बिहीबार, वैशाख १३, २०८१

यती अर्थात पिलाटस पोर्टर विमान

सुनिल उलक २०७९ माघ २० गते ९:४३

हालै पोखराको पुरानो विमानस्थल नजिकै भएको यतीको विमान दुर्घटनाले निकै चर्चा पायो । विमान सुरक्षाका प्रश्न एकातर्फ थियो भने यस दुर्घटनाका कारण पोखराको पर्यटन व्यवसाय तथा हवाई व्यवसायमा परेको असरको पनि महत्त्व थियो । विमान दुर्घटना हुनुको मुख्य कारण अध्ययन टोलीको रिपोर्टले नै देखाउने छ । तर अहिले चर्चामा रहेको व्यवसायिक उडानमा को पाइलटको परीक्षाका कुराले भने सबैको ध्यान गएको छ ।

हुन त, यती ग्रुपका प्रमुख तथा नेपालका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको पनि निधन हवाई दुर्घटनामा नै भएको थियो । उनको यती ग्रुपको लगानी रहेको एयर डाइनास्टीको पाथीभरा नजिकै भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

आङ छिरिङले सन १९९८ मा हवाई व्यवसायमा लगानी गर्दा उनले आफ्नो हवाई सेवाको नामाकरण यती नै राख्नुका दुई कारण थिए । एक त हिमाली क्षेत्रमा पाइने काल्पनिक जीव “यती“ थियो भने अर्को कारण पिलाटस पोर्टरले नेपालको धवलागिरि अभियानका लागि तैयार बनाएको विशेष विमान “यती“ थियो ।

म यहाँ यहीँ “यती“को चर्चा गर्न गइरहेको छु । जसको कारणले कुनै कम्पनीको अभूतपूर्व सफलता जोडिन पुग्यो । सन १९३९ मा स्थापना भएको पिलाटस कम्पनीले पी–१ देखी पी–५ मोडलका साना विमानहरू बनाइसकेका थिए । सन १९५९ को मे महिनामा पी–६ डिजाइनको विमानले नयाँ प्रयोग गर्यो । छोटो दुरीमा उडाउन र झार्ने सकिने STOL प्रविधिको विमान तैयार भयो । यसको सम्भाव्य अध्ययन विस्तृतमा गर्न बाकी नै थियो ।

यही समय स्विस पर्वतारोही तथा सौखिन पाइलट म्याक्स इज्लिनले धौलागिरि आरोहणको तैयारी गर्दै थिए । अचानक उनको दिमागमा कठिन यात्रामा पिलाटस कम्पनीको विमान भाडामा लिएर आरोहणका लागी आवश्यक सामग्री तथा आरोहण दलका सदस्यलाई धौलागिरि आधार शिविरसम्म लग्न सहज हुने तथा समयको पनि बचत हुने बिचार आयो । तुरुन्तै उनले विमान कम्पनीलाई सम्पर्क गरे । उनले सोचे भन्दा सहजतापूर्वक विमान कम्पनीले विमान निःशुल्क उपलब्ध गराइदिने घोषणा गरे ।

विमान कम्पनीले आफ्नो पी–६ मोडलमा सामान्य सुधार गराए । विमानको पाङ्ग्राको तल हिउँमा अवतरण गर्न सहज गर्नको लागी दुवै पाङ्ग्राको लागी स्किवोर्ड जडान गराए । विमान हिमाली क्षेत्रकै लागी भनेर विशेष चम्किलो रातो रङको प्रयोग गरे भने विमानमा Swiss Dhaulagiri Expedition 1960 तथा HIMALAYA भनेर लेखिदिए । साथै विमानको नाम “यती“ राखिदिए ।

“यती“ स्विटजरल्याण्डबाट एक हप्ता लगाएर पोखरा आइपुगेको थियो । पोखरामा आरोहण टोलीका १३ जना, शेर्पा ६ जना, पाइलट २ जना तथा लाइसन अफिसरको रूपमा मीनबहादुर शेरचन पनि थिए । “यती“ले त्यस बेला धौलागिरि आधार शिविर सम्म सामान ढुवानी तथा आरोहण टोलीलाई आधार शिविरसम्म पुग्न धेरै सहज बनायो । समुन्द्री सतह देखी ५७०० मिटर उचाइमा रहेको धम्पुस पासमा अवतरणको विश्व रेकर्ड पनि राखे । पाइलट एन्स्ट साक्सर र एमिल विक निकै हतोत्साहित भइरहेका थिए । कठिन भए पनि आनन्दित थिए ।

अचानक बि.सं. २०१७ सालको नयाँ वर्षकै दिन पोखरामा “यती“ दुर्घटनामा पर्यो‍ । “यती“ले उडान सुरु गरेको एकैछिनमा विमानको इन्जिन उछिट्टिएर खस्यो । साथै विमान पनि खस्यो । उता आरोहण टोली सामग्रीको प्रतीक्षामा थियो । यता विमान कामै नलाग्ने भएको थियो । यसपछि म्याक्स पोखरा आए । विमान कम्पनीसँग सम्पर्क गराइ नयाँ इन्जिन लिएर विशेष विमानमा पिलाटस कम्पनीका इन्जिनियर हान्स रेजर पोखरा आइपुगे । २३ दिन पछि वैशाख २३ गते “यती“ले फेरी धौलागिरि आधार शिविरमा उडान ग¥यो । तर दुर्भाग्य यसरी दुख पूर्वक मर्मत गरी उडाएको “यती“ले लामो समय उड्न पाएन । मर्मत गरेर उडान थालेको दुई दिन पछि अर्थात १७औ पटक राम्रैसँग धम्पुस पासमा अवतरण गरेको “यती“ उडानको क्रममा अत्यधिक हावाले गर्दा दुर्घटनाग्रस्त भयो । पाइलट दुवै उछिट्टिएर बाँचे । विमान पूर्णरुपमा ध्वस्त भयो । दुवै पाइलट स्विटजरल्याण्ड फर्किए । पछि एक पाइलट एमिल विक नेपालमा पिलाटस उडाउन तथा प्रशिक्षण दिन फर्केर नेपाल आए । नेपालमा धेरै समय रहे ।

आरोहणको सहजताले गर्दा वैशाख ३१, २०१७ मा धौलागिरि हिमालको आरोहण सफल भयो । स्विस पर्वतारोही म्याक्स इज्लिनको नेतृत्वमा बनेको आरोहण टोलीका अस्ट्रियन पर्वतारोही कुर्ट डियमवर्गर, पिटर डियनर, एन्स्ट फोर्, एल्विन सेल्वर्ट र दुई शेर्पा निमा दोर्जे र नवाङ दोर्जे गरी ६ जना धौलागिरिको शिखरमा पुग्न सफल भए । यस सफल आरोहण पछि शाही नेपाल विमान सेवाले तीन वटा पिलाटस विमान खरिद गरे । नेपालको हिमाली क्षेत्रमा रहेका छोटो विमानस्थलको लागी यो विमान वरदान साबित भयो । तर कठिन उडानमा उडिरहनु पर्ने विमानको दुर्घटना पनि असम्भव थिएन । विमान एक एक गरेर सबै दुर्घटनामा ध्वस्त भयो ।

वैशाख २३, २०१७ मा धौलागिरि आरोहणको सामग्री ढुवानीको क्रममा धम्पुस पासमा दुर्घटना भएको “यती“ पिलाटस पोर्टर पी–६ पछि नेपालमा पिलाटस पोर्टरको अन्य दुर्घटनाहरू भए । यसको एक वर्ष पछि विमान २०१७ फागुन २६ मा सामान्य दुर्घटना भयो । भदौ १०, २०१९ मा पिलाटस पोर्टरको विमान ढोरपाटन नजिकै दुर्घटना भयो । जसमा डा.मोहनमणि दीक्षित सहित ६ जनाको मृत्यु भयो । शानेवानीकै डिसी ३ दुर्घटनाग्रस्त भए पछि जाँचबुझको लागी गएका डाक्टर, प्रहरी अधिकृत तथा भारतीय विज्ञको साथ पाइलटको पनि मृत्यु भएको थियो । २०२३ माघ २६ मा पनि पिलाटसको दुर्घटना भएको थियो । तर कसैको हताहत भएन । २०३१ को चैत १८ मा काठमाडौँमा भएको दुर्घटनाले भने सगरमाथा आरोही एडमण्ड हिलारीको श्रीमती लुज हिलारी तथा छोरी बेलिन्डा हिलारी सहित ५ जनाको मृत्यु भयो । यसपछि मंसिर ४ , २०३८ मा विराटनगरमा भएको दुर्घटनामा १० जनाको मृत्यु भयो भने मंसिर ३, २०५५ मा भएको नाम्चेमा भएको दुर्घटनामा पाइलटको मृत्यु भएको थियो । यसरी नेपालको सबै पिलाटस पोर्टर विमान दुर्घटनाका साथ सकिए ।

यसरी नेपालमा पिलाटस पोर्टर “यती“ भित्रिएको ५० वर्ष पछि २०६७ असारमा अर्को यती (यती एयरलाइन्स)ले नेपालमा दुई वटा पिलाटस पोर्टर भित्राएको थियो । “यती“ केवल धौलागिरि आरोहणको लागी मात्र होइन अन्य हिउँले भरिएका क्षेत्रका लागी पनि धेरै नै उपयोगी सिद्ध भयो । पी–६ विमान अलास्का, क्यानाडा, न्यूजिलैण्ड लगायतका देशमा अत्यधिक उपयोग भयो ।

धम्पुस पासमा दुर्घटनाग्रस्त “यती“को अवशेष पनि करिब ३५ वर्ष पछि स्विट्जरल्याण्ड लगिएको थियो । अहिले सो विमान त्यहाँको संग्रहालयमा सजाएर राखिएको छ । विमानको अगाडी यतीको प्रतिमूर्ति बनाइएको छ ।

प्रतिक्रिया