बुधबार, वैशाख ५, २०८१

पोषणका बारेमा लेख्ने उत्प्रेरणा

डा . अरुणा उप्रेती २०७९ माघ २१ गते ८:५४

अहिले बजारले हाम्रो स्वास्थ्य र पोषणमाथि कब्जा जमाएको छ । हाम्रो परम्परागत ज्ञान अहिले ओझेल परेको छ । त्यसबारे प्रायः कमै चर्चा हुन्छ ।

हाम्रा पुर्खाहरुले ‘विज्ञान’ नबुझ्दै के खाए स्वस्थ भइन्छ भन्ने जानिसकेका थिए । खानालाई उसिनेर, भुटेर, बफाएर, टुसा उमारेर खाँदा के–के फाइदा हुन्छन्, गेडागुडीमा टुसा उमारेपछि त्यसको पौष्टिकता झन् बढ्छ भन्ने जानेका थिए । खाजामा रेसादार पदार्थ भयो भने कब्जियत हुँदैन भन्ने कुराको ज्ञान थियो । अहिले पोषण विज्ञानले त्यही कुरा ठिक हो भनेर ठप्पा लगाएको मात्रै हो । 

‘घ्यु स्वास्थ्यका लागि ठिक छैन’ भन्ने कुरा केही वर्षअघि चर्चामा थियो । अहिले घ्युले स्वास्थ्यमा राम्रो असर पुर्याउँछ भनेर उनै वैज्ञानिक भन्दै छन् ।

देशका विभिन्न भागमा जाँदा स्वास्थ्यकर भोजन हुँदाहुँदै पनि बालबालिका, शिशु, गर्भवती आदि कुपोषित भएको देखेरै मैले आफूले थाहा पाएको सजिलो जानकारी जनसमक्ष पुर्याएको हुँ । कतिपयले मेरो लेख पढेर आफ्नो भोजनको बानी बदलेको थाहा पाएर पोषणका बारेमा लेख्न झन् प्रेरणा मिल्यो । अनि, विभिन्न ठाउँमा जाँदा कुन जिल्लामा के उम्रिँदो रहेछ? त्यहाँका मानिसले कसरी खाँदा रहेछन् भन्ने चासो पनि जाग्न थाल्यो । त्यही चासो पछि लेखको विषय बन्न थाल्यो। कामको सिलसिलामा विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा पुग्दा देखेँ, स्वास्थ्यकर्मीको भूमिका गर्भवतीलाई आइरन चक्की दिने र बालबालिकालाई भिटामिन ए दिने काममै सीमित हुँदो रहेछ ।

ती स्वास्थ्यकर्मीलाई तालिम दिँदा पनि भोजनसम्बन्धी व्यावहारिक ज्ञान, स्थानीय खाना र त्यसमा रहेका पोषक तत्त्वका बारेमा जानकारी दिइँदैन । हामी विद्यार्थी छँदा पनि खासै पोषणसम्बन्धी ज्ञान दिइएन । काम गर्दै जाँदा व्यावहारिक ज्ञान नहुँदा समस्या परेको अनुभव छ। त्यसैले पनि पोषणका बारेमा आफूलाई थाहा भएका जानकारी दिन थालेको हुँ ।

स्वास्थ्य मन्त्रालयको पोषणसम्बन्धी कतिपय नीतिले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पु¥याएको देखेपछि मैले सरकारलाई ’यो नीति ठिक भएन’ भनेर घचघच्याएँ पनि । बालबालिकालाई घरेलु खानेकुरा खुवाएर स्वस्थ गराउनुको सट्टा औषधी दिएर कुपोषण ठिक पार्ने प्रवृत्तिविरुद्ध खबरदारी पनि गरेँ । 

बाल स्वास्थ्य सुधार गर्नु राज्यको प्रमुख दायित्व हो । राष्ट्रिय–अन्तर्राष्ट्रिय सङ्घसंस्थाले केही मद्दत मात्र गर्न सक्छन् । अहिले नेपालमा बजारमा बेचिने बट्टाका खानेकुराले बालबालिकाको कुपोषण हटाउन सक्ने दाबी गरिन्छ । तर पोषणविद् र जनस्वास्थ्य विज्ञ भन्छन्, ‘यसरी प्याकेटका बजारु खानेकुरालाई राज्य स्तरबाट प्रश्रय दिनुको अर्थ हो, हामीले आफ्नो परम्परागत ज्ञान बिर्सनु, बजारको फन्दामा परेर महँगो, कम पौष्टिक वा पत्रु खाना किन्ने गर्नु ।’

एक छलफलमा विदेशी विज्ञले भने, ‘हामी चाउचाउमा सूक्ष्म पोषक तत्त्व मिसाएर बजारमा ल्याएर समुदायमा कुपोषण कम गर्नेबारे विचार गर्दै छौँ ।’ मैले भनेँ, ‘यो कुरासँग असहमत छु । कुनै पनि पत्रु खानामा भिटामिन हालेर त्यसलाई कसरी पौष्टिक बनाउन सकिन्छ ?’ केही दिनपछि ती विज्ञले भने ‘हामीले चाउचाउमा भिटामिन हालेर बनाउने विचार स्थगित ग¥यौँ ।’

केही व्यक्तिले ‘अन्डा र लिटो खुवाएर बालबालिकालाई कुपोषणबाट मुक्त गराउन सकिन्छ’ भन्ने राम्रो विचार पनि दिन्छन् । ‘तर ६ महिनाका बच्चालाई दिनको एउटा अन्डा पनि दिनु हुँदैन । बच्चालाई पचाउन गाह्रो पर्छ ।’ आफ्नो भनाइ पुष्टि गर्न वरिष्ठ बाल रोग विशेषज्ञ डा रमेशकान्त अधिकारीलाई इमेल लेखेँ र उनले प्रतिउत्तर पठाए, ‘६ महिनाको बच्चालाई धेरै सानो टुक्रा अन्डा दिन सकिन्छ । बिस्तारै मात्रा बढाउँदै लैजान सकिन्छ ।’ बाल पोषणमा डा अधिकारीको गहन ज्ञान छ । उनले बाल स्वास्थ्य र भोजन किताबमा कसरी घरेलु खानाले बालबालिकालाई स्वस्थ गराउन सकिन्छ, लेखेका छन् । बाल स्वास्थ्य ठिक पार्न उनीहरूलाई मसाज गर्ने, प्रेमपूर्वक खुवाउने, खेलाउने, कुरा गर्ने आदिले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् भनेका छन् ।

विभिन्न ठाउँमा भ्रमण गर्दा महँगा पत्रु खानाले गर्दा बालबालिका अति कुपोषित भएर दुई महिना अस्पतालमा बस्नुपरेको र त्यसपछि मात्र आमालाई “प्याकेटमा राखेका पत्रु खाना दिन नहुने होस खुलेका घटनाले“ पनि मलाई बारम्बार पोषणका बारेमा लेख्न घचघच्याइरहन्छ ।

प्रतिक्रिया