सोमबार, असार ९, २०८२

प्राविधिक शिक्षा आजको आवश्यकता : प्रमुख सचेतक लेखक

नेपालखोज २०७९ माघ २८ गते २१:३७

काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आजको आवश्यकता प्राविधिक शिक्षा भएको बताए । आज महेन्द्रनगरमा बैजनाथ माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले सामुदायिक विद्यालयमा प्राविधिक धारका विषय पठनपाठनमा जोड दिनुपर्ने बताए ।

‘पढाइपछि जीविकोपार्जन हुने शिक्षा आजको आवश्यकता हो’, उनले भने, ‘पढाई अनुसारको रोजगारी पाउने र आफ्नो र परिवारको आर्थिक उन्नति हुने खालको प्राविधिक शिक्षामा जोड दिनु आवश्यक छ ।’ उनले सामुदायिक विद्यालयमा पढाइको गुणस्तर सुधार गर्नुपर्ने बताए ।

‘सामुदायिक विद्यालयको गुणस्तर बढाउन जरुरी छ त्यसका लागि शिक्षक विद्यार्थीको नियमित अन्तक्रिया हुनुपर्छ ।’ नेता लेखकले भने, ‘राजनीतिमा लागेका शिक्षकलाई मेरो अनुरोध छ विद्यालय समयमा शिक्षा बाहेकका अन्य कुरा नगरौँ ।’ उनले निर्वाचनको समयमा आफ्नो मताधिकार प्रयोग गरे पनि विद्यालयमा राजनीति गर्न नहुने बताए । बैजनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले आफू विद्यालयको गुणस्तर सुधारमा प्रतिबद्ध रहेको बताउ ।

‘सामुदायिक विद्यालयमा न्यून आयस्तर भएका जनताका छोराछोरी बढी हुन्छन् त्यसकारण उनीहरूको उज्ज्वल भविष्यका लागि शिक्षकले कुनै कसर बाँकी नराख्नु अनुरोध गर्छु’, उनले भने, ‘विद्यालयले न्यून शुल्कमा प्राविधिकधारका कक्षा सञ्चालन गर्ने छ ।’ बैजनाथ माध्यमिक विद्यालयमा प्राविधिकधारतर्फ कृषि, कृषिबाली विज्ञान, इञ्जिनीयरिङका कक्षा सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया