संकटमा रक्त चन्दन

काठमाडाैं । सुपर डुपर हिट दक्षिण भारतिय चलचित्र पुस्पा हामी मध्ये धेरैले हेरेका छौं । यो चलचित्र दक्षिण भारतमा हुने रक्तचन्दनको अवैध व्यापारमा आधारित थियो । आज हामी यहि रक्तचन्दनको कथा बताउँदै छौं ।
अहिले भारत- नेपाल- चिन बिच हुने रक्तचन्दनको अवैध व्यापार मौलाएको छ । अन्तर्राष्ट्रिय संगठन ट्राफिक तथा डब्ल्यूडब्ल्यूएफ-भारतद्वारा जारी गरिएको नयाँ तथ्यपत्र “रेड स्यान्डर्स: फ्याक्टसिट अफ इन्डियाज रेड स्यान्डर्स इन अवैध वन्यजन्तु व्यापार” ले यसलाई पुष्टि गरेको छ ।
तथ्याङ्कअनुसार सन् २०१६ देखि २०२० सम्म १९ हजार ४९ टनभन्दा बढी रक्तचन्दन तस्करी भएको थियो । सीआईटीईएस ट्रेड डाटाबेसले भारतबाट निकासी हुने रक्तचन्दन जफत वा नमूना लिने २८ वटा घटना रेकर्ड गरेको छ। फेब्रुअरी , २०२३ मा जारी गरिएको यो नयाँ तथ्यपत्रले चीन यसको सबैभन्दा ठूलो आयातकर्ता भएको देखाउँछ । अवैध रूपमा निर्यात हुने रक्तचन्दन मध्ये करिब ५३ दशमलव ५ प्रतिशत चीन पठाइन्छ र त्यसको एउटा प्रमुख मार्ग नेपाल हो । उल्लेखनीय कुरा के छ भने चीनमा भारतीय रेड स्यान्डरको ठूलो माग छ । यसबाहेक करिब २५ प्रतिशत रक्तचन्दन हङकङ , १७ दशमलव ८ प्रतिशत सिंगापुर तथा साढे ३ प्रतिशत अवैध रूपमा अमेरिका पठाइएको थियो ।
रिपोर्ट अनुसार रेड स्यान्डर्स भारतमा सबैभन्दा संकटमा परेको बनस्पति मध्ये एक हो, जुन अवैध ब्यापारका कारण ठूलो दबाबमा छ । भारतको आन्ध्र प्रदेश वन विभागका अनुसार राज्यको चित्तूर, कुड्डापाह, नेल्लोर र कुर्नूल जिल्लाहरूमा ठूलो मात्रामा अवैध कटनी र तस्करी रिपोर्ट गरिएको छ । लाल चन्दन वा रेड स्यान्डर्स जसलाई नेपालमा रक्त चन्दन भनिन्छ एउटा दुर्लभ प्रजातिको बनस्पति हो । यसको वैज्ञानिक नाम टेरोकार्पस सैंटालिनस हो । यो रुख भारतको पूर्वी घाटको जंगलमा विशेषगरी आन्ध्र प्रदेशमा पाइन्छ । मुख्यतया यो आन्ध्र प्रदेश चित्तूर, कुड्डापाह, नेल्लोर, कुर्नूलका चार जिल्लाहरूमा फैलिएको शेषाचलम पहाडहरूमा उपलब्ध हुन्छ । यद्यपि केरला, महाराष्ट्र, गुजरात, कर्नाटक, तेलंगाना, तमिलनाडु, ओडिशा र पश्चिम बंगालमा पनि यसको खेती गरिन्छ ।
यसको काठमा विशेष गरी रातो रगत जस्तै आभा हुन्छ । यही कारणले गर्दा यसलाई रक्तचन्दन पनि भनिन्छ । सामान्यतया यो रूख सुख्खा क्षेत्रमा पाइन्छ । यो रुख सेतो र रातो चन्दन गरि दुई प्रजातिको हुन्छ । हिन्दु मान्यता अनुसार यसलाई अति पवित्र मानिन्छ । पूजामा यसको चन्दन प्रयोग गरिन्छ । जहाँ सेतो चन्दनमा सुगन्ध हुन्छ, त्यसको विपरित रक्तचन्दनमा सुगन्ध हुँदैन तर यो निकै फाइदाजनक हुन्छ । यही कारणले गर्दा यसको प्रयोग औषधिसँगै सौन्दर्य प्रसाधनमा पनि हुन्छ । यसबाट महँगो फर्निचर तथा सजावटी वस्तुहरू तयार गरिन्छ । यसलाई प्राकृतिक रंग तथा रक्सी बनाउन पनि प्रयोग गरिन्छ ।
यो प्रजातिको रूख खडेरी प्रतिरोधी हुनुका साथै यसको काठ आगोमा छिटो जल्दैन । यी रूखहरू १० देखि १५ मिटर अग्ला हुन्छन् , तर तिनको घनत्व धेरै उच्च हुन्छ । यही कारण यसको काठ पानीमा डुब्छ । यति मात्र होइन, यो रूख वा काठ स्ट्रन्टियम, क्याडमियम, जिंक र तामा जस्ता भारी र दुर्लभ तत्वहरू जम्मा गर्ने क्षमताका लागि पनि परिचित छ । यद्यपि यो एकदमै ढिलो हुर्कने रूख हो जसलाई पूर्ण रूपमा परिपक्व हुन २५ देखि ४० वर्ष लाग्छ ।
इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (IUCN) का अनुसार यो प्रजातिको रुख अहिले लोप हुने संघारमा छ । यस्तो अवस्थामा यसलाई बचाउने प्रयास पनि भइरहेको छ । फ्याक्टशीटका अनुसार जसरी अवैध रूपमा काठको दोहन भइरहेको छ त्यो यो प्रजातिका लागि खतरा हो । यससँगै कृषि, चरन, जंगलमा आगलागीले पनि यसको अस्तित्वमा संकट सृजना गरिरहेको छ।
प्रतिक्रिया