सोमबार, असार ९, २०८२

गोंगबु घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा ५ सदस्यीय समिति

नेपालखोज २०७९ फागुन ४ गते १३:३३

काठमाडौं । यातायात व्यवसायी र मजदुरले सोमबार गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे अध्ययन तथा जाँचबुझगर्न एक समिति गठन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र धेरै क्षति भयो भन्ने विषयमा छानबिन गर्न बुधबार यो समिति बनाइएको हो ।

समिति सदस्यमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक ९डीएसपी० खुमलाल भुसाल सदस्य छन् ।

ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको प्रदर्शनले उग्र रुप लिँदा प्रहरी वृत्त, बालाजुका दुई गाडीमा तोडफोड र आगजनी भएको थियो ।

यातायात मजदुरहरुले उक्त दिन ट्राफिक जरिवानाको विरोधमा विभिन्न १० बुँदे माग राख्दै सडकमा बस तर्स्याएर आन्दोलन गरेका थिए । सो क्रममा प्रहरीको २ वटा गाडीमा आगजनी, नयाँ बसपार्क क्षेत्रमा संचालित ल्होत्से मलमा रहेको दुई मोवाइल पसलमा तोडफोड तथा लुटपाट समेत भएको थियो ।

प्रहरीका गाडीमा आगो लगाउने घटनामा संलग्न र मोवाइल लुटपाटमा संलग्नताको आशंकामा एक महिलासहित १५ जनालाई पक्रा गरिसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया