राष्ट्रिय हितलाई तल पार्न खोजियो : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई तल पार्न खोजिएको टिप्पणी गरेका छन् ।
एमालेले आजदेखि सङ्गठन सुदृढीकरण तथा विस्तार गर्नका लागि सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको पार्टी मुख्यालयबाट भर्चुअलरूपमा उद्घाटन गर्दै उनले स्वतन्त्र नेपाल आफैँ उभिन खोज्दा नदिने र मनोवल गिराउन खोजिएको तर्क गरे ।
देशभक्त शक्तिलाई समाप्त पार्न र परिवर्तनकारी शक्तिलाई पराजित गर्न खोजिएको भन्दै उनले अब राष्ट्रिय राजनीति नयाँ उचाइमा जाने समेत बताए। उनले न्यायको पक्षमा चल्न खोज्ने शक्तिलाई कमजोर बनाउन खोजिएको धारणा राखे ।
एमाले अध्यक्ष ओलीले आंशिक हिसाबले नेपालको स्वाधिनतालाई दबाउने र खण्डित गर्ने प्रयास गरिएको उनको भनाइ थियो । उनले सत्ताका लागि घुँडा टेक्ने र देशका लागि योगदान दिन तयार रहने शक्तिबीच लडाइँ भइरहेको धारणा राखे ।
सत्ता नै सबथोक हो भनेर लाग्ने शक्तिले मुलुकको भौगोलिक अखण्डतामा मिचे पनि केही नबोल्ने गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले नेपाललाई अतिक्रमित बनाउन खोजिएको समेत बताए ।

प्रतिक्रिया