हलेसीमा दर्शनार्थीको घुँइचो

काठमाण्डौं । आज महाशिवरात्रि । पूर्वको त्रिधार्मिक स्थल हलेसी मन्दिरमा गएरातिदेखि साधुसन्त र दर्शनार्थीको घुइँचो लागेको छ । मन्दिर दर्शनको लागि सहज व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताउँछन् ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

प्रतिक्रिया