आइतबार, जेठ ६, २०८१

माओवादी जनयुद्धको उद्गम

जयप्रकाश आनन्द २०७९ फागुन १ गते २१:४१

प्रज्वल शम्सेर प्रधान सेनापति थिए । प्रधानमन्त्री कार्यालयको मिटिङ हल, जहाँ प्रायः प्रधानमन्त्रीले प्रतिनिधि मण्डलहरूबाट ज्ञापन पत्र आदि बुझ्ने काम गर्दथे, त्यस दिन मन्त्रीको रूपमा हामी केही बोलाईएका थियौँ ।

सेनापतिको ब्रिफिङ थियो । धेरै कुराहरू भनियो, बताइयो । क, ख, ग र घ गरी माओवादी प्रभाव विस्तारको चार क्षेत्रवारे विवरण दिइदैथ्यो । चार जिल्लाको ‘क’ क्षेत्रमा सिमीत पारिएको माओवादीको विस्तार दुई बर्ष पुरा नहुदैँ पच्चीस जिल्लामा भैसकेको रोचक विवरण सेनाको तर्फबाट सचित्र बताईएको थियो । ‘आतंककारी’ सम्बोधन गरिएर यी सब भनिइदै गर्दा प्रधानमन्त्री गिरिजा बाबुको मौनता थियो ।

मैले सेनापतिलाई सोधेको थिए, तपाईले भनेको ‘आतंक’ को यत्रो तीब्र विस्तारको अन्तरनिहित प्रेरक तत्व के होला त ? मलाई लाग्यो, सेनापति त यसको जवाफ दिन पूर्व विचारित र तम्तयारै थिए । हत्केलाका औँलाहरूको रेखाको गिन्ती गर्दै उनले भने सुशासन नहुनु, भ्रष्टाचार, राजनीतिक अस्थिरता आदि त हो नि, यसका कारण ! त्यहाँ सेनापतिसंगको प्रतिसंवाद ठिक थिएन । मैले प्रम गिरिजा बाबु तिर लक्ष्य गरी कुरा राखे । ०४८ देखि ०५१ सम्म त यि माओवादीहरू संसद मै थिए । ०५२ को फागुन १ देखि यिनीहरू जनयुद्धको थालिनी नै गरे । के संसदीय कालको पहिलो तीन बर्षको शासनबाट सिर्जित अव्यवस्था नै माओवादी जनयुद्धको प्रेरक तत्व रहेको निष्कर्षमा हामी पुग्न सक्छौ र ?

म प्रश्नको घेरामा परिसकेकाले भन्नै पर्यो । मध्य पश्चिमांचलका चार जिल्लामा केन्द्रीत माओवादीको दुई बर्ष नबित्दै पच्चीस जिल्लामा बिस्तारको कारण केही सामाजिक र अर्थ राजनीतिका मुद्दाहरू हुन् । जस्ले बृहद संख्याका मानिसलाई हतियार उठाउन हौँस्याएको छ । यसको पनि खोजी गर्ने हो कि ? मिटिंङ सकियो । कारणको खोजी र त्यसको निदान त्यो बैठकको उद्देश्य थिएन, ब्रिफिंङ बैठक थियो त्यो ।

केही दिन पछि म सञ्चारमन्त्रीबाट अन्तै पुर्याइए । यो कथा कुनै दिन भनुँला । तर आजलाई यति भन्नु ठिकै होला कि सेनालाई म मन परेको थिईन । सुचना तथा सञ्चारमन्त्रीको रूपमा केन्द्रीय सुरक्षा समितिमा म पदेन झैं आमन्त्रित रहन्थे । त्यहाँ मेरो भुमिका मन परेको थिएन । गोविन्दराज जोशीका कुराहरू पनि तिनीहरूलाई मन परेको देखिन्न्थ्यो ।

म सञ्चार मन्त्री नरहेपछि सुरक्षासंग सम्बन्धित बैठकहरूबाट मेरो किनारा भैसकेको थियो । तर, माओवादी जनयुद्ध भनौं वा जे भनौं, यसमा व्यापक जन सहभागिताको उत्प्रेरक तत्व गम्भीर र विचारणीय रहेकोले यसको खोजि हुनु पर्नेमा म प्रतिवद्ध नै थिए । राज्यले विचारशील भएर यसको खोजि गर्नुपर्ने मेरो मत थियो । आज पनि मेरो मान्यता रहेको छ, चन्द्र शम्सेरले इस्तिहार जारी गरेर विश्वयुद्ध ताका नेपाली युवाहरूलाई अनिवार्य रूपमा बेलायती सेनामा भर्ना हुन लगाएको जस्तो उर्दी यसको अन्तर्निहित कारण होईन । यो रोजगारीको सवाल वा अराजकता मच्चाउने तत्कालिन युवाहरूको चाहना मात्र थिएन । पहिलो संविधान सभाको कक्ष भित्र देखिएको वैचारिक, सामुदायिक, जातीय, क्षेत्रीय, भाषिक, पहिचानको आकांक्षा आदिको सशक्त उपस्थिति यसको अकाट्य उदाहरण थियो । तर, दुर्भाग्य भनौं, माओवादी र मधेसीले समेत यसलाई प्राण वायु दिन सकेन ।

मलाई लाग्दछ, जनयुद्ध पश्चात यसका परिणामहरूलाई संस्थागत गराउन न सकेकोले नै आजको दिनसम्म आइपुग्दा यत्रो ठूलो अभियान अतितको अपराधिक ब्याख्यामा रूपान्तरित हुन गयो ।

आज माओवादी जनयुद्ध युरोपियनहरूको इसायीकरणको वाहक, राजाको षडयन्त्र, बौद्धिकताविहीन कर्म, फगत हिंसात्मक उद्यम, लुटपाटको प्रवृति, नेपालको लागि भारतको भूराजनीतिक षड्यन्त्रको बल र तत्कालिन अक्षम शासन व्यवस्थाको परिणाम र केही चतुरहरूको धूर्तकर्म आदि जे भनिएपनि यो पूर्ण सत्य भने होईन । यी सब त स्वयं माओवादीले नै त्यस जनयुद्धको स्वामित्व परित्याग गरेपछिको स्वतः उत्पन्न हुने प्रतिकृयाहरू हुन् । माओवादी पार्टी ‘राज्यको रूपान्तरण खोज्नेहरूको पार्टी’ न रहेर सत्ता लम्पटहरूको पार्टी हुन गएको आजको यस अवस्था यसो हुनु वा देखिनु स्वभाविक नै हो ।

जे होस्, यति ठूलो अभ्यास एवं परिणामको यति छिटो स्वस्खलनको अर्को उदाहरण बिरलै भेटिएला । तर, दुर्भाग्य नै हो यो कि यसको मूल्यांकनसम्म गर्न कोही माओवादी आज बाँकी रहेनन् ।

प्रतिक्रिया