शुक्रबार, चैत ३०, २०८०

रानाथारू समुदायको होली

नेपालखोज २०७९ माघ २४ गते ७:४१

काठमाण्डौं ।अन्य समुदायको भन्दा पृथक तरिकाले मनाउने रानाथारू समुदायको होली माघ पूर्णिमादेखि सुरु भएको छ । यो समुदायमा माघ महिनाको पूर्णिमाको दिन होलीको प्रतीक पुतला स्थापना गरी होलीको सुरुआत गरिन्छ । यस दिन दाजुभाइहरू गुइँठा, काठदाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन् ।

गाउँको चौकीदारले घरघरबाट ल्याएको पूजा सामग्रीसहित यसरी होली राख्ने परमपरागत चलनलाई रानाथारू भाषामा ‘होरी धरन’ भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको जानकारहरू बताउँछन् । यसरी होलीको प्रतीक स्थापना गर्ने काम गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने, गीत गाउँदै नाच्ने प्रचलन रहिआएको छ ।

रानाथारूहरूमा होलीको प्रतीक स्थापना गरेको दिनदेखि एक महिना अर्थात् फागुन महिनाको पूर्णिमाको दिनसम्म खेलिने होलीलाई जिउँदो होली भनिन्छ । प्रायः दैनिकजसो बेलुकीको खाना खाइसकेपछि गाउँको कुनै एक घरमा जम्मा भई सबै दाजुभाइ, दिदीबहिनीहरू मिलेर अबेर रातसम्म जिउँदो होली खेल्ने चलन रहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धनबहादुर रानाले बताए । ‘माघ पूर्णिमादेखि हरेक दिन बेलुकी खाना खाएर होली खेल्छाैँ, यसलाई जिउँदो होली भनिन्छ”, रानाले भने, “फागुन महिनाको पूर्णिमापछिको आठ दिन मृत होली खेलिन्छ ।’

उनले होली राना समुदायको महान् पर्व भएको बताए । रानाथारू समुदायमा दुई चरणमा होली पर्व मनाइने गरिन्छ । पहिलो चरणअन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ भने त्यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन छ । फागु पूर्णिमापछि रानाथारू समुदायमा बल्ल रौनक छाउँछ । गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन् । होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का साहेव राना बताउँछन । हिजोदेखि हामीले होली खेल्न सुरु गरिसकेर फागुन पूर्णिमासम्म एक महिना हरेक राति होली हुन्छ”, उनले भने, ‘फाुगन पूर्णिमापछि दिनमा परम्परागत पहिरनमा होली खेल्छौँ त्यसलाई मृत होली भनिन्छ ।’

रानाथारू समुदायका जानकारहरूका अनुसार हिरण्यकश्यपुले विष्णु भगवान्का भक्त आफ्नो छोरा प्रह्लादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासँग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए । प्रह्लादले पनि आफ्नो बुबाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर राख भइन् भने प्रह्लादलाई अग्निले केही गर्न सकेन । त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होली पर्व रानाहरूले मनाउँछन् । होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन रहेको छ ।

परम्परागतरूपमा मनाइँदै आएको होली एक महिना आठ दिनसम्म खेलिने भए पनि पछिल्लो समय यो समय छोटिँदै गएको वसन्ती रानाले बताए । ‘पहिलाको जस्तो रौनक अहिले हुँदैन बिस्तारै कम हुँदै गएको छ’, उनले भने, ‘युवाहरू कोही पढाइमा, कोही रोजगारीमा लागेका छन् होली जान्ने कम छन् ।’ उनले फागुन पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत होली मनाउने बताए ।

होली दहन गरेको ठाउँमा चामल चढाएर सु–स्वास्थ्य र लामो आयुका लागि आशीर्वाद माग्ने चलन रहेको राना बताउँछन् । महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन छ । पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया