आइतबार, वैशाख १६, २०८१

‘लेखनको रुचीलाई व्यस्तताले छेक्दैन्’

नेपालखोज २०७९ माघ २८ गते ९:१४

खगराज बराल, २०२७ साल हसारमा पिता शोभाकर बराल र माता लीलावती उपाध्यायको कोखबाट पोखरामा जन्मेका हुन् । उनको न्वारनको नाम षडानन्द, सानामा बोलाउने नाम कान्छो, स्कुल सुरुभएपछि खडानन्द बराल, कक्षा ४ मा पुग्दा खबराज बराल, कक्षा ९ मा पुगेपछि खगराज बराल, प्रवीणता प्रमाणपत्र तहमा पुगेर साहित्य अध्ययन गर्न थालेपछि गीत, मुक्तक लेख्दै जाँदा श्रमिक बराल नामबाट लेख्न थालेका हुन् । बरालका आमा सामान्य साक्षर, कृषिमा लागेको सामान्य गृहणी थिए भने बाबा शिक्षक । सरकारी सेवामा आबद्ध बराल गीतसँगै अन्य साहित्य लेखनमा प्रखर मानिन्छन् । उनै लेखकसँग नेपालखोज सहकर्मी सुभद्रा ढकालले गर्नुभएको कुराकानीको सम्पादित अंश :


बाल्यावस्थालाई कसरी सम्झनुहुन्छ ?
स्मरण भएसम्म शिशु कक्षामा पढेपछि कक्षा २ मा भर्ना, बुबा नै स्कुलको प्रधानाध्यापक र दाजु पनि एक कक्षा अगाडि पढेकाले बुबा र दाजुको हात समाएर सँगसँगै स्कुल जाने, शिशु कक्षामा पढ्दा स्कुलमा अफिसबाट सुपरभाइजर आएकाले बुबाले पढेर बस्न भन्नुभएको थियो । दाजुसँग भएको ठूलो वर्णमालाको किताब ल्याएर पढ्न खोज्दा, बेतोडले दौँडिदा चौरमा लडेर दाँहिने हात भाँचियो । आठ दस दिन मालिस गर्ने, हड्चुढ लगाउने, अनदीको चाम्रे र पुवा बनाएर खाने, फुकफाक गर्दा पनि निको नभएपछि पोखराको बगरमा मिम अस्पतालमा गएर प्लास्टर गराएको याद छ । ढिला भएका भए हात काट्ने अवस्था पनि आउने रहेछ । त्यस्तै, ‘मसँग कुकुर छ कस्लाई टोक्ला ?’ खेल खेल्दा घुम्दा एकजना माथिल्ला कक्षाका साथीको खुट्टा अल्झिएर लड्दा हात मर्किएको । ८–१५ वर्षसम्मः निम्नमाध्यमिक र माध्यमिक तहको शिक्षा शुक्रराज माध्यमिक विद्यालयमा अध्ययन गरेको । विद्यालय जाने, विद्यालयको अतिरिक्त व्रिmयाकलापमा भाग लिने, भाइहरूलाई हुर्काउने जस्ता काम गरेको जस्ता क्रियाकलाप अहिलेपनि झलझली आउँछ ।


साहित्यिक यात्राको सुरुवात कसरी भयो ?
वि.सं. २०४३ सालमा प्रवीणता प्रमाण पत्र तह अध्ययनका व्रmममा भूमि शेरचनका कविता, लक्ष्मीप्रसाद देवकोटा, हरिभक्त कटुवालका कविता अध्ययन गर्दा र लैनसिंह बाङ्देल, लीलबहादुर क्षेत्रीका उपन्यास, गुरूप्रसाद मैनालीका कथा र विश्वेश्वरप्रसाद कोइरालाका कथा र उपन्यास अध्ययन गर्दै जाँदा साहित्यतिर प्रेरित भएको हुँ । मैले थुप्रै कविता र ‘अजकल्टो जिन्दगी’ नामको उपन्यास पनि लेखेको थिएँ । समयको अन्तरालमा लेखिएका कविता र उपन्यास हराएछन् । त्यही समयमा मैले आफ्नो साहित्य लेखनमा नाम श्रमिक बराल राखेको थिएँ । साहित्यमा गहिरो रुचि राख्ने म बाटामा हिँड्दा देखेका घटनालाई शब्दमा टिप्छु् र पछि फुर्सदमा गीत, कविता, आख्यान वा लेखको रूप दिन्छु । गीत लेखनलाई खासै समय नछुट्याएको छैन । मलाई मनमा प्रभाव पारेको कुरालाई गीतको विषयवस्तु बनाउँछु ।

गीत लेखन पूर्व श्रमिक बरालको नामले मुक्तक लेख्थेँ। मूलतः गीत लेखनमा लागिपर्थे । कहिलेकाहीँ कविता पनि लेखेको थिएँ । प्रारम्भमा लुम्बिनी दैनिकमा मेरा थुप्र्रै कविता प्रकाशित छन् । लघुकथा पनि मेरो लेखनको महत्वपूर्ण क्षेत्र थियोे । गद्धार, टिकाराम, ह्याङ्गओभर, कोमलकोटी, दर्शनढुङ्गा, कुमार र गणेश, निम्नतम योग्यता, मांसहारी, उपहार जस्ता लघुकथाहरु जनमत, लुम्बिनी, आदर्श समाज, वेदना, परिकल्पना, साहित्य प्रभा जस्ता पत्रिकामा प्रकाशित भएका थिए । मैले लामा कथा निकै कम लेखेका छु । रङ्गेबदिनी कथा अक्षर साहित्यिक पत्रिकामा प्रकाशित थियो भने अतृप्त कथा मातृभूमिमा प्रकाशित थियो । मैले समीक्षा क्षेत्रमा पनि हात हालेको पनि थिएँ । श्रमिक बरालको नामबाट ‘मेची प्रभातः एक झलक’ नामको समालोचना मेची प्रपातमा प्रकाशित छ । ‘रजस्थलको १२ औं अङ्कलाई फर्केर हेर्दा’, ‘कपिल लामिछानेको कथा बोर्डिङको सान’, ‘नाटकः एक सन्दर्भः एक दृष्टि’, ‘प्रजातन्त्र र शान्ति विषयक सामुदायिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिताः एक समीक्षा’ जस्ता शीर्षकमा कलम चलाएको पनि थिएँ र यी समीक्षा प्रकाशित पनि छन् । मेरा झण्डै आधा दर्जन पुस्तकको समीक्षा प्रकाशित छन् ।

श्रमिक बरालका नामबाट ‘म त सधैं एक्लै परेँ’ (२०६२) गीत सङ्ग्रह, ‘अविरल गङ्गा’ (२०६७) गीत सङ्ग्रह, ‘मौन आकाश’ (२०७१) गीत सङ्ग्रह र ‘श्रमिक बरालका गीतहरू’ (२०७३) गीत सङ्ग्रह, ‘सानीको बर्थ डे’ (२०७५) बाल कथा सङ्ग्रह, ‘आँगनीको पूmल’ (२०७६) बाल गीत सङ्ग्रह, श्रमिक बरालका फुटकर रचना, (२०७८) कविता, कथा र लघुकथा सङ्ग्रह र खगराज बरालका नामबाट ‘सिकाउने शैली’ (२०७५), ‘सिकाइ र सहयोग’ (२०७६),‘स्यानी उपन्यास’ (२०७७), र ‘मालामा नउनिएका पूmलहरू’ (२०७८) प्रकाशित हुनुका साथै लुम्बिनी, सम्वाद, सङ्घर्ष, आदर्श समाज, रजस्थल, वेदना, यथार्थ कुरा, नवकविता, सम्मोहन, त्रिवेणी, जमर्को, जनमत, बगर, परिकल्पना, नवप्रज्ञापन, अक्षर, मधुपर्क, गरिमा लगायतका विभिन्न पत्रपत्रिकामा गीत, कथा, कविता, लघुकथा, समालोचना, निबन्ध, लेख रचना प्रकाशित छन् । उज्यालो अनलाइन डट कममा पनि श्रमिकका गीतहरू प्रकाशित छन् । विभिन्न संस्थाका लागि जिङ्गल पनि लेखेको छु । नेपाल सरकार, पाठ्यव्रmम विकास केन्द्रबाट प्रकाशित कक्षा ३ को मेरो नेपाली विषयमा असल विचार नामको बाल कविता श्रमिक बरालको नामबाट समाबेश छ । कक्षा सात र आठ कक्षाको कक्षागत गीत मैले श्रमिक बरालको नामबाट संयोजन गरीे कार्यदलले तयार गरेको थियो । कक्षा पाँचको नयाँ कक्षागत गीत पनि श्रमिक बरालको नामबाट नै सिर्जना गरेको छु ।

म् साहित्यमा श्रमिक बराल र अन्य लेखनमा खगराज बराल नाममा निरन्तर लेखिरहेको छु । मेरा शिक्षासँग सम्बन्धित छ ओटा पुस्तक प्रकाशित छन् । शिक्षा सम्बन्धी एक पुस्तक सम्पादनसमेत गरेको छु । मेरा शिक्षा व्यवस्थापन र प्रशासनसम्बन्धी सयभन्दा बढी लेख प्रकाशित छन् । खगराज बरालका नाममा मैले शिक्षा विकासका नवीन आयामहरू (२०६७), केही शैक्षिक मुद्दाहरू (२०६८), शैक्षिक विमर्श वर्तमान अवस्था र सुधारका लागि मार्गचित्र (२०६९), शैक्षिक विचरण (२०७०), केही शैक्षिक प्रबन्ध (२०७१) र शैक्षिक दृष्टार्थ (२०७३), शिक्षा र सिकाइः प्रसङ्ग विदेशको सन्दर्भ नेपालको (२०७४), सिकाउने शैली (२०७५), शिक्षाः दर्शन, नीति र व्यवहार (२०७५), सिकाइ र सहयोग (२०७६), दर्शन, शिक्षा र आचरण (२०७८) र विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन (२०७९) जस्ता पुस्तक लेखेको छु । मैले सम्पादन गरेका पुस्तकमा शैक्षिक व्यवस्थापनका बहुआयामिक चिन्तन (२०६६) र लीलावती स्मृति ग्रन्थ (२०७५) हुन् ।

वि.सं. २०४४ मा मुक्ति मासिकको माघ–फागुन संयुक्त अङ्कमा प्रकाशित ‘नेपालमा जनसङ्ख्या वृद्धि’ निबन्ध नै मेरो पहिलो प्रकाशित कृति हो । त्यस समय मैले त्यो निबन्ध श्रमिक बरालको नामबाट लेखेको थिइन । मैले वि.सं. २०४९ मा त्रिवेणी पत्रिकाको सम्पादन गरेर सम्पादकको रूपमा आपूmलाई उभ्याएका थिएँ । यही त्रिवेणी पत्रिकामा मुक्तक तथा नाटकसम्बन्धी सैद्धान्तिक लेख र समीक्षा गरेर आपूmलाई लेखकका रूपमा प्रस्तुत गरेको थिएँ । कहीँ श्रमिक बराल, कहीँ खगराज बराल र कहीँ एस बरालका रूपमा लेख्न थालेको थिएँ । वि.सं. २०५३ मा हिमालय टाइम्समा ‘नेपाली गीतमा प्रयुक्त लोक शब्द एवं प्रकृति चित्रण’ लेखबाट राष्ट्रिय पत्रिकामा लेख लेख्न सुरु गरेको थिएँ । वि.सं. २०५४ मा लम्बिनी दैनिकमा प्रकाशित ‘ह्याङओभर’ श्रमिक बरालको नामको मेरो पहिलो प्रकाशित लघुकथा हो । मैले २० भन्दा बढी लघुकथा लेखेका छु । मेरो श्रमिक बरालका नामबाट वि.सं. २०६२ सालमा प्रकाशित ‘म त सधैँ एक्ले परेँ’ गीत सङ्ग्रह पुस्तकका रूपमा प्रकाशित पहिलो कृति हो ।

मैले सुरुमा जति गीत लेखे ती गीत गाइएन । वि.सं. २०५७ सालमा रेडियो नेपालको स्थापना दिवसमा आयोजित आधुनिक गीत सम्मेलनमा भाग लिन आएका म र गायक कर्ण नेपालीले उक्त सम्मेलनमा भाग लिन सकेनौँ । उनै नेपालीको स्वरमा आएको समस्याका कारण उक्त गीत प्रतियोगिताबाट बाहिरियो । यो गीतको सङ्गीत भोला राईले गरेका थिए । नेपालीको वि.सं. २०६० मा असामयिक निधन भएका कारण गीतलाई सङ्गीत गर्ने काम रोकियो । बाला अधिकारीले सङ्गीत भरेको ‘म त सधैं एक्लै परेँ’ गीत रेकर्ड हुन सकेन । वि.सं. २०६८ सालमा बिजु बज्रबाट सङ्गीतबद्ध गरिएको र दुर्गाकाजी शाक्यबाट स्वर दिइएको ‘आफ्नो मान्छे चिन्नै छाड्यौं भेट हुँदा तर्सियौं, नौ दिनमा नौलो भयौं बीसै दिनमा बिर्सियौं’ गीत नै मेरो रेकडिङ भएको पहिलो गीत हो ।

त्यसपछि किरण प्रधान, प्रदीप बमजन, राजु विश्वकर्मा, कुलप्रसाद खनाल, वसन्त सापकोटा, आशिष अविरल, राजनराज बराल, दिपक शर्मा, आवाज शर्मा, श्रीकृष्णबम मल्लबाट सङगीत भई किरण प्रधान, रीता के.सीं, मिलन नेवार, प्रदीप बमजन, मीना सिंह, इन्दिरा जोशी, स्वरूपराज आचार्य, प्रवीण भेड्वाल, मेलिना राई, समीक्षा अधिकारी, धुव्र विश्को, श्रीकृष्णबम मल्ल, लक्ष्मी मल्ल जस्ता गायकबाट स्वर भरिएको छ ।

अहिलेसम्म कतिवटा कृति प्रकाशन गर्नुभयो ?
(क) शिक्षा व्यवस्थापनमा खगराज बरालका नामबाट
१. ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन’ (२०७९), भुँडीपुराण प्रकाशन, काठमाडौं ।
२. ‘दर्शन, शिक्षा र आचरण’ (२०७८), भुँडीपुराण प्रकाशन, काठमाडौं ।
३. ‘शिक्षाको दर्शन, नीति र व्यवहार’ (२०७५), सोपान मासिक, डिल्लीबजार, काठमाडौं ।
४. ‘शिक्षा र सिकाइ ः सन्दर्भ विदेशको प्रसङ्ग नेपालको’ (२०७४), सोपान मासिक, डिल्लीबजार, काठमाडौं ।
५. ‘शैक्षिक दृष्टार्थ’ (२०७३), समी सम प्रकाशन, अनामनगर, काठमाडौं ।
६ ‘केही शैक्षिक प्रबन्ध’ (२०७१), समी सम प्रकाशन, अनामनगर, काठमाडौं ।
७. ‘शैक्षिक विचरण’ (२०७०), समी सम प्रकाशन, अनामनगर, काठमाडौं ।
८. ‘शैक्षिक विमर्श वर्तमान अवस्था र सुधारका लागि मार्गचित्र’ (२०६९), सोपान मासिक, डिल्लीबजार, काठमाडौं
९. ‘केही शैक्षिक मुद्दाहरू’ (२०६८), सोपान मासिक, डिल्लीबजार, काठमाडौं ।
१०. ‘शिक्षा विकासका नवीन आयामहरू’ (२०६७), सोपान मासिक, डिल्लीबजार, काठमाडौं ।


(ख) साहित्य क्षेत्रमा श्रमिक बरालका नामबाट
१ ‘श्रमिक बरालका फुटकर रचना’, २०७८, भुँडीपुराण प्रकाशन, काठमाडौं ।
२. ‘आँगनीको पूmल’ २०७६, बाल गीत, साङ्ग्रिला बुक्स प्रा.लि., काठमाडौं ।
३. ‘सानीको बर्थ डे’ २०७५, बाल कथा सङ्ग्रह, भुँडीपुराण प्रकाशन, काठमाडौं ।
४. ‘श्रमिक बरालका गीतहरू’ २०७३, गीत सङ्ग्रह, साझा प्रकाशन, ललितपुर ।
५. ‘मौन आकाश’ २०७१, गीत सङ्ग्रह, ऐरावती प्रकाशन, काठमाडौं ।
६. ‘अविरल गङ्गा’ २०६७, गीत सङ्ग्रह, भुँडीपुराण प्रकाशन, काठमाडौं ।
७. ‘म त सधैं एक्लै परेँ’ २०६२, गीत सङ्ग्रह, अन्जन बराल, कास्की ।


(ग) साहित्य क्षेत्रमा खगराज बरालका नामबाट
१. ‘मालामा नउनिएका पूmलहरू’ (२०७८), शिखा बुक्स प्रा.लि., काठमाडौं ।
२. ‘स्यानी’ २०७७, उपन्यास, साङ्ग्रिला बुक्स प्रा.लि., काठमाडौं ।
३. ‘सिकाइ र सहयोग’ (२०७६), साङ्ग्रिला बुक्स प्रा.लि., काठमाडौं ।
४. ‘सिकाउने शैली’ (२०७५), साङ्ग्रिला बुक्स प्रा.लि., काठमाडौं ।

(घ) खगराज बरालबाट सम्पादित पुस्तक
१. ‘लीलावती स्मृति ग्रन्थ’ (२०७५), सम्पादन, लीलावती स्मृति ग्रन्थ प्रकाशन समिति, पोखरा, कास्की ।
२. ‘शैक्षिक व्यवस्थापनका बहुआयामिक चिन्तन’ (२०६६), सम्पादन, सोपान मासिक, डिल्लीबजार, काठमाडौ

तपाइँको नजरमा खगराज बराल को हो ?
सामान्य नेपाली नागरिक, अलि भन्नु पर्दा शिक्षामा चासो राख्ने शिक्षा, प्रशासक तथा व्यवस्थापन, आफ्ना क्षमताले भ्याएसम्म असल गरुँ भन्ने मनसाय भएको व्यक्ति, रुचिका कारण साहित्य तथा लेखनमा पनि संलग्न व्यक्ति हुँ ।

सरकारी सेवामा प्रवेश कहिलेदेखि गर्नुभयो र अहिले केमा संलग्न हुनहुन्छ ?
मैले वि.सं. २०४८ माघदेखि विद्यालय तहको शिक्षक भएर सेवा प्रवेश गरेको हुँ । निजामती सेवामा वि.सं. २०५१ भदौदेखि २०७८ असारसम्म संलग्न रहेँ । विद्यालय निरीक्षकदेखि शिक्षा सचिवसम्म शिक्षा क्षेत्रमा काम गरेँ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जस्तामा सचिवका रूपमा काम गरेँ ।

क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत र पोखरामा क्षेत्रीय प्रशासकका रूपमा काम गरेँ । राष्टिय सूचना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उपराष्ट्रपतिको कार्यालयमा सचिवको रूपमा काम गरेँ । विशेष गरी कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रमा सचिवका रूपमा काम गरेँ । अहिले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा वि.सं. २०७८ सालदेखि प्रज्ञा प्रतिष्ठान सेवा आयोगको अध्यक्षका रूपमा काम गरिरहेको छु ।

अहिले इन्टरनेटको प्रभावले किताब पढ्नेको संख्यामा कमी आएको हो ?
अहिले पुस्तामा पुस्तक पठन संस्कृति निकै कम देखिन्छ । पढ्न त इ–पुस्तक पनि पढेका होलान् तर लामा लामा लेख र ठूला ठूला पुस्तक भने पढेको पाइँदैन । विद्यालय तथा विश्वविद्यालयका पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकबाहेक पुस्तक पढेको पाइँदैन । यसको मुख्य कारण मोबाइल तथा इन्टरनेटको प्रभाव हो । पुस्तक प्रदर्शनीमा पनि खासै पुस्तकको बिक्री भएको पाइँदैन । पुस्तक पढ्ने संस्कारमा आएको लोपले ज्ञानको क्षेत्र साँघुरिएको छ । छोटो संक्षिप्त पठनले ज्ञान पनि छोटो र संक्षिप्त हुने गर्छ । इन्टरनेटको प्रयोगका साथै पुस्तक पढ्ने बानी पनि बसालिरहनुपर्छ ।

अहिलेको साहित्यिक बजारलाई कसरी नियाल्नुभएको छ ?
पुस्तक पढ्ने प्रवृत्तिमा कमी आएकाले अहिलेको साहित्यिक बजार पनि त्यति उत्साहजनक छैन । साहित्य लेखन त भएको छ तर लेखिएका साहित्य पनि क्षणिक र मनोरञ्जन किसिमका देखिएका छन् । ज्ञान बाँड्नेभन्दा मनोरञ्जन दिने किसिमका छन् । पुस्तक पढेपछि के ज्ञान प्राप्त भयो भनी विचार गर्दा हात लाग्यो शून्य जस्ता पुस्तक साहित्यिक बजारमा आउँदा पुस्तक पठन संस्कृति पनि घटेको हुन सक्छ ।

सरकारी जागिर र साहित्यिक लेखनलाई कसरी व्यवस्थापन गरिरहनुएको छ ?
यो विषय त रुचिको कुरा हो । रुचि भएमा समय व्यवस्थापनका लागि कठिन भने हुँदैन । एकदिन र एक रात सबैका लागि चौबिस घण्टा नै हो । यसको व्यवस्थापन गर्ने कुरा हो । जहाँसम्म मेरो कुरा छ, म कार्यालयको समयलाई कुनै हानी नहुने गरी साहित्यिक लेखन गर्छु । कार्यालय जाँदा, फर्किदा, बाटामा हिँड्दा, बिहानी हिँडाइमा रहँदा पनि केही न केही विषयका बारेमा चिन्तन गर्छु । मनमा लागेका विषयलाई टिपोट गर्छु । फुर्सदको समयमा त्यसको प्रारम्भिक लेखन गर्छु । मेरो सरुवा कहिलेकाहीँ अलि फुर्सदिलो कार्यालयमा भएका कारण पनि मलाई लेखनका लागि अनुकूल वातावरण भए जस्तो लाग्छ ।

जीवनका केही महत्वपूर्ण अनुभव बताइदिनुस न ।
मेरो जीवन कहिले विद्यार्थी भएर अध्ययनमा नै बित्यो, कहिले सरकारी जागिरमा बित्यो । अनुभव पनि कि त विद्यार्थी कालको कि त जागिरे कालको हुँदोरहेछ । व्यक्तिगत जीवनमा आमा गुमाउँदाको नरमाइलो अनुभव, जागिरे जीवनमा अधिकृतबाट सिधैँ सहसचिव पदमा खुला प्रतियोगितामा सफल हुँदाको सुखद अनुभव, नेपाल सरकारको सचिव पदमा पदोन्नतिको सुखद अनुभव, अनावश्यक रूपमा छिटोछिटो भएको सरुवाको दुखद अनुभव छन् । अझ भन्नुपर्दा २९ वर्ष पहिले सरकारी नोकरीमा प्रवेश गर्दा जे र जुन राजनीतिक अस्तव्यस्तता थियो, वर्तमान समयमा पनि त्यही अस्तव्यस्तता देख्दा निकै दुःख लाग्छ । जीवनको लामो समय व्यतित गरिसक्यौँ तर देशले विकास, समृद्धि, सुशासन र प्रगतिको फड्को मार्न सकेन । राष्ट्रसेवकलाई लाग्ने महत्वपूर्ण तर नमिठो अनुभव नै यहि हुने रहेछ ।

भर्खरै साहित्यमा उदाउनका लागेका भाइबहिनीलाई के सुझाव दिन चाहनुहुन्छ ?
साहित्य रहरको विषय मात्र होइन, यो अन्तरआत्मादेखि नै आउनु पर्ने विषय हो । अन्तरआत्मादेखि नै साहित्य लेखनमा उत्प्रेरण आएन भने जबरजस्ती लेखनले न लेखकलाई फाइदा हुन्छ, न त पाठकको मन नै तान्न सक्छ । विषयतः साहित्य लेखन आफूलाई भन्दा अरूका लागि लेखिने विषय भएकाले लेखनप्रति संवेदनशील र इमानदार हुनै पर्छ । छिट्टै प्रसिद्ध हुने लालसा नराखी निरन्तर साधना गर्न सकेमा लेखनमा निखरता आउँछ र पाठकको मन जित्न सकिन्छ । लेख्नुभन्दा पहिला पढ्नुपर्छ, पढ्ने समयमा पढिएन भने पछि पछुतो हुन्छ । नेपाली साहित्य, विश्व साहित्य लगायत हाम्रा सनातन हिन्दु दर्शनका पुस्तकहरू पनि विद्यार्थी कालमा नै पढ्न सकेमा लेखनका लागि निकै खुराक प्राप्त हुन्छ ।

प्रतिक्रिया