकार र वातावरण संरक्षणको मागका लागि लडिरहेका छन् । हिमालय क्षेत्र बचाउन लद्दाखलाई विशेष दर्जा चाहिएको उनको भनाइ छ ।

सोमबार आफ्नो पाँच दिन लामो सांकेतिक अनशनको समापन गर्दै सोनाम वाङचुकले भनेका छन्, ‘मेरो प्रतीकात्मक कार्बन न्यूट्रल क्लाइमेट अनशनको आज अन्तिम दिन हो ।’ उनले सिंगो उपमहाद्वीपका जनताको जनजीवन प्रभावित भएकाले केही संस्थालाई खुसी पार्नुभन्दा हिमालय र यसका हिमनदीको संरक्षण महत्वपूर्ण हुनुपर्ने बताएका छन । उनले भनेका छन्, ‘सरकारले हिमालयको वातावरण संरक्षणका लागि भविष्य उन्मुख योजना बनाउनुपर्छ । लद्दाखलाई संविधानको छैठौं अनुसूचीमा समावेश गर्नु पनि त्यसैको एउटा हिस्सा हो ।’

भारतीय संविधानको छैठौं अनुसूची अन्तर्गत जातीय र जनजाति क्षेत्रहरूमा स्वायत्त जिल्ला परिषद र क्षेत्रीय परिषदहरूलाई आ–आफ्नो क्षेत्रका लागि कानून बनाउन अधिकार दिइएको छ । हाल भारतका चार राज्य मेघालय, आसाम, मिजोरम र त्रिपुराका १० वटा जिल्ला यो सुचिमा छन् । वाङचुकले लद्दाखलाई पनि यहि कानुन अन्तर्गत विशेषाधिकार दिनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया